नेपाल र भारतबीच तीन सम्झौतामा हस्ताक्षर
नयाँदिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहालको जारी भारत भ्रमणमा नेपाल र भारतबीच विभिन्न तीन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी दाहालबीच हैदराबाद हाउस नयाँदिल्लीमा भएका एकल र प्रतिनिधिमण्डलस्तरीय वार्तापछि ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।
दुई देशबीच हुलाकी राजमार्गको पहिलो चरणको काम थाल्न परियोजना व्यवस्थापन परामर्श सेवा सम्झौता भएको छ । यसअनुसार तराईका सडकहरूको स्तरोन्नति, सुधार पूर्वाधार निर्माण हुनेछ ।
भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ र भारतीय सडक मन्त्रालयका सचिव सञ्जय मित्रले समझदारीपत्र साटासाट गरे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा पनि हुलाकी राजमार्गको पहिलो चरणका लागि सैद्धान्तिक समझदारी भएको थियो ।
त्यस्तै परराष्ट्रसचिव शंकरदास बैरागी र उनका भारतीय समकक्षी एस जयशंकरले दुईवटा भिन्दाभिन्दै ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । नेपाललाई भूकम्पपछिको पुनर्निर्माणमा एक बिलियन अमेरिकी डलर भारतीय सहयोगमध्ये ७५० मिलियन अमेरिकी डलर सहुलियत पूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता उसको थियो ।
तर उक्त ७५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने विषयलाई भारतले केही परिमार्जन गरेको छ ।
शुक्रबार भएको नयाँ समझदारीपत्रअनसार भारतले अब नेपालले खर्च गरेको अनुपातअनुसार पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । भारतले एक बिलियन अमेरिकी डलरमध्ये २५० मिलियन डलर भने अनुदान सहयोग दिएको थियो ।
तेस्रो समझदारीपत्रअनुसार नेपालको पुनर्निर्माणका लागि भारतले पहिले घोषणा गरेको १ बिलियन अमेरिकी डलर ऋण सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणका परियोजनामा उपयोग गर्ने सहमति भएको छ ।
भ्रमणमा अन्य ठूला विकास परियोजनमा भारतीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भनिए पनि कुनै सहमति हुन सकेन ।
प्रधानमन्त्री गान्धी समाधिस्थलमा
प्रधानमन्त्री दाहाल शुक्रबार बिहान ९ः३० बजे भारतका स्वतन्त्रता सेनानी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगी उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरे । त्यसअघि उनले भारतीय सेनाले दिएको राजकीय सम्मान ‘गार्ड अफ अनर’ को राष्ट्रपतिभवनमा समकक्षी मोदीसँगै अवलोकन गरे । त्यसमा क्रममा नेपाली राष्ट्रिय गान र भारतीय राष्ट्रिय गान एकपछि अर्को गरी बजाइएको थियो । दाहाललाई स्टेट गेस्टका रूपमा राष्ट्रपति भवनमा राखिएको छ ।
दाहालले भारतीय राष्ट्रपति भेटे
प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटेका छन् । भेटका क्रममा भारतीय राष्ट्रपतिको आगामी नोभेम्बर २, ३ र ४ मा निर्धारित नेपाल भ्रमणबारेमा कुराकानी भएको भेटमा सहभागी अधिकारीले बताए । दाहालले मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश पनि सुनाए । उनले नेपालमा मुखर्जीलाई स्वागत गर्न जनता र सरकार आतुर रहेको बताए । राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्न आफू आतुर रहेको भन्दै शान्ति, स्थायित्व र विकासमा भारतको सहयोग नेपाललाई निरन्तर रहिरहने बताएका थिए । त्यस क्रममा दाहालले मुखर्जीको नेपालप्रतिको निकट भावका लागि धन्यवाद दिए । दाहालले दोस्रो संविधान संशोधनमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन हुने बताए ।
दाहालसँग मन्त्रीहरूको भेट
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री सुस्मा स्वराज, वित्तमन्त्री अरुण जेट्ली र विद्युत्मन्त्री पीयूष गोयलले शुक्रबारै भेटेका छन् । भेटहरूमा भारत र नेपालबीचका विकासका परियोजनालाई गति दिने विषयमा कुरा भएको थियो । स्रोतका अनुसार भारतीय मन्त्रीहरूले काठमाडांै—तराई जोड्ने फास्ट ट्र्याक भारतीय कम्पनीलाई ठेक्का दिन आग्रह गरे । त्यस्तै तल्लो अरुण परियोजनामा भारतले लगानी चाहेको उनीहरूले बताए । नेपाल र भारतबीच नयाँ ट्रान्समिसन लाइनहरू विस्तारबारे भारतीय विद्युत्मन्त्रीसँग कुरा भएको थियो ।
दाहालसँग भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले शुक्रबारै भेटेका छन् । सबै उच्चस्तरीय भेटहरू राष्ट्रपति भवनमै भएका छन् ।
सम्झौताहरू
१. हुलाकी राजमार्गको पहिलो चरणको काम थाल्न परियोजना व्यवस्थापन परामर्श सेवा ।
२. भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन अमेरिकी डलर सहुलियत ऋण ।
३. भारतले यसअघि घोषणा गरेको १ बिलियन अमेरिकी डलर ऋण सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणका परियोजनामा उपयोग गर्ने ।