प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच शिष्टाचार भेट
नयाँदिल्लीः भारतको राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेट भएको छ।
शुक्रबार साँझ भारतीय राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुखर्जीसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुवै मुलुकको आपसीहित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । भेटमा भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । भेटमा दुवै मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
शुक्रबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका प्रचण्डलाई भारतले ‘गार्ड अफ अनर’द्वारा सम्मान गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सुरुमा एकल भेटवार्ता गरिसकेका छन् । मोदीसँगको एकल भेटपछि नेपाल र भारतका विशिष्ट प्रतिनिधिबीच विशेष छलफल भएको छ ।
विशेष छलफलपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच हुलाकी राजमार्ग निर्माण र भूकम्पपछिको पुनःनिर्माणका विषयमा तीन सम्झौता भएका छन् ।