स्वास्थ्य केन्द्रको विद्युत् काटिएपछि टर्च बालेर उपचार

स्वास्थ्य केन्द्रको विद्युत् काटिएपछि टर्च बालेर उपचार

हेटौंडाः विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै हेटौंडा अस्पतालसहित दुईवटा प्राथमिक स्वास्थ्य चौकीको विद्युत् लाइन कटौती गरेपछि बिरामीको उपचारमा समस्या भएको छ ।

प्राधिकरणले हेटौंडा अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र मनहरीको विद्युत् लाइन काटेको हो । विद्युत् लाइन काटिँदा प्रसूति सेवा प्रदान गर्न र रातको समयमा आकस्मिक बिरामीको उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य चौकी महनरीका हेल्थ असिस्टेन्ट टीकाराम अधिकारीले बताए ।

‘राति टर्च बालेर बिरामीको उपचार गर्नुपरेको छ’, उनले भने, ‘विद्युत् कटौती भएपछि प्रसूति सेवा बन्द भएको छ ।’ फ्रिजमा राख्नुपर्ने औषधि र भ्याक्सिन विद्युत् अभावमा हेटौंडाबाटै ल्याउनुपर्ने बाध्यता रहेको अधिकारीले बताए । मनहरी स्वास्थ्य चौकीले प्राधिकरणलाई चार लाख रुपैयाँ तिर्न बाँकी छ ।

मनहरीसँगै विद्युत् लाइन कटौती भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीको सेवा पनि अवरुद्ध भएको छ । विद्युत् अभावमा हृदयाघात भएका एक व्यक्तिको तत्काल उपचार गर्न नसक्दा हेटौंडा अस्पताल लैजाने क्रममा एक साताअघि बाटैमा ज्यान गएको स्वास्थ्य चौकीका प्रमुख रिचन बास्तोलाले बताए ।

‘प्रसूति, ईसीजी, नेबुलाइजरलगायत सम्पूर्ण सेवा अवरुद्ध भएको छ’, उनले भने, ‘सामान्य समस्या रहेका बिरामीलाई पनि हेटौंडा पठाउनुपर्ने बाध्यता छ ।’ हाल नियमित विद्युत् महसुल बुझाइरहेको दाबी गर्दै बास्तोलाले भने, ‘एक दशकअघिको बक्यौता रकम हामीले तत्कालै कहाँबाट ल्याएर तिर्ने ? ’

हेटौंडा अस्पतालको इमरजेन्सी, इन्डोर र ओपीडीबाहेक सबै ठाउँको विद्युत् लाइन कटौती गरिएको छ । अस्पतालले प्राधिकरणलाई २०२२ सालदेखिको ७० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रछ । ‘यो सम्बन्धित मन्त्रालयहरू बसेर मिलाउनुपर्ने विषय हो’, हेटौंडा अस्पतालका अध्यक्ष सुनिल मोक्तानले भने, ‘हामीले स्वास्थ्य विभागमा लेखेर पठाएका छौं तर यसबारे कुनै चासो दिइएको छैन ।’

अस्पतालको डाक्टर बस्ने आवाससहित अन्य ठाउँको विद्युत् लाइन कटौती भएपछि बिरामीको उपचारमा समस्या भएको उनले बताए । हाल एक सय ५० शय्या रहेको हेटौंडा अस्पताललाई सरकारले तीन सय शय्याको अस्पताल बनाउने निर्णय गरेको छ ।

प्राधिकरणले जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको कर्मचारी आवासको विद्युत् पनि कटौती गरेको छ । कार्यालयले सात लाख रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी रहेको जनस्वास्थ्य प्रमुख सर्वेश श्रेष्ठले बताए ।

प्राथमिक स्वास्थय चौकीहरूको लाईन काटिँदा हेटौंडामै भ्याक्सिन राख्नुपर्ने बाध्यता रहेको उनले बताए । लामो समयदेखि बक्यौता रकम तिर्न बाँकी रहेकाहरूको विद्युत् कटौती गर्ने अभियानअन्तर्गत अस्पतालहरूको विद्युत् लाइन कटौती गरिएको विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रका इन्जिनियर उज्ज्वल उप्रेतीले बताए ।

‘मन्त्रालयको आदेशअनुसार हामीले विद्युत् कटौती गरेका हौं’, उनले भने, ‘दुवै सरकार मातहतकै निकाय भएकाले सरकारले नै यसको समाधान खोज्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.