दम्पत्ती हत्यारालाई सर्वश्वसहित जन्मकैद
राजविराजः सप्तरी जिल्ला अदालतले हनुमाननगरको चर्चित बेगवानी दम्पत्ती हत्याकाण्डका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
हरीपुर ७ भण्टाबारीका २६ वर्षीय कैजुम मियाँलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र चोरी डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद सजायको फैसला गरेको स्रस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सुनसरी जिल्लाको श्रीपुर ८ का ४० वर्षीय हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद, सुनसरीको हरीपुर ७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर ३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११÷११ वर्ष कैद फैसला भएको छ ।
सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट ०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली, दुई थान अनटेस्ट मोटरसाइकल र गरगहनासहित कैजुम र हैदर पक्राउ परेका थिए ।
यस्तैसुनसरी नरसिंह गाविस–९ चिरौनीबाट ०७१ असोज ४ गते कामत र सागीर पक्राउ परेका थिए । कैजुम र हैदर जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले ०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् भने कामत र सागीर ०७१ असोज ६ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
हत्यामा संलग्न सुनसरी हरीपुर ७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ र सप्तरीको भारदहका ३५ वर्षीय बब्लु मण्डल फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवी राखिएको छ।
हत्याराहरुबाट गरगहना किन्ने सुनसरी इनरुवा घर भइ लौकही ६ मा सुनचाँदीको पसल गर्र्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरी आरोपबाट सफाई मिलेपनि उनले किनेको चोरीको दश लाख भन्दा बढीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ ।
सप्तरीको नकटी रायपुर ८ रुपनीबाट ०७१ असार ४ गते गिरफ्तार स्वर्णकार अदालतको आदेशमा ०७१ असार २९ गते नगद १० लाख धरौटी बुझाई पुपक्र्षका लागि रिहा भएका थिए ।
हत्याराले ०७१ जेठ २१ गते राती हनुमाननगर ५ स्थित पसलसँगै रहेको घरमा ५५ वर्षीय प्रेमसुख वेगवानी र निजकी श्रीमती ५२ वर्षीया सरोजदेवी वेगवानीको हत्या गरी लुटपाट गरेका थिए । हत्यापछि उनका छोराले हनुमाननगर छाडेका छन् ।