पूर्वपश्चिम राजमार्ग दिनभर अवरुद्ध
चन्द्रपुरः पूर्वपश्चिम राजमार्गअन्र्तगत रौतहटको चन्द्रनिगाहपुर बागमती सडकखण्डको पौराई जंगलमा ठूलो बाढी आउँदा सोमबार दिनभर सडक अवरुद्ध भएको छ । बाढीका कारण सडक बन्द हुँदा सयौं सवारी साधनमा यात्रा गरिरहेका हजारौं यात्रु अलपत्र परेका छन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा सिराह हिँडेका माओवादी केन्द्रका सयौं कार्यकर्ता पनि चन्द्रनिगाहपुरमा दिनभर रोकिएपछि साँझ जिल्ला फर्किएका छन् ।
सिराह जाँदै गरेका ऊर्जाराज्यमन्त्री सत्यनारायण भगत, संसदहरू प्रभु साह, सुरेन्द्र जयसवाल तथा बारा र पर्साका सांसद तथा एक हजारभन्दा बढी माओवादी केन्द्रका कार्यकर्ता चन्द्रनिगाहपुरमा बिहानैदेखि रोकिएका थिए ।
राजमार्गको दुईवटा लच्कामा बिहान चारबजेदेखि ठूलो बाढी आएको थियो । बाढी आएको लच्कामा यात्रुवाहक बस चलाउँदा काठमाडांैबाट धरान जाँदै गरेको ना ५ ख ७५२ नम्बरको बस अड्किएको थियो । अड्किएको बसका ४० जना यात्रुलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
यात्रुको उद्धार गरी बाढीमा फसेको बसलाई निकालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
बिहान करिब एक घन्टा उक्त बस यात्रुसहित बाढीको पानीमा आधा डुबेको थियो । सडक बन्द भएर सवारी साधन नचल्दा सयौं यात्रु पैदल हिँडेर आवतजावत गरेका थिए ।
रौतहट, बारा र पर्साबाट करिब दुई सय सवारी साधनमा माओवादी केन्द्रका नेता कार्यकर्ता सिराहा जाँदै थिए । पश्चिमतर्फबाट पूर्व हिँडेका चन्द्रनिगाहपुरमा र पूर्वबाट काठमाडौलगायत पश्चिमतर्फ हिँडेका एक हजारभन्दा बढी सवारी साधन बागमती बजारमा रोकिएका छन् ।
दुवै लच्काको बीचमा रहेका दुई सयभन्दा बढी सवारी साधनका यात्रु जंलगमा बिहानैदेखि अलपत्र अवस्थामा छन । राजमार्गमा पानी नघटेसम्म सवारी साधन आवतजावत गर्न नमिल्ने जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।
बागमती सिँचाइ आयोजनाले केही महिनाअघि नहर सफा गर्दा राजमार्गको पानीको निकास बन्द भएकाले लच्कामा पानी जमेको स्थानीयले बताए । राजमार्ग बन्द हुँदा चन्द्रपुर नपा ७, ८ र ९ का बासिन्दा सदरमुकाम गौर जानबाट रोकिएका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले सडक डिभिजन कार्यालयलाई सडक सुचारु गर्ने उपाय खोज्न निर्देशन दिएको बताएका छन् ।