संविधान दिवसमा 'सम्माननीयहरू' नै नजाने

संविधान दिवसमा 'सम्माननीयहरू' नै नजाने

काठमाडौं: पहिलो संविधान दिवस सरकारले तीन दिनसम्म धुमधाम मनाउने निर्णय गरे पनि अधिकांश 'सम्माननीयहरू' यही मौकामा विदेशमै हुने भएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार स्वदेश फिर्ता भए पनि संविधान दिवसका दिन (असोज ३) गते नै अमेरिका जाँदैछन् भने सभामुख ओनसरी घर्तीमगर संविधान दिवसको अघिल्लो दिन चीन भ्रमणमा निस्कँदैछिन् ।

उपराष्ट्रपति नन्दकिशोर पुन संविधान दिवसका बेला विदेशमा रहनेछन् भने संविधान जारी गर्ने पूर्वराष्ट्रपति रामवरण यादव शनिबार अमेरिका गइसकेका छन् ।

गत वर्ष भव्य समारोहबीच संविधानसभाबाट संविधान जारी भएपछि सरकारले असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउने निर्णय गरेको हो । संविधानसभाबाट बनेको पहिलो संविधानको भव्य स्वागत र समर्थन जनाउन भन्दै सरकारले असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । तर निर्णयकर्ता नै संविधान दिवसप्रति उदासीन देखिएका छन् । 'यति ठूलो संविधान दिवसलाई ध्यानमा राखेर विशिष्टहरूले आफ्नो विदेश भ्रमण तय गर्नुपर्ने हो,' सत्तासीन कांग्रेसका एक नेताले अन्नपूर्णसँग भने, 'तर विशिष्टहरू गम्भीर देखिएनन् ।'

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आइतबार स्वदेश फर्के पनि सरकारले आयोजना गर्ने कार्यक्रमलगत्तै उनी संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन सोमबार साँझ अमेरिका जाँदैछन् ।

आफ्नो चीन भ्रमणको समय जुधेपछि सभामुख घर्तीले एक दिनअघि नै संविधानको स्वागत कार्यक्रम राखेकी छिन् । सभामुख घर्ती आफ्ना पति एवं माओवादी केन्द्रका नेता वर्षमान पुनसहित सचिवालयका कर्मचारी सम्मिलित टोलीको नेतृत्व गर्दै आइतबार चीन जाँदैछिन् ।

-प्रधानमन्त्री २ गते आएर ३ गते अमेरिका
-सभामुख २ गते चीन
-उपराष्ट्रपति भेनेजुएलामा
-पूर्वराष्ट्रपति शनिबार अमेरिका

सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार चीनको गोन्सु प्रान्तमा हुने सिल्क रोडसम्बन्धी कार्यक्रममा भाग लिन उनी त्यसतर्फ जान लागेकी हुन् । सभामुखको टोलीमा उनका स्वकीय सचिव बाबुलाल पुन, कानुनी सल्लाहकार दिनमणि पोखरेल, संसद्का महासचिव मनोहरप्रसाद भट्टराई र उपसचिव सुरज दुरा छन् ।

आइतबार नै चीन जाने भएकाले सभामुख घर्ती सरकारले आयोजना गरेको सोमबारको संविधान दिवसको औपचारिक कार्यक्रममा अनुपस्थित हुनेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुन पनि संविधान दिवसको औपचारिक कार्यक्रममा सहभागी नहुने निश्चित भएको छ । हाल भेनेजुएलामा रहेका पुन असोज ५ गतेमात्र स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

गत वर्ष संविधानसभाको भव्य समारोहमा ऐतिहासिक संविधान जारी गरेका पूर्वराष्ट्रपति रामवरण यादव शनिबार उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।

पूर्वसभामुख सुवास नेम्बाङ संविधान दिवस भव्य बनाउने भनेर निर्णय गरिसकेपछि त्यसतर्फ सबैले ध्यान पुर्‌याउनुपर्ने तर्क गर्छन् । 'सम्बन्धित विशिष्ट व्यक्तिहरूको अनुपस्थितिले जनतामा के सन्देश जान्छ भन्ने कुरा सम्बन्धित मित्रहरुले विचार पुर्‌याउनुपर्ने हो,' नेम्बाङले भने । आफूले संविधान दिवसकै कारण देशभर आयोजना हुन लागेका कार्यक्रमहरू स्थगित गरेको पूर्वसभामुख नेम्बाङले बताए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान दिवस मनाएर विशिष्टहरू विदेशमा निस्केको भए मुलुक र जनतामा राम्रो सन्देश जानसक्थ्यो भन्ने प्रतिक्रिया दिए । 'उहाँहरूले संविधान दिवस मनाएर गएको भए राम्रो हुन्थ्यो,' सिटौलाले भने, 'उहाँहरू नभए पनि हामी जति छौं, मनाउँछौं ।' माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा मत दिएर 'सत्तापक्ष' बनिसकेको मधेसी मोर्चाले भने संविधान दिवसको दिन विरोधसभा गर्ने निर्णय गरेको छ । संविधानमा मधेसलाई उपेक्षा गरिएको भन्दै मोर्चाले विरोध गर्ने जनाइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.