विशिष्टकै पोल्टामा करोडाैं उपचार खर्च
काठमाडौंः राज्यको ढुकुटीमाथि विपन्न र सिकिस्त बिरामीको पहुँच ‘विशिष्ट' व्यक्तिको तुलनामा न्यून स्तरमा रहेको पाइएको छ । गम्भीर प्रकृतिका रोगबाट ग्रस्त विपन्न समुदायका बिरामीभन्दा कम संख्या ‘विशिष्ट' व्यक्तिले बढी उपचार खर्च लिएर राज्यको ढुकुटी दोहन गरेको पाइएको हो ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा क्यान्सर, मिर्गौला, मुटुरोग, ब्रेनट्युमरलगायत कडा रोग लागेका दुई सय ३९ जना विपन्न समुदायका बिरामीले अस्पताल, गाविसदेखि स्वास्थ्य मन्त्रालय महिनौं धाएर तीन करोड तीन लाख ५० हजार रुपैयाँ उपचार खर्चका लागि लगेका छन् । तर विशिष्टका नाममा ठाडो प्रस्तावमा मन्त्रिपरिषद्को निर्णयद्वारा ५४ जना व्यक्तिले मात्रै दुई करोड ९७ लाख ४० हजार ८ सय ४६ रुपैयाँ उपचार खर्च राज्यकोषबाट लगेको छन् ।
ठाडो प्रस्तावमा राज्यकोषबाट लाखौं उपचार खर्च लग्ने मध्येमा अधिकांश सभासद् र नेता छन् । राष्ट्रिय जीवनमा योगदान पुर्याएको भन्दै केही कलाकार, साहित्यकार र पत्रकारलाई पनि लाखौं उपचार खर्च दिइएको छ । सरकारले पूर्वमन्त्री चक्रपसाद बास्तोलाको उपचारका लागि ५० लाख रकम दिएको छ ।
वाम लोकतान्त्रिक आन्दोलनकी अगुवा सहाना प्रधानको नाममा तीन पटक गरी ३१ लाख ८१ हजार दुई ६२ रुपैयाँ दिएको छ । पूर्वसभासद् रामनाथ ढकालका नाममा सरकारले १७ लाख १८ हजार चार सय २१ रुपैयाँ उपचार खर्च दिएको छ ।
यस्तै सभासद् प्रेमकिशोर शाह तेलीले दुईपटक गरी १० लाख रुपैयाँ राज्यकोषबाट उपचार खर्चका लागि लगेका छन् । पूर्वसभासद् रामप्रीत पासवानले दुई लाख १६ हजार ९ सय ८२ रुपैयाँ उपचारका लागि लगेका छन् । नेता राजकुमार सहनीले दुई लाख रुपैयाँ लगेका छन् ।
सरकारबाट उपचार खर्च लग्नेमा चर्चित कलाकार पनि छन् । कलाकार नीर शाहले चार लाख चार हजार नौ सय १९ रुपैयाँ लगेका छन् । विशिष्टका नाममा उपचार खर्च लग्नेहरू वास्तवमै आफैंले उचार गर्न नसक्ने क्षमताका हुन् कि होइन भन्नेबारे भने मन्त्रालयसँग कुनै जानकारी छैन । उनीहरूका रोगबारे नै स्पष्ट जानकारी मन्त्रालयसँग छैन ।
कडा रोग लागेका विपन्न समुदायका बिरामीले भने सरकारबाट एकदेखि दुई लाख ५० हजार रुपैयाँ मुस्किलले पाएका छन् । त्यसमा पनि सरकारले आठ रोगका लागि मात्रै सहयोग खर्च दिएर अन्य रोग लागेकामाथि विभेद गरेको छ ।
मन्त्रालय धाउन सक्ने पहुँचवालाले मात्रै तजबिजीका आधारमा उपचार खर्च पाउने र धाउन नसक्ने र पहुँच नभएकाहरू अस्पतालमै छट्पटाएर ज्यान गुमाउन थालेको यथार्थलाई आत्मसात् गर्दै स्वास्थ्यमन्त्री गगन थापाले यसविरुद्ध आवाज उठाएका छन् । कतिपयका उपचार खर्च सहयोग मागका प्रस्ताव रोक्नसमेत थालेका छन् ।
‘एउटै रोगले ग्रस्त भएका विशिष्ट वा निम्नवर्गका व्यक्तिलाई उपचार खर्च दिँदा राज्यले विभेद गर्न मिल्दैन', स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले अन्नपूर्णसँग भने, ‘त्यसैले मन्त्रीज्यूले आममानिसको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न विशिष्टका नाममा दिइने रकम बन्द गर्ने प्रयास गर्नुभएको हो ।'
दुई सय ३९ जना विपन्नलाई तीन करोड, विशिष्ट ५४ जनालाई दुई करोड ९७ लाख रुपैयाँ उपचार राज्यकोषबाट खर्च उपलब्ध ।
यसअघि बुधबार व्यवस्थापिका-संसद् अर्थ समितिले विशिष्ट व्यक्तिको उपचारका लागि विद्यमान तजबिजी शैली न्दा स्पष्ट कार्यविधि बनाई पारदर्शी रूपमा सहयोग रकम उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो ।
समितिले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई औषधि उपचारको आर्थिक सहायता दिने कार्यविधि स्पष्ट नभएकाले त्यसलाई संशोधन गर्न र कार्यविधि नबनेसम्म तत्कालका लागि उक्त कार्य रोक्नसमेत स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।