काठमाडौं र गान्तोक !

काठमाडौं र गान्तोक !

सन् १९७८ तिरको कुरा हो । आठौं एसियाली खेलकुदको समाचार संकलनका लागि 'गोरखापत्र दैनिक' बाट म र 'दि राइजिङ नेपाल' का तर्फबाट श्रीश राणा बैंकक गएका थियौं । बैंककबाट काठमाडौं समाचार पठाउन आज जस्तो सुविधा थिएन । नेपाली खेलाडी सम्मिलित खेल र खेलाडीको प्रदर्शन भएको दिन, टेलिफोनबाट समाचार टिपाइन्थ्यो । नेपाली खेलाडीले पदक जित्न पनि सकेनन् ।

खेलकुद १५ दिनभन्दा बढी हुन्थ्यो । भत्ता राम्रै थियो र बच्थ्यो पनि । मेरा एकजना साथी कान्ति श्रेष्ठसँग बैंककमा भेट भयो । हाम्रो खेलकुद सकिनै लागेकाले, हामी दुई बैंककबाट रेलमार्ग हुँदै मलेसिया र सिंगापुर घुम्न जाने निर्णय गर्‌यौं । बैककबाट सिंगापुर आते–जाते रेलको सेकेन्ड क्लास टिकट ७२ अमेरिकी डलरमा पाइयो रेल पनि सुविधाजनक । विमानबाट भन्दा सस्तो पनि ।

सिंगापुर पुगेर रेल स्टेसनबाट होटेल जान हामी ट्याक्सी स्टान्ड गएर चढ्यौं । सिंगापुरमा जथाभावी ट्याक्सी रोक्दैनन् । ट्याक्सी चढ्न स्ट्यान्ड नै पुग्नुपथ्र्यो । काठमाडौंमा जस्तो जहाँ हात उठायो, त्यहाँ रोक्दैनथ्यो । ट्याक्सीमा बसेर मैले एउटा बैंककमै किनेको चुइगम खान कागज खोले र मुखमा हाले ।

त्यसको र्‌यापर सानो डल्लो पारेर, नेपाली स्वभावअनुसार झ्याल खोलेर बाहिर फ्याँक्न लाग्दा ड्राइभरले मलाई सचेत गरायो– त्यसरी झ्यालबाट फोहोर बाहिर फ्याँक्दा पुलिसले एक सय डलर (सिंगापुर) जरिवाना गर्छ, यहाँ राख्नोस् पछि म फोहोर फाल्ने ठाउँमा फ्याँकिदिउँला मेरो टाउको एकछिन रन्थनियो । म आफूलाई पत्रकार ठानेर बडो सभ्य ठान्थेँ, तर म त यहाँको एउटा ड्राइभरजति पनि सचेत र सभ्य रहिनछु । मलाई त्यस्तै ग्लानी भएको थियो ।

म एकपटक गान्तोक गएको थिएँ । पहिले जाँदाको गान्तोक हाम्रै काठमाडौं जस्तो थियो, भने अहिलेचाहिँ सिंगापुरकै हाराहारीमा पुगेछ । त्यहाँ काठमाडौं जस्तो मोटरको जाम लागेको बेला पनि सडकमा सबैले हर्न बजाउने गर्दैनन् । कसैले हर्न बजाउँदैन युरोपजस्तै काठमाडौँमा जस्तो पेटीमा पसल, कपडा, कारखाना, पार्किङ, तरकारी, फलफूलका पसल हुँदैन । कसैले जेब्राक्रसमा पैदलयात्रीलाई तर्साउँदै वेगमा सवारी हाँक्दैनन् । कसैले नियम तोड्दैन त्यसैले गान्तोक सिंगापुर भएछ जस्तो लाग्यो काठमाडौंलाई त बेथितीको सहर भनिदिए पनि हुन्छ ।

गान्तोकको महात्मा गान्धी रोडबाट मेरो कान्छी बहिनीको निवास 'सीआरई' करिब एक किलोमिटरको छोटो बाटो भए पनि रात परेकाले ट्याक्सीमा जाने निधो गर्‌यौं । हामी चारजना थियौं । ट्याक्सीले तीनजनाभन्दा बढी राख्न मानेन । मैले नेपाली पाराले ड्राइभरलाई फकाउन थालें हामी जाने नजिकै छ, भाइ म एकजना पछाडिको सिटमुन्तिर टुक्रुक्क टाउको नदेखाई बसुँला नि ? अहँ, ऊ मानेन । त्यसो भए तिमीलाई पुलिसले भेट्यो नै भने पनि तिम्रो फाइन म तिरी दिउँला नि, हुन्न ?

उसले मलाई मुखभरिको जवाफ दियो । तपाईंले मेरो फाइन त तिरिदिनु होला । पाँच सय रुपैयाँ तपाईंलाई ठूला कुरा नहोला । तर यहाँ मेरो रेकर्ड बिग्रन्छ, तपाईं त गइहाल्नुहुन्छ । म त यहीँ काम गरेर खानुपर्छ । त्यसैले सिक्किमको ड्राइभरलाई तपाईंले पैसामा किन्न सक्नु हुन्न । माफ गर्नु होला ! नजिकै भएकाले हामीले दुइटा ट्याक्सी लिनुभन्दा ओरालो हिँडेरै झर्नु ठीक ठानेर चारैजना हिँड्यौं ।

मैले झलक्क काठमाडौंका ट्याक्सी र त्यसका चालकलाई सम्झेँ । मिटर चलाउनै नमान्ने, अनि दोब्बर पैसा तिराउन खोज्ने, अलि नजिक भएमा जाँदै नजाने । पैसा धेरै आउने भए मात्र जाने । मेरा बहिनीहरूबाट थाहा पाएँ– गान्तोकमा पर्यटक होस् या कसैलाई पनि ट्याक्सीले ठग्ने त के कुरा, जान्न भने पनि पुलिसलाई भन्ने हो भने कारबाही हुन्छ । यहाँका ट्याक्सी ड्राइभर अत्यन्तै सज्जन र सहयोगी छन् ।

धेरै वर्षपछि हालै म गान्तोक पुगेँ । मेरा आँखाले विश्वासै गरेनन् । गान्तोक पनि यति सफा र सुग्घर हुन सक्छ ? सिंगापुरजस्तै ? यो त्यही गान्तोक हो, जहाँ म पहिले पनि आउँथें ? एमजी रोड (महात्मा गान्धी रोड) गान्तोकको मूल बजारमा तपाईंले कागजका एक टुक्रा पनि भुइँमा पाउनु हुन्न । बीचको बगैंचा पनि चिटिक्क पारेर भुइँमा चिल्ला मार्बल, कुर्सी छन्, त्यहाँ वरिपरिका पसलमा किनमेल गरेपछि तपाईं बसेर कफी, चिया खान सक्नुहुन्छ ।

त्यहाँ खाएका कप र कागज कहाँ जान्छन्, थाहै हुँदैन । फोहोर कतै छैन । कसैले फोहोरै फ्याँक्दैन । एकपटक काठमाडौंको पुरानो बानेश्वरको हामी स्थानीय युवाहरूको संस्थाका तर्फबाट सफाइ अभियानअन्तर्गत बानेश्वरको मूल सडकका भित्रका गल्लीमा गयौं । त्यहाँ फोहोरका डंगुर देखेर र एकछिन उभिँदा पनि नाक थुन्नुपर्ने अवस्था देखेर हामी त्यसै घिन मान्दै थियौं, तर घरपछाडिका रेलिङ (बार्दली) मा बसेर मानिसहरू खाना खाँदै गरेको देख्ता यिनले कसरी खान सकेको होला यो फोहोरी वातावरणमा जस्तो लाग्थ्यो ।

हामीले भन्यौं– फोहोर तपाईंहरूले नै उत्पादन गरेको होला, यसलाई व्यवस्थापन गर्न सक्नु हुन्न ? ठूलो बोरामा यिनलाई हालेर बाहिर सडकछेउमा राखी मात्र दिए पनि महानगरपालिकाको फोहोर बोक्ने ट्रक आउँदा उठाएर लगिहाल्छन् । आफ्नो वातावरण स्वच्छ राख्न र रोग नलागोस् भनेर तपाईंहरू यति पनि गर्न सक्नु हुन्न ?

हाम्रो कुरा सुनेर उहाँहरू एकछिन त वाल्ल पर्नुभयो र घरभित्र पस्नुभयो । सायद उहाँहरू घर भाडामा बस्नु हुन्थ्यो र घर मालिकले गर्नुपर्ने काम हो यो भन्नुहुन्थ्यो । अनि काठमाडौं कसरी सफा हुन्छ ।

गान्तोक सिक्किमको राजधानी भारतको पूर्वीराज्य पहिले त्यहाँ राजा थिए । भारतले ७१ को दसकमा राजालाई अपदस्थ गरी सिक्किमलाई आफ्नै प्रान्त बनायो । सिक्किमका काजीहरू मिलेर भारतलाई आफ्नो देश सुम्पे । अहिले गान्तोक जाँदा मान्छेहरू कुरा गर्छन्, के गर्ने हाम्रा नेताले भारतलाई आफ्नो देश सुम्पिहाले । लेन्डुप दोर्जेहरूको चिहानतिर हेरेर थुक्छन्– सिक्किमेहरू, अहिले हामीलाई राम्रो छ, आर्थिक अवस्था पनि राम्रो छ, शान्ति, सुरक्षा पनि छ ।

हाम्रो गान्तोक भारतका अन्य राज्यसितको तुलनामा सुन्दरता, सफाइ र स्वच्छतामा पहिलो राज्य भएकोमा हामीलाई गर्व पनि छ । तर हाम्रो आफ्नो देश भएन, अरूको नामले चिनिनुपर्छ, हामीलाई त्यसैमा दुःख लाग्छ । मान्छेलाई अरू सबै सुविधा भए पनि आफ्नो, राष्ट्रियता, राष्ट्रिय पोसाक र हाम्रा कला, संस्कृति जोगाएर राख्नुपर्ने रहेछ भन्ने ज्ञान हामीलाई अहिले हुँदैछ । आफ्नो देश भनेको आफ्नै हो ।

एकजना पढेलेखेका सिक्किमे व्यक्ति भन्दै थिए– भारतले जुन बेला सिक्किमलाई आँखामा छारो हालेजस्तो एउटा आफ्नै प्रकारको जनमतको माध्यमले आफ्नै सिपाहीलाई गैरसैनिक पोसाकमा भाग लिन लगाएर आफ्नो प्रान्त बनायो, सिक्किम त्यसबेला संयुक्त राष्ट्रसंघको सदस्य मात्र भइदिएको भए पनि, सायद स्थिति अर्कै हुन्थ्यो होला । अहिले तपाईंको नेपाल राष्ट्रसंघमा छ, अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो छ, नेपाललाई भारतले त्यसो गर्न कदापि सक्तैन ।

भारत स्वतन्त्र भएदेखि नै र प्रधानमन्त्री जवाहरलाल नेहरूको नेतृत्वमा भारतीय कांग्रेसले सत्ता सम्हालेपछि नै आफ्ना ससाना छिमेकीप्रति गिद्दे दृष्टि राखेको कुरा त इतिहासमै पढ्न पाइन्छ । त्यसबेलाको पूर्वीपाकिस्तानलाई पाकिस्तानबाट छुट्ट्याएर बंगलादेश जन्माइन्, इन्दिरा गान्धीले । भुटानसित १९४७ को सन्धि गरेर भुटानको सुरक्षा र विदेश नीतिको जिम्मा लियो भारतले । नेपाललाई पनि भारतले यो प्रस्ताव राखेको सुनिएको हो, तर राजाहरूले मानेनन् । भुटानबाहेक अहिले पनि भारतको अरू छिमेकी देशसँग सम्बन्ध राम्रो छैन भन्ने कुरा देखिएकै छ ।

नेपालको आन्तरिक मामलामा पनि भारतीय हस्तक्षेप बढ्न थालेको छ । चीनसित नेपालले सम्बन्ध राम्रो बनाउन चाहे भारतलाई त्यो कुरा मन पर्दैन । अहिले पनि तराईका केही नेतालाई बोकेर भारतले प्रान्तका सीमा परिवर्तन गर्न सल्लाह दिँदैछ, त्यसमा उनीहरूको निहित स्वार्थ हुन सक्छ ।


सिक्किमले आफ्नो ठाउँलाई स्वच्छ, हराभरा र सुन्दर बनाएर राष्ट्रिय पुरस्कार जित्न सक्छन् भने हामीले एउटा काठमाडौंलाई किन स्वच्छ र हराभरा अनि ट्राफिक र नेपालीहरूको हार्दिकता किन प्रस्तुत गर्न सक्तैनौं ?

भारतले नेपाललाई कहिले नाकाबन्दी लगाएर, कहिले सीमाना मिचेर, कहिले सरकारका काममा हस्तक्षेप गरेर दुःख दिन छोडेको छैन । भारतीय दूतावासले नेपालका विभिन्न जिल्लामा स्कुल खोल्न सरकारसित सम्पर्क नै नराखी पैसा बाँड्दैछ भन्ने पनि अखबारहरूमा पढ्न पाइन्छ । नेपालको राजनीति कतै २००७ सालकै अवस्थामा फर्कन लागेको त होइन ?

गान्तोकमा पनि नेपाली मूलकै मानिसको संख्या धेरै छ । तिनले आफ्नो संस्कृति, कला, भाषा, रहनसहन पनि बचाएर राखेका छन् । त्यसै पनि गान्तोक–प्राकृतिक दृष्टिले नेपालजस्तो अत्यन्त सुन्दर छ । त्यसमा पनि भारतको प्रान्त भएपछि केन्द्रीय सरकारले त्यहाँको विकासको लागि धेरै खर्च गरेर सिक्किमलाई स्वच्छ, सुन्दर र शान्त बनाउन मद्दत गरेको छ । राजाको अनुपस्थिति या अभाव नदेखियोस् जनतामा भनेर केन्द्रले पैसा ओइराइदिएको छ । हरेक गाउँमा सरकारले स्कुल, बाटो, खानेपानी र स्वास्थ्य सुविधा पुर्‌याइदिएको छ ।

उद्योग र कारखाना खोल्नेलाई राजस्वमा छुट दिएर उद्योगधन्दाको विस्तार गरेको छ । अहिलेको मुख्यमन्त्री पवन चाम्लिङले गान्तोकमा पहिलोपल्ट चार धाम स्थापना गरेर नेपाली मूलका आफ्ना नागरिकको धार्मिक भावनाको पनि कदर गरेका छन् । समष्टिमा भन्दा सिक्किमको यो विकास लोभलाग्दो छ । तर दुःखको कुरा, हामी नेपाली नै हौं, सिक्किमे पनि नेपालीकै सन्तान हुन् ।

उनीहरूले आफ्नो ठाउँलाई स्वच्छ, हराभरा र सुन्दर बनाएर राष्ट्रिय पुरस्कार जित्न सक्छन् भने हामीले एउटा काठमाडौंलाई किन स्वच्छ र हराभरा अनि ट्राफिक र नेपालीहरूको हार्दिकता किन प्रस्तुत गर्न सक्तैनौं ? ट्राफिक जाम, बढ्दो हर्नको हल्ला र वातावरणलाई स्वच्छ बनाउन हामी किन सक्तैनौं ? पेटीमा गैरकानुनी प्रयोगलाई व्यवस्थित गर्न किन सक्तैनौं ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.