मा‌ओवादीले भन्यो: अख्तियारले आत्तिएर बार्गेनिङ गर्‍यो

मा‌ओवादीले भन्यो: अख्तियारले आत्तिएर बार्गेनिङ गर्‍यो

काठमाडौं: सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ । अख्तियारले माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेताहरूलाई ३० दिनभित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरूले त्यस्तो आरोप लगाएका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला शुक्रबार अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषण र अन्य नाममा गएको रकमबारे छानबिन अघि बढाएको बताउँदै त्यसको नतिजा छिटै बाहिर आउने बताएको थियो । शिविरमा भएको भ्रष्टाचारमा मुछिएका माओवादी नेतामा प्रधानमन्त्री दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, पूर्वअर्थमन्त्री वर्षमान पुनलगायत छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनः पनि अख्तियारको छानबिनमा रहेका छन् । सात मुख्य र २१ सहायक शिविरमा राखिएका लडाकु व्यवस्थापनमा चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै ०६९ मा एमाले निकट युवा संघले अख्तियारमा उजुरी दिएको थियो । मोहन वैद्यले नेतृत्व गरेको माओवादी र बहिर्गमनमा परेका लडाकुले पनि शिविर व्यवस्थापनमा करोडौं भष्टाचार भएको भन्दै छानबिन माग गर्दै आएका छन् ।

राज्यको जुन पदमा बसे पनि दोषीले उन्मुक्ति नपाउने अख्तियारले बताउँदै आएको छ । 'यो शान्ति प्रक्रियासँग सम्बन्धित विषय हो । यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरुरी छैन । यसलाई बार्गेनिङ टुल्सका रूपमा प्रयोग गर्न खोजिँदैछ', माओवादी केन्द्रका वरिष्ठ नेता बर्षमान पुनले अन्नपूर्णसँग भने, 'त्यति बेला शिविर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको थियो । छानबिनका कुरा नियमित हुन् । तर अहिले यो विषय उठाउनु असान्दर्भिक छ । यो आत्तिएको मानसिकताको उपज पनि हो ।'

शुक्रबार दिउँसो ३ बजे अदालतको आदेश आएपछि साँझ ७ बजे अख्तियारले पत्रकार सम्मेलन गर्नुलाई नेता पुनले 'बार्गेनिङ टुल्स' का रूपमा विश्लेषण गरेका हुन् । सर्वोच्च अदालतले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी फैसला पुनरावलोकन गर्न सात दिनभित्र नियुक्तिको फाइल पठाउन सरकारलाई आदेश दिएको थियो ।

प्रधानन्यायधीश सुशीला कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले कार्कीविरुद्धको फाइल खोल्ने निर्णय गर्दै त्यस्तो फाइल नपठाए सरकारलाई समेत कारबाही गर्ने चेतावनी दिएको थियो । अख्तियार प्रमुख कार्कीको नियुक्ति संवैधानिक नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले ०७० वैशाख २९ गते रिट दायर गरेका थिए ।

कायममुकायम प्रधानन्याधीशले शपथ खुवाइसकेपछि र कार्कीले काम सुरु गरिसकेको भन्दै न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मि श्रको संयुक्त इजलासले ०७१ असोज ८ गते सो रिट खारेज गरेको थियो । अधिवक्ता अर्यालले आफूले योग्यतासम्बन्धी प्रश्नसहित नयाँ प्रमाण फेला पारेको र मुद्दा दायर गरेपछि तथ्यमा छ वा छैन भनेर हेर्नुपर्ने भन्दै पुनरावलोकन माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.