प्रचण्डलाई 'बेनिफिट अफ डाउट' !
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भारत भ्रमणमा शंकाको सुविधा (बेनिफिट अफ डाउट) दिनुपर्छ । यसका कारण छन् । पहिलो, उनी नेपालका प्रमुख कार्यकारी हुन् । आफ्नो देशको कार्यकारीमाथि जसरी यहाँका बुद्धिजीवीहरूले शंका, उपशंका र लघुशंका गरिरहेछन्, यसो गर्न मिल्दैन । संसारभर कहीं पनि यस्तो गरिँदैन । दोस्रो, प्रचण्ड सरकारले 'हनिमुन पिरियड' पनि पूरा गरेको छैन । दोहोर्याइरहन नपर्ला, सरकारका सुरुका सय दिनलाई प्रजातन्त्रमा प्रतिपक्षले पर्खेर हेर्ने गर्छन् । नयाँ सरकारले नीति कार्यक्रम ल्याएर आफ्नो छवि प्रदर्शन गर्न जहाँसुकै दिइन्छ !
सबैसामु जगजाहेर छ, प्रचण्डको दल संसद्को तेस्रो पार्टी हो । कुल ६ सय एकमध्ये यसका ८० जना मात्र सांसद छन् । यस अर्थमा यो पार्टीको नेतृत्वमा ठूलो पार्टीको सरकार बन्नु भनेको 'कहीं नभएको जात्रा हाँडीगाउँमा' हो । सबैभन्दा ठूलो पार्टीलाई पछाडि लगाएर सरकारको नेतृत्व गर्नु चानचुने खेला पक्कै होइन । यसको लागि ठूलो कसरत भएको छ र प्रचण्डले साँच्चिकै बाजी मारेका हुन् कि भारी बोकेका हुन्, थाहा पाउन धेरै कुर्नुपर्ने देखिँदैन । दोस्रोचोटि प्रधानमन्त्री बन्न उनले किन तीव्र इच्छा राखेका होलान् ?
ओलीसँगको सहवास
यसको जवाफ सरल, सीधा र स्पष्ट छ । आधार पनि जगजाहेरै छ र त्यो हो- केपी ओलीसँगको एक वर्षको उनको घनीभूत सहवास ! (ओली प्रधानमन्त्री हुनुअघि र प्रधानमन्त्री भएपछिको समयकाल) त्यतिबेला प्रचण्डले ओलीसँग सालनाल जोडिएकै समय व्यतित गरे । राज्य सञ्चालनका एकएक कुराकानी, विषयवस्तुबारे अन्तरंग भएर निर्णय गरे, जसलाई प्रचण्डले राम्रोसँग पढे । ओलीले पनि प्रचण्डलाई राम्रोसँग 'मेन्टरिङ' गरे । त्यसपछि मात्र प्रचण्डलाई लाग्यो, ओ हो कार्यकारी भूमिका त यसरी पो निर्वाह गर्नुपर्ने रहेछ ! प्रचण्डलाई लाग्यो, फेरि कार्यकारी भूमिका निर्वाह गर्न पाए यसरी नै सुझबुझका साथ गर्ने थिएँ । त्यसपछि उनी यो भूमिका पाउने अवसरको प्रतीक्षा गर्न थाले ।
प्रचण्डले सिके
ढुंग्रो नलुकाई भन्ने हो भने, यसबीच प्रचण्डले ओलीसँग प्रशस्तै समय व्यतित गरे, त्यति समय त न झलनाथ, न त माधव र वामदेवले नै बिताए । प्रधानमन्त्री ओलीले पनि राज्य सञ्चालनका हरेक कुरा प्रचण्डसँग सेयर गरे । ओलीले जसरी सेयर गरे र प्रचण्डले त्यसरी नै आत्मसात गरे जसरी गाडी चलाउन सिकाउने ड्राइभरले खलासीलाई गर्छ र खलासीले ड्राइभरलाई गर्छ- गेयर, एक्सिलेटर, क्लज, स्टेयरिङ, हाइडिम, साइड लाइट, ब्याक गियर, ह्यान्डब्रेक तान्न, हान्न र थिच्न ।
जसरी यी सबै कुरा सिकेको खलासी गाडी चलाउने मौका पाउनेबित्तिकै त्यो कलाकौशल चातुर्यसाथ प्रयोग गर्छ, त्यसैगरी प्रचण्डमा ऋषिमुनीसँग बसेको शिष्यमा झैं नयाँ कुरा गर्ने इच्छा जागृत भयो । किनभने प्रचण्डलाई ओलीले आफ्नो प्रधानमन्त्रित्वकालमा जटिल र अप्ठेरो अवस्थामा शासनसत्ता सञ्चालनको काउन्सिलिङ, मेन्टरिङ र कोचिङ गरेर दीक्षित जो पारेका थिए । हरेक चुनौतीलाई ओलीले आफ्नो वैकल्पिक सोच दिएर मुकाबिला गरेका थिए । आफ्नो कार्यकालमा सत्ता सञ्चालन गर्न नजानेर हन्डर खाएका प्रचण्डले यी कुरा नजिकबाट हेरेर मात्र बसेनन्, अन्ततः प्रधानमन्त्री नै बने ।
केपी ओलीले यस्तो विषम अवस्थामा देशको बागडोर सम्हालेका थिए कि त्यो अवस्था सम्झँदा अहिले पनि कहाली लागेर आउँछ । भुइँचालोको आहत कायम थियो । मधेस आन्दोलन, भारतीय नाकाबन्दीले गर्दा देशभर पेट्रोलियम, नुन, खाद्यान्न, औषधिको हाहाकार र आवतजावतको समेत समस्या थियो । संकटग्रस्त, जोखिम, भयावह र अस्तव्यस्त अवस्थामा शासनसत्ता आफूमा आउँदा पनि ओली किञ्चित हच्किएनन् । सत्ता सम्हाले । चुनौतीहरूलाई बहादुरीका साथ सामना गरे । प्रचण्ड पनि यो यात्रामा ओलीसँगै रहे । नजिकबाट हेरे । सूक्ष्म अध्ययन गरिरहे ।
त्यसैले भन्नैपर्छ, ओली त्यो शासनको मुख्य एक्टर थिए भने प्रचण्ड सहयात्री । प्रत्यक्षमा प्रचण्ड देखिँदैनथे तर उनी ओलीका प्रत्यक्ष साक्षी थिए । त्यसैले प्रधानमन्त्री बन्ने मौका पाउनेबित्तिकै कत्ति पनि विलम्ब नगरी प्रचण्ड प्रधानमन्त्रीको सिटमा बस्न तत्पर भइहाले ।
हाइवेमा प्रचण्ड
प्रचण्ड सहज अवस्थामा प्रधानमन्त्री बनेका छन् । यहाँनिर के कुरा बिर्सन सकिँदैन भने, ओली अप्ठेरो अवस्थामा शासनको ड्राइभिङ सिटमा थिए । उनले नै अक्करे भीर र अप्ठेरा घुम्तीबाट नेपालरूपी गाडीलाई हाइवेमा ल्याइपुर्याए । हाइवेमा आइपुगेपछि ओलीलाई ड्राइभरको सिटबाट हटाएर प्रचण्ड बसेका छन् । तर यहाँका बुद्धिजीवी र प्रायः सञ्चारमाध्यम यो अवस्थालाई बुझ पचाएर 'प्रचण्डले भारत भ्रमण' गर्दा मुलुकमा ठूलै दुर्घटना निम्त्याउने हुन् कि भनेर आशंका गरिरहेछन् ।
तर अवस्था उनीहरूले भनेजस्तो छैन । गाडी मैदानमा छ । चौडा हाइवे छ । अप्ठेरो भीर र मोड अथवा स्लोप र कजवेमा त ओलीले सुरक्षितसँग गाडी हाँकेकै हुन् । ओलीले यस मामिलामा प्रचण्डलाई यति तालिम गरेका रहेछन् कि अस्तिका दिन जसरी प्रचण्डलाई भारत भ्रमणमा जाँदा आफ्नो सरकारले गरेका सन्धिसम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्न ओली अथ्र्याइरहेका थिए, त्यो सुन्दा र हेर्दा टीभीमा प्रचण्ड कुशल शिष्यले झैं लाभ लिइरहेका देखिइरहेका थिए !
नेपाल-भारत कूटनीतिक आयामबारे ओलीले बोलेर अथ्र्याइरहँदा प्रचण्डको 'बडिल्यांग्वेज' ले म कन्फर्म छु यी कुरामा भनिरहे झैं लागिरह्यो । अझ यो कुरा प्रस्टसँग भन्ने हो भने ओली बोलिरहँदा प्रचण्ड एउटा असल शिष्यले झैं गुरुसँग मलाई थाहा छ गुरु, सम्झिइरहेको छु गुरु भन्ने हावभाव प्रदर्शन गरिरहेको प्रस्टैसँग देखिन्थ्यो ।
बुद्धिजीवीको रोइलो
सञ्चारमाध्यममा प्रेषित भइरहेका टीकाटिप्पणी, बुद्धिजीवी र कूटनीतिक स्वनामधन्यहरूको अर्तीउपदेशरूपी रोइलो सुन्दा, तिनको हाउभाउ देख्दा र सिफारिसका चाङ पढ्दा त्यसबाट केही फरक पर्ने देखिँदैन । त्यसैले प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा रत्तिभर निराश हुनुपर्ने अवस्था छैन ।
अर्को रोचक कुरा के भने, गएको फागुनमा ओलीले भारत भ्रमण गर्दा एकदमै आदर, सत्कार र स्वागत भएको थियो । होटेलमा होइन, राष्ट्रपति भवनमा अतिथि बनाएर राखिएको थियो । ओलीलाई खासमा भन्ने हो भने युद्धरत राज्यको नायकलाई झैं सचेततापूर्वक भारतले व्यवहार गरेको थियो । हुन पनि त्यतिबेला यति धेरै गन्जागोल, अप्ठेरा र असरल्ल अवस्था थियो ।
त्यो स्थितिलाई दुवै पक्ष सम्हाल्न र व्यवस्थित गर्न कटिबद्ध थिए । त्यतिखेर ओलीले पनि कूटनीतिक एटिकेट्सप्रति एकदमै सजग हुनुपरेको थियो । त्यो अवस्थालाई सम्हालेर ओलीले नेपाल-भारत सम्बन्धलाई छोटो अवधिमै सुव्यवस्थित चरणमा ल्याइसकेपछि प्रचण्डको भ्रमण हुन लागेको कुरा बिर्सन सकिँदैन ।
सात महिनापछि
सात महिनापछि अर्को प्रधानमन्त्री नयाँदिल्ली पुग्दा अवस्था धेरै सहज भइसकेको छ । प्रधानमन्त्री प्रचण्डलाई त्यहाँको अवस्था ओलीलाई जस्तो असहज होइन, सहज र सुलभ हुनेछ । प्रचण्डलाई यो सहजता त्यतिबेलाको कठोर झेलाइबाट प्राप्त भएको हो । त्यसैले उतिबेला बाँकटे कुर्ता लगाएर भेटे, संयुक्त विज्ञप्ति आएन जस्ता टीकाटिप्पणी अहिलेको भ्रमणमा हुने छैन ।
किनभने त्यो चरणबाट गुज्रिएको नेपाल-भारत सम्बन्धलाई ओलीले सेफ ल्यान्डिङ गरेका हुन् र त्यही जगमा भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्ली बोलाएका हुन् ! त्यसैले यस्तो बेलामा नेपालमा जुन खबरदारी, आक्रोश, व्यग्रता र आशंका गरिएको छ, त्यसको कुनै अर्थ छैन ।
त्यसैले अब हुने भेटघाट, कार्यक्रम, सम्झौता र विज्ञप्ति आउँछ÷आउँदैन जस्ता कुराको अब खास महत्त्व रहेन । ती सामान्य इन्स्टु«मेन्ट मात्र हुन्, जसलाई भारतले विगतमा अपनाएको थियो । भारतले विगतमा आफ्नो तर्फबाट भएका कमी र असहजतालाई आत्मसात-सहजीकरण गरी समतुल्य बनाउन जुन रणनीति अपनाएर अगाडि बढिरहेछ, त्यो विगतका रणनीतिभित्रका कार्यक्रम हुन् । अहिले भारत विगतका गल्ती सच्याएर सहजतासाथ अगाडि बढ्ने चरणमा रहेको छ ।
भारतलाई के थाहा छ भने प्रचण्डको भ्रमण आठमहिने प्रधानमन्त्रीको भ्रमण हो र उनको भ्रमण नसकिँदै यो सरकारको आयु सात महिनामा झर्छ । आगामी सात महिनापछि नयाँ प्रधानमन्त्री देउवालाई स्वागत गर्ने खाका लिएर भारत बसेको छ ।
जबकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचबर्से कार्यकालको तेस्रो वर्षमा छन् । आधाभन्दा बढी समय मोदीको बाँकी नै छ !
चीनको चर्चा
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वतयारी भइरहेका बेलामा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण नहुने खबर भाइरलजसरी फैलियो । तर यसो हुँदा हामीले के चाल पाएनौं भने हाम्रो विदेश र छिमेक नीति चियापसलको हल्ला र कटुवालले पिटाएको डंकाजस्तो गर्न खोजिएको छ । कूटनीतिमा यस्तो हुँदैन । चीनले प्रचण्डको भारत भ्रमणको दुई दिनअघि प्रस्ट्यायो, राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको छैन ।
प्रचण्डजस्ता जनयुद्धपछि हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएका राजनेतालाई समकक्षी मोदीसँग खुद्रा मसिना, प्राविधिक र सानातिना परियोजनामा दंग नपरी आफैंले विगतमा उठाएका कुरा निस्प्रभावित बनाउन सके भने त्यो नै प्रचण्ड भ्रमणको ठूलो उपलब्धि हुनेछ ।
यो प्रसंग किन पनि सान्दर्भिक छ भने, नेपाल-भारत-चीन त्रिदेशीय सम्बन्ध विस्तार गर्न प्रचण्डले पहलकदमी गरे भने दुवै छिमेकी त्यो डुंगामा सवार हुन तयार छन् । नौका चलाउने कला र कौशलता प्रचण्डले भारत भ्रमणमा देखाउनुपर्छ । अहिले त्यो नौका चलाउने अवसर प्रचण्डलाई प्राप्त छ । यो कुरा किन पनि जरुरी छ भने नेपाललाई भारत वेष्टीबाट मुक्त गर्दै ओलीले चीनलाई राजी गराएर प्रशान्त महासागरसम्म नेपाल पुग्ने पारवहन सन्धि गरेर बाटो खोले ।
चीनको सिगात्से आउँदै गरेको रेललाई केरुङ-रसुवागढी हुँदै काठमाडौं, पोखरा र लुम्बिनी जोड्ने खाका प्रस्तुत गराए । चीनको सिल्क रोडमा नेपाल हुँदै भारत पुग्न लाभकारी छ भन्ने विश्वस्त तुल्याए । यी कर्ममा प्रचण्ड ओलीका साक्षी थिए ।
ओली डक्ट्रिन
'ओली डक्ट्रिन' ले नेपाली कूटनीतिमा एउटा मान्यता स्थापित गरिदिएको छ, पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका सल्लाहकार अश्विन पुडासैनीले भने । साना मुलुकहरूको विदेश नीति सम्बन्धमा सोध-अनुसन्धान गरिरहेका पुडासैनीले जोड दिँदै बताए, अब कुनै पनि सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र आत्मस्वाभिमानविरुद्ध लाग्न सक्दैन ।
नेपालको छिमेक नीतिको रूपमा ओली डक्ट्रिन स्थापित भइसकेको छ । यसलाई भारत र चीन दुवैले राम्रोसँग बुझेका पनि छन् ।
प्रधानमन्त्रीको लावालस्कर
प्रधानमन्त्री प्रचण्डको भ्रमणमा तामझाम र लावालस्करको प्रदर्शन जरुरी थिएन । तर भारतको आकांक्षा तथा छिमेकी नेपालसँगको सम्बन्धमा सुधार जुन व्यग्रतासाथ भारतले खोजिरहेछ, त्यसलाई सम्बोधन गर्न यो भ्रमण उपयुक्त नै हो । भारतीय मनोविज्ञान नेपालसँग धमिलिएको छवि उजिल्याउन चाहिरहेछ । यस्तो बेलामा प्रचण्डको भ्रमण भइरहेछ । नेपालमा आशंका व्याप्त छ, यो भारतले नै बनाइदिएको सरकार हो र प्रधानमन्त्री ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्ली लाग्दैछन् ।
यसले पनि प्रचण्डलाई अझ सजग र संवेदनशील हुन बाध्य पारेको छ किनकि ओली सारकारका पालामा नेपाल-भारत सम्बन्धलाई सामान्यीकरण गर्ने र सकारात्मक दिशातिर अगाडि बढाउने काम विदशमन्त्रीको रूपमा कमल थापाले गरेका थिए । यो यथार्थ हो । हुन त थापालाई विशेष दूत नभनीकन ओलीको दूतका रूपमा उनले काम गरेका थिए । अहिले प्रचण्डले दुवै छिमेकमा विशेष दूत भनेर जुन उपप्रधानमन्त्रीहरू पठाए, त्यसबाट पनि प्रचण्डले आफ्नो इंगेजमेन्ट खोजेको देखिन्छ । त्यसैले पनि शंकाको लाभ प्रचण्डलाई दिनुपर्छ !
अब के गर्ने ?
सधैँ घरेलु सत्ता र पात्र परिवर्तनको रूपमलोमा अल्झिरहेछ नेपाल । यसले गर्दा नै हाम्रो कूटनीतिमा गणतन्त्र स्थापनापछि पनि अन्तर्राष्ट्रिय रूपमा जुन चमक आउनुपर्ने थियो, त्यो आउन सकेको छैन । प्रचण्ड भारत भ्रमणलगत्तै राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जान लागेकाले उनको भ्रमणलाई अन्तर्राष्ट्रिय जगत्ले पनि सूक्ष्मरूपमा नियालिरहेको छ ।
त्यसैले आसन्न भ्रमणबाट दुईपक्षीय हित, त्रिपक्षीय (नेपाल, भारत र चीन) सम्बन्धको राजमार्ग खुल्यो भने त्यसले पर्यटन, रेल, हवाई, व्यापार, लगानी र 'सँगसँगै उन्नति' को अवधारणा प्रचण्डले स्थापना गर्न सक्छन् । हो यहींनेर प्रचण्डलाई दिनुपर्ने बेनिफिट अफ डाउट ! यसको आधारशिला ओलीले प्रचण्डलाई बनाइदिइसकेका पनि छन् ।
यो ग्राउन्ड नबिर्सी समकक्षी मोदीसँग प्रचण्डले राख्न सके र सँगसँगै उन्नति गरौं भन्ने बुँदामा सहमत गराउन प्रचण्ड सफल बने भने उनको गिर्दो छवि (पहिलोपटक प्रधानमन्त्री बनेपछि गिर्न थालेको साख र उनले भारतलाई बारम्बार लगाउने 'नेपालको माइक्रो म्यानेजमेन्टमा हुने गरेको भारतीय हस्तक्षेप र नेपालमा सरकारमा जान र टिकिरहन विदेशी प्रभुलाई खुसी पारिरहनुपर्ने' आरोप भारतमाथि उसका अरू छिमेकीले पनि लगाउने साझा आरोप हुन् ।
प्रचण्डजस्ता जनयुद्धपछि हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएका राजनेतालाई समकक्षी मोदीसँग खुद्रा मसिना, प्राविधिक र सानातिना परियोजनामा दंग नपरी आफैंले विगतमा उठाएका कुरा निस्प्रभावित बनाउन सके भने त्यो नै प्रचण्ड भ्रमणको ठूलो उपलब्धि हुनेछ र उनले यस्तो अवसर बिरलै प्राप्त गर्नेछन् ।
भारत नै लाभान्वित
यसबाट भारत स्वयं नै लाभान्वित हुनेछ किनभने छिमेकीप्रति भारतीय व्यवहार बेलायती लर्ड कर्जनको विदेश नीतिकै निरन्तरतामा क्रमभंगता हुन सक्छ । प्रचण्डले धेरैपल्ट क्रमभंग गरेका छन् । यसपटक मोदीलाई छिमेकीसँग नीति परिवर्तन गरी गणतन्त्र भारतको स्वतन्त्र विदेश नीति लिने अवसर जुराइदिन सक्छन् ।
जुन कुरा मोदीले आफ्नो पहिलो नेपाल भ्रमणका बेला नेपालको संविधानसभामा सम्बोधन गर्दै ऋषिमनका कुरा गरेर नेपालीजनको ताली खाएका थिए र यो सम्बोधनको सन्देश सकारात्मक परेको पनि थियो ।
यो भ्रमणमा प्रचण्डले मोदीलाई त्यही अवस्थामा पुर्याउन सके भने क्षेत्रीय रूपमा प्रचण्डको यो पहलकदमी मौलिक ठहर्नेछ र उनलाई यो भ्रमण आफ्नो कूटनीतिक कौशलता देखाउने अन्तिम अवसर सावित हुन सक्छ ।