महिला आरक्षण कि संरक्षण
‘आरक्षण' र ‘संरक्षण' विकासशील देशहरूमा राजनीति र विकासमा सबैभन्दा बढी प्रयोग हुने शब्द हो । ‘आरक्षण' ले योग्यता र दक्षताको उपहास गराउँछ भने ‘संरक्षण' ले कमजोर र पिछडिएकालाई दक्षता वृद्धि गर्न सहयोग पुर्याई प्रतिस्पर्धामा सामेल हुन प्रोत्साहन गर्छ ।
आरक्षणले समाजका कमजोर दलित र उपेक्षित तथा पीडितका लागि शिक्षा, स्वास्थ्य, सार्वजनिक प्रशासनमा केही प्रतिशत सिट प्रतिस्पर्धाबाट छुट्ट्याएर राखिएको हुन्छ । यसमा योग्यता, दक्षता र सक्षमता हेरिँदैन, खाली जाति, वर्ग, सम्प्रदाय र क्षेत्रीयता हेरिएको हुन्छ ।
अर्कोतर्फ संरक्षणले कमजोर वर्ग र पक्षमा भएको कमीकमजोरी सच्चाई प्रतिस्पर्धामा सामेल हुन प्रोत्साहन गरिन्छ । आरक्षणले कमजोर, परामुखापेक्षी बनाउँछ । संरक्षणले गतिशील र ऊर्जाशील बनाउँछ ।
उदाहरणको लागि एमबीबीएसको प्रवेश परीक्षामा सामेल भएकामध्ये आरक्षित केही प्रतिशत सिटमा ५० प्रतिशत नम्बर पाएकाले पढ्न पाउँछन् भने ९० प्रतिशत नम्बर प्राप्त गर्ने आरक्षणभित्र नपरेका विद्यार्थीले पढ्न पाउँदैनन् ।
अर्कोतर्फ संरक्षणमा आरक्षणमा परेका जाति, वर्ग र क्षेत्रलाई शिक्षाको उचित मौका उपलब्ध गराएर पढाइको स्तर माथि उठाएर ९० प्रतिशत प्राप्त गर्न सक्ने बनाएर समान अवसर उपलब्ध गराइन्छ ।
बूढानीलकण्ठ स्कुललाई ‘सरक्षण' को नमुना मान्न सकिन्छ, जहाँ ७५ जिल्लाको पिछडिएका दलित, जनजाति र अन्य पीडित समुदायका सम्बन्धित जिल्लामा पढेका होनहार विद्यार्थीको छनोट गरी उच्च शिक्षा पढ्नको लागि योग्य बनाइन्छ ।
तीजको गीत सुन्ने क्रममा राम अधिकारीले ५ अगस्त २०११ मा युट्युबमा अपलोड गर्नुभएकोमा ‘मैले पनि पाल्न सक्छु मेरो आफ्नो पोई... ? ' भन्ने गीत सुनेपछि महिला सशक्तीकरणको नमुना गीत जस्तो लाग्यो ।
लोग्नेले स्वास्नी पाल्ने परम्परागत सोचाइमा परिवर्तन गरी लोग्ने-स्वास्नी दुवै एकअर्काका परिपूरक हुन् भन्ने सन्देश दिएको छ । यो गीतले विवाहका क्रममा केटा हेरेर केटीको बाबुले घरमा गएर केटीको आमालाई यत्तिको केटाले छोरी पाल्न सक्छ भन्ने लागेर छोरी दिएँ भन्ने सोचाइमा परिवर्तन आएको छ ।
छोरीका बाबुआमालाई छोरी कस्तो घरमा पर्ने हो, छोरीले दुःख पाउँछे कि भन्ने चिन्ताले सताइरहन्थ्यो । अलि हुनेखाने र सम्पन्नले छोरीलाई आश्वासन दिँदै कर्मघर नभए जन्मघर छँदै छ । भैँसीलाई सिङको भारी हुँदैन भनेर सम्झाउने चलन पनि थियो । त्यो बेला बाबुआमाले विवाह सम्बन्धमा गरेको निर्णय धेरैजसो सही नै ठहरिन्थ्यो र पारिवारिक सम्बन्ध अक्सर सहजता र घनिष्टता थपिन जान्थ्यो भन्ने रहेको छ ।
ईश्वरले मानिसलाई मुख मात्र होइन, हात पनि दिएका छन् । धेरैजसो खाली ‘मुख' को मात्र चिन्तामा जिन्दगी बिताइरहेका हुन्छन् । ‘मुख' भर्नको लागि जायज-नाजायज काममा लिप्त भइरहेका हुन्छन् । जबकि कर्म गर्नको लागि दिएको हात (काम) को सही उपयोग गरिरहेका हुँदैनन् । नेपाली वर्णमालाको पहिलो अक्षर (क) कमाउ असल काम गरेर र दोस्रो अक्षर (ख) खाउ रहेको छ ।
सबै मानिसले काम गरेपछि खान पाइहालिन्छ । त्यसैले महिला-पुरुष सबैले आफ्ना कर्म गरेपछि कसैले पनि कसैलाई पाल्नुपर्दैन । त्यसैले महिलाले गरेको कामबाटै उनी पालिएकी हुन्छिन् । गृहिणी वा घरबाहिर आयआर्जन गर्ने काममा सक्रिय रहेका हुन्, घरपरिवार भनेकै महिलाले सञ्चालन गर्ने हो ।
पुरुष त उनको सहयोगी मात्र हो । २४ घन्टाको दिनमा १६ घन्टाभन्दा बढी खटेर घरपरिवार चलाउने पत्नीलाई के काम गरेको छ भन्नु उनको कामको उचित मूल्यांकन गर्न नसक्नु हो । आफूले काम गर्न नसकेको कुण्ठा व्यक्त गरिएको मात्र हो ।
समय र परिस्थितिमा आएको परिवर्तनले छोराछोरीलाई शिक्षामा समान अवसर प्रदान भएको परिवारमा छोरीहरूमा देखा परेको दृढता, लगनशीलता र आत्मविश्वासले ‘पाल्ने' कुरा असान्दर्भिक हुन गएको छ । योग्यता, दक्षता र आत्मविश्वास भएपछि आर्थिक रूपले सबल हुनासाथ एकअर्काको मुख ताक्नुनपर्ने भएकाले परिवारमा पतिपत्नीको बराबर हैसियत स्थापित भएको छ । परिवारमा सबै काम पतिपत्नीले मिलेर गर्ने वातावरण र परिस्थिति सिर्जना भएको छ ।
समाज र समय परिवर्तनशील छ । आज लाखौँ नेपाली रोजगारको लागि परिवार छोडेर विदेश गएका छन् । ती विदेश गएका पुरुषका पत्नीहरूले अनेक दुःखकष्ट र व्यवधान सहेर पुरुषले गर्ने कामसमेत गरेर घरपरिवार धानेर बसिरहेका छन् । सहरी क्षेत्रमा घरबाहिर काम गर्ने महिला र ग्रामीण भेगमा पत्नी विदेश गएका महिलाले घर र बाहिरको दोहोरो दायित्व निर्वाह गरिरहेका छन् ।
केही समयअघि सेतो पाटी अनलाइनमा पत्नी सघाउने पतिको नाममा सविता विश्वकर्माले व्यस्त दैनिकीमा फुर्सदको समय घरायसी काममा सघाउने पति दुनियाँकै सुन्दर, असल, ज्ञानी, सम्पन्नशाली हुन यस्ता उत्कृष्ट पतिहरूलाई नमन गरेर लेख लेख्नुभएको थियो । सो लेख मर्मस्पर्शी, यथार्थवादी र लैंगिक समानताबारे उहाँको अनुभव रहेको छ ।
हामी अधिकांश नेपालीको ठूलो कमजोरी भनेको असल, राम्रो कामको तारिफ र प्रशंसा गर्न नसक्ने र खराब कामको विरोध गर्न नसक्नु रहेको छ । कसैले सयवटा काममा ९९ असल र एक खराब काम गर्यो भने असल जाति बिर्सिएर त्यही खराब कामको मात्र चर्चा र खोइरो खन्ने काम मात्र गर्दछौँ । अब विदेशमा काम गर्न गएका पतिका केही पत्नीले गल्ती गरे भने सम्पूर्ण महिलालाई त्यस्तै आँखाले हेर्ने, केहीका पतिले खराब काम गरे सम्पूर्ण पुरुषहरूलाई त्यस्तै आँखाले हेरेर सामान्यीकरण गर्ने जुन प्रचलन छ ।
परिवारको लागि महिलाको योगदान अमूल्य छ । आमाको काख र अरूको लाख भनेको त्योबेला मानिसको जिन्दगीको मूल्य लाख हुन्थ्यो । अहिलो बढेर सायद १० लाख पुगेको छ क्यारे । अरूले लाख रुपैयाँ दिएर गर्न नसकेको शान्ति र आत्मसन्तुष्टि आमाको काखमा मिल्थ्यो । त्यस्तै बाउ मरे आधा टुहुरो आमा मरे पूरै टुहुरो मानिन्थ्यो । आज लाखौँ नेपाली आमाको काख छोडेर विदेशमा स्थायी बसोवास गरेका छन् । भौतिक सुविधाले खुसी देखिन्छन् तर भित्री आत्मादेखि सुखी हुन सकिरहेका छैनन् होला ।
एकल महिला जसको पतिको मृत्यु भइसकेको छ, पतिले अर्को पत्नी ल्याएर छोडेका र जसको पति विदेशमा काम गर्न गएका छन्, तिनले लालनपालन र हुर्काएका सन्तान बढी मेहनती, अनुशासित र जीवनमा धेरै प्रगति गरेको देखिन्छ । आफैँले प्रत्यक्ष देखेका नजिकका केही परिवारमा जेठी पत्नीपट्टिका छोराछोरीले धेरै प्रगति गरेको र बुढेसकालमा बाबुलाई र कान्छीआमापट्टिका छोराछोरीको पनि हेरचाह गरेका छन् स्तनधारी प्राणीमा बालबच्चाको हेरचाहको जिम्मेवारी नारी पक्षले नै बहन गरेकाले यो प्रकृति र सृष्टिको नियमै रहेको छ ।
हुन त केही पुरुषवादीको सोचाइमा पोथी बासेको पशु ढोल गँवार र नारी सब ताड्न के अधिकारी, महिलाको घाँटीमा किलकिले (रुद्रघन्टी ) हुँदैन । त्यसैले केही कुरा रहँदैन र गोप्यता कायम गर्न सक्दैनन् भन्ने धारणा पनि छ । अर्कोतर्फ, जुन घरमा नारीको सम्मान र पुजा हुन्छ, देवताको बास त्यही घरमा हुन्छ भनेर पनि भनिएको छ ।
महिला, दलित, जनजाति र पिछडिएका क्षेत्रकालाई आरक्षणको पछि लागेर देशलाई बीसौँ वर्ष अहिलेकै अन्योल, अनिश्चितता र परावलम्बीको अवस्थामा राख्ने कि कमजोरलाई संरक्षण गरेर समृद्धितर्फ जाने भन्ने चुनौती मुलुकसामु देखा परेको छ ।
समाज वा घरको काम केही नगर्ने १०-५ कार्यालयमा काम गरेर वेलका जुवा तास र जाँडले मातेर आउने पति भएको घर र बिहान-बेलुका घरको काम सघाउने, मितव्ययी र समयमै घरमा आउने पति भएको घरमा दाँजेर हेर्ने हो भने कुन घरमा शान्ति र कसका परिवार हाँसीखुसी रहेको छ, प्रस्टै देखिन्छ ।
नेपालका केही भागमा अझै पनि छोरीलाई दाइजो र ज्वाइँलाई तिलक दिने प्रथा कायमै छ । छोरी जन्मिएपछि नै छोरीको विवाहको लागि खर्चको जोहो गर्ने चलन रहेको छ । विस्तारै सञ्चार क्षेत्रमा रेडियो, मोबाइल, पत्रपत्रिकाले गर्दा जनतामा जुन जागरण आएको छ, त्यसले छोरीलाई शिक्षा दिनुपर्छ भन्ने धारणा प्रबल हुँदै गएको छ ।
अर्काको घरमा जानेलाई किन पढाउनुपर्याे भन्ने मानसिकतामा आफ्नो छोरी अरूको घरको बुहारी भएजस्तै अरूको घरका छोरी आफ्नो बुहारी हुन् भन्ने वास्तविकता महसुस भएको छ । बुहारी पढेको खोज्नेले छोरी पढाउनैपर्ने बाध्यता देखा परेको छ । विवाहमा लाखौँ खर्च गर्नुभन्दा पढाइमा हजारौँ खर्च गरेर छोरीको भविष्य उज्ज्वल बनाउन सकिने धेरैले महसुस गर्न थालेका छन् ।
अहिलो देशमा देखापरेको बेथिति र अन्योल ठीक ठाउँमा ल्याउन मात्र दुई कुरा गरे पुग्छ । (क) कानुनको शासन (ख) जवाफदेहिताको किटान । आज सबैजना सिंगापुर, मलेसिया, दक्षिण कोरिया र विहारका नेताहरूको खुब तारिफ गर्छन् ।
नेता भनेको त्यस्तो हुनुपर्छ । देश र प्रान्तको कायापलट गर्न उनीहरूले के गरे त ? उनीहरू आरक्षण क्षेत्रीयता समावेशीता र संघीयताको पछि नलागी सबैलाई समान अवसर प्रदान गर्दै कानुनको शासन प्रधानमन्त्रीदेखि आम नागरिक कानुनको दृष्टिमा बराबर र उत्तरदायित्वको किटान अर्थात् जवाफदेहीता आफूले गरेको असल खराब दुवै कामको लागि जिम्मेवारी किटान । नेपालमा अहिले यी दुई कुरा मात्र गर्न सकेमा ६ महिनामै नेपाल समृद्धिको बाटोतर्फ लाग्न सक्छ ।
महिला, दलित, जनजाति र पिछडिएका क्षेत्रकालाई आरक्षणको पछि लागेर देशलाई बीसौँ वर्ष अहिलेकै अन्योल, अनिश्चितता र परावलम्बीको अवस्थामा राख्ने कि कमजोरलाई संरक्षण (सबैलाई समान अवसर) गरेर समृद्धितर्फ जाने भन्ने चुनौती मुलुकसामु देखा परेको छ । आँखाले देख्छ, बोल्न सक्दैन, मुखले बोल्न सक्छ, देख्न सक्दैन भनेजस्तै धान कुटेर मात्र चामल बनाउन सकिन्छ, भुस जति कुटे पनि चामल बनाउन सकिँदैन । अहिले भुस कुटेर समय बिताउनुभन्दा आरक्षण, संघीयता स्थानीय निकायलाई स्थानीय तहमा परिवर्तन गर्ने र पूरा हुन नसकिने आश्वासनमा अल्मलिने सम्बन्धित सबैले गहिरिएर विचार गर्ने अपेक्षा राखिएको छ ।
-तिवारी पूर्व सचिव हुन् ।