महिला संघमा देउवा–सिटौलाको प्यानल नै विजयी
काठमाडौंः नेपाल महिला संघमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको प्यानल नै विजयी भएको छ। शुक्रवार भएको मतदानबाट अध्यक्षलगायत प्राय सबै पदमा देउवा–सिटौला प्यानलका उम्मेदवारहरु विजयी भएका छन्।
संघको अध्यक्षमा देउवा–सिटौला प्यानलकी उमा रेग्मी निर्वाचित भएकी छिन्। रेग्मीले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकी उम्मेदवार मीना पाण्डेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित रेग्मीले ९९८ मत प्राप्त गरिन् भने प्रत्याशी पाण्डेले ७९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए।
यस्तै महासचिवमा देउवा–सिटौला प्यानलकै धना खतिवडा निर्वाचित भइन्। उनले पौडेल प्यानलकी गोमा केसीलाई पराजित गरिन्। खतिवडाले ९९८ मत पाउँदा केसीले ७७६ मत प्राप्त गरिन्।
यस्तै कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरिन्। यस्तै केन्द्रीय सदस्यहरुमा पनि अधिकांश देउवा–सिटौला प्यानलका विजयी भएका छन्।
कुल दुई हजार ११४ मतमध्ये निर्वाचनमा १८ सय १४ खसेको थियो। ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए। निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्षसहित ५६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।