महिला संघमा मतदान आज
काठमाडौः कांग्रेस भ्रातृ संस्था नेपाल महिला संघको मतदान शुक्रबार बिहान ९ बजेदेखि भृकुटीमण्डपमा हुने भएको छ । संघको कुल ५३ सदस्यका लागि झन्डै डेढ सयजनाले उम्मेदवारी दिएका छन् । अपराह्न ५ बजे मतदान सकिएलगत्तै कांग्रेस केन्द्रीय कार्यलय सानेपामा मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
संघको सभापतिमा उमा रेग्मी र मीना पाण्डेको उम्मेदवारी परेको छ । निर्वाचन समितिले बिहीबार प्रकाशित गरेको अन्तिम नामावलीअनुसार अध्यक्षमा दुई, महासचिवमा तीन र कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएका छन् ।
सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहको प्यालन बनाएर उम्मेदवारी दर्ता भएको छ । संघको सभापतिमा देउवा समूहबाट रेग्मी र पौडेल समूहबाट पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।महासचिवमा भने तीनजनाको उम्मेदवारी परेको छ ।
देउवा समूहबाट महासचिवमा धना खतिवडाको र पौडेल प्यालनबाट गोमा केसीको उम्मेदवारी परेको छ । त्यस्तै महासचिवमै किरणकुमारी सरकारले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छन् । कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंहको उम्मेदवारी परेको छ । थापा पौडेल र सिंह देउवा प्यानलका हुन् ।
संघको विधानमा खुला २२ जना, प्रत्येक प्रदेशबाट तीनतीनजना, आदिवासी, मधेसी तीन र दलितबाट एकजनाका साथै मुस्लिमबाट एकजना सदस्यसहित ५३ जना सदस्य निर्वाचित हुने प्रावधान छ । खुला सदस्यका लागि ४७ जना, प्रदेश नम्बर १ मा ६ जना, प्रदेश २ मा ७, प्रदेश ३ मा ७, प्रदेश ४ मा ७, प्रदेश ५ मा ९, प्रदेश ६ मा ६ र प्रदेश ७ मा नौ जनाको उम्मेदवारी परेको छ । त्यस्तै जनजाति ३ सदस्यका लागि १३ जना, दलित १ का लागि ७ जना, मुस्लिम १ का लागि ३ जना र मधेसी ३ का लागि ८ जनाको उम्मेदवारी परेको छ ।
रेग्मीको उम्मेदवारीमाथि उजुरी
संघको सभापतिमा सभापति देउवा प्यालनबाट उम्मेदवारी दिएकी उमा रेग्मीको योग्यता नभएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । वर्तमान केन्द्रीय सदस्य जीवन श्रेष्ठसहित १५ जनाले रेग्मी महिला संघको क्रियाशील सदस्य नभएको र महाधिवेशन प्रतिनिधिसमेत अध्यक्षले मनोनीत गरेर ल्याएको दाबी उजुरीमा गरेका छन् । उजुरीबारे निर्वाचन समितिले छानबिन गरिरहेको समितिका संयोजक यदुनाथ खनालले बताए । ‘सभापतिकी उम्मेदवार उमा रेग्मीविरुद्ध उजुरी परेको छ, हामी छानबिन गर्दैछांै’, खनालले भने ।
३५ वटा विद्युतीय मेसिन प्रयोग
महिला संघको मतदानका लागि ३५ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । निर्वाचन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा विद्युतीय मतदान मेसिनमार्फत मतदान गर्ने तयारी गरेको छ । मतदान सकिएको केही घन्टामै परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
तरुण दलको महाधिवेशन कात्तिकमा
कांग्रेसको भ्रातृ संस्था तरुण दलको महाधिवेशन भने कात्तिकमा सारिएको छ । यसअघि असोज ३ देखि ५ गतेसम्म पोखरामा महाधिवेशन गर्ने निर्णय भए पनि केही जिल्लाको अधिवेशन सम्पन्न नभएकाले एक महिना पर सारिएको हो । तरुण दलको केन्द्रीय समितिले कात्तिक २७ देखि २९ सम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको छ ।