महिला संघको मतदान रातिसम्म जारी
काठमाडौँः कांग्रेसको भातृ संस्था नेपाल महिला संघको केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार मध्यरातसम्म जारी छ ।
विहान ११ बजे सुरु भएको मतदान राती यो समाचार तयार पार्दासम्म जारी छ । विभिन्न ३५ ठाउँमा विद्युतीय मेसिन राखेर मतदान गरिएपनि ढिला सुरु भएकाले मतदान मध्यरातसम्म चल्ने निर्वाचन अधिकृत केशवराज जोशीले अन्नपूर्णसँग भने ।
झण्डै २२ सय मतदाता भएको महिला संघमा नौ बजेसम्ममा १६ सयले मतदान गरिसकेका छन् । संघको अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित १ सय ५६ पदका लागि चुनाव भएको हो । विद्युतीय मेसिनबाट मतदान भएकाले सकिएको दुई घण्टामा परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।