ग्यास दुर्घटनामा करोडसम्म क्षतिपूर्ति
काठमाडौः खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको हो ।
ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरूपता नहुँदा उद्योगको अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुस्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।
‘अहिले हामीले मुलुकभर एकरूपता ल्याउने गरी एउटा मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौं', संघका अध्यक्ष शिव घिमिरेले बिहीबार अन्नपूर्णसँग भने, ‘मापदण्ड भदौ १ गतेदेखि नै लागू गरिसकेका छौं । सोही मापदण्डअनुसार अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारबाट समान रूपमा क्षतिपूर्ति प्राप्त गर्नेछन् ।'
उनका अनुसार एकरूपता भएको मापदण्ड नहुँदा उद्योगी र पीडितलाई समेत समस्या पर्दै आएको थियो । संघले ५३ वटा खाना पकाउने ग्यास उद्योगको सहकार्यमा तयार पारी कार्यान्वयनमा ल्याएको मापदण्डअनुसार एउटा घटनामा सिलिन्डर पड्केर अधिकतम पाँचजनासम्मको मृत्यु भएमा जनही १० लाख मूल्य बराबरको क्षतिपूर्ति उपलब्ध गराइनेछ । सरकारले दुर्घटनामा परी मृत्यु हुने परिवारलाई एकजनाबापत पाँच लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।
घिमिरेका अनुसार सोही दुघर्टनामा परी भौतिक पूर्वाधारमा क्षति भएको अवस्थामा अधिकतम ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति व्यहोर्ने व्यवस्था गरिएको छ । यसैगरी सोही दुघर्टनामा परी घाइते हुनेको हकमा स्वास्थ्य संस्थाको बिलका आधारमा उपचार खर्चबापत बिमामार्फत १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध गराइनेछ ।
यसरी संघले सिलिन्डर पड्केर मृत्यु हुने, भौतिक पूर्वाधारमा क्षति भए र घाइते हुनेको पक्षमा दुघर्टनाबापत बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
केही महिनाअघि ललितपुरमा भएको एचपी ब्रान्डको ग्यास सिलिन्डर दुघर्टनामा मृत्यु हुने तीनजनालाई संघले एकमुस्ट ४० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति व्यहोरेको थियो । उद्योग र उपभोक्ता सचेतना अभावमा पटकपटक सिलिन्डर पड्केर दुघर्टना हुन थालेपछि संघले क्षतिपूर्तिसम्बन्धी समान मापदण्ड लागू गरेको हो ।
मुलुकभर सिलिन्डर विस्फोट भएर दुर्घटनाको संख्या वृद्धि हुँदै गएपछि उद्योगीले असार ४ मा पोखरामा विशेष भेला आयोजना गरी गरेर समान क्षतिपूर्ति लागू गर्ने निर्णय गरेको थियो । सोही भेलाले एकरूपता हुने गरी मापदण्ड तयार गरेको थियो ।
‘संघमा आबद्ध देशभरका उद्योगीलाई कडाइसाथ उक्त मापदण्ड कार्यान्वयनमा ल्याउन पत्राचारसमेत गरिसकेका छौं,' घिमिरेले भने । उनका अनुसार नयाँ मापदण्डअनुसार क्षतिपूर्ति दाबी गर्न पीडित परिवारले घटना भएलगत्तै नियमित रूपमा ग्यास साट्ने र खरिद गर्ने नजिकको पसल, बिक्रेता वा डिपोमा आवश्यक जानकारी गराउनुपर्नेछ ।
पसल, बिक्रेता र डिपोले प्राप्त गरेको जानकारी उद्योगमा गराउनेछ । त्यसपछि उद्योगले बिमा कम्पनीमा क्षतिपूर्तिका लागि दाबी गर्नेछ । पछिल्लो तीन वर्षको अवधिमा सिलिन्डर पड्केर १० जनाको मृत्यु भइसकेको छ ।