मधेसी मोर्चाद्वारा थप १६ जनालाई सहिद घोषणा गर्न माग
काठमाडौंः मधेसी मोर्चाले मधेस आन्दोलनमा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्न माग गरेको छ। आइतबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले यसअघि थप १६ जनालाई सहिद घोषणा गर्न माग गरेको हो।
यसअघि मोर्चाले सरकारलाई मधेस आन्दोलनका क्रममा मारिएका ६८ जनालाई सहिद घोषणाका लागि सूची बुझाएको थियो। तर, सरकारले ६८ मध्ये ५२ जनालाई मात्रै सहिद घोषणा गरेको थियो।
मोर्चाले सहिदको सूचीसँगै जीवनपर्यन्त भरणपोषणका लागि गम्भीर घाइतेको नामावली तथा विभिन्न अस्पतालमा उपचारको खर्च विवरणसमेत गृहमन्त्री निधिलाई बुझाएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए।
मोर्चाको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री निधिले मोर्चाको मागका सम्बन्धमा आवश्यक प्रक्रिया पु¥याई जतिसक्दो चाँडो मन्त्रिपरिषदले सम्बोधन गर्ने बताएको सुमनले जानकारी दिए।
सुमनका अनुसार मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि लागेको झन्डै एक करोड रुपैयाँ उपलब्ध गराउन पनि माग गरिएको छ। सुमनले विभिन्न अस्पतालमा गरी झन्डै ९० करोड रुपैयाँ मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारमा खर्च भएको बताए।