समृद्धिको लागि कृषि

समृद्धिको लागि कृषि

हामीलाई विगतदेखि नै घरपरिवारमा हलो जोते सानो भइन्छ भनेर सिकाइयो, समाजले पनि त्यही सिकायो । अनि सत्ताले पनि त्यही शिक्षा र संस्कृतिको निर्माण गरिदियो । फलस्वरूप हामी कृषिप्रति अनाकर्षित भयौं र हामीले कृषिलाई चिन्नै सकेनौं । उत्पादकत्व मात्र होइन, भइरहेको उत्पादन नै कम हुँदै हामी अरू देशको उत्पादनमा बाँच्न बाध्य हुँदैछौं ।

उत्पादकत्व-प्रतिएकाइ जमिनमा उत्पादन गरिने वस्तुको परिमाण हो । हाम्रा बाउबाजेको पालामा कति उत्पादन हुन्थ्यो ? अहिले कति हुन्छ ? भन्ने मापन नै उत्पादकत्व हो । प्रतिएकाइ जमिनमा कसरी बढीभन्दा बढी उत्पादन गर्न सकिन्छ ? यसलाई बढाउने आधारहरू के-के हुन् ? आदि विषयहरूले उत्पादकत्वको परिभाषा निर्माण गर्दछ । अहिले हामीकहाँ प्रतिहेक्टर जमिनमा तीन मेट्रिकटन धान उत्पादन हुन्छ जबकि विकसित मुलुकमा प्रतिहेक्टर जमिनमा १८ मेट्रिकटनसम्म धान उत्पादन हुने गरेको देखिन्छ ।

नेपालको कृषिको उत्पादकत्व क्षमता अहिले तुलनात्मक रूपमा निकै कम छ । यसलाई उन्नत बीउविजन र प्रविधि प्रयोग गरेर बढाउनु अहिलेको टड्कारो आवश्यकता हो । हाम्रो भूमि नीतिको कारण अहिले एक किसानसँग सरदर एक हेक्टरभन्दा कम जमिन छ । एक सय हेक्टर जमिन हुने किसान भेट्न सकिन्न । त्यसैले हामीले कृषिको उत्पादकत्व बढाउन सबैभन्दा पहिले केही नीतिगत र कानुनी सुधार गरेर खण्डीकरण रोकी चक्लाबन्दीलाई प्राथमिकता दिनुपर्छ । चक्लाबन्दी एकैचोटि गर्न सकिँदैन । क्रमैसँग गर्नुपर्छ । चक्लाबन्दी न्यूनतम र अधिकतम कत्रो गर्ने त्यसको क्षेत्र निधो गर्नुपर्छ ।

नेपालका सबै किसान साना हुन् । अर्को अर्थमा नेपालमा कोही पनि ठूलो किसान छैनन्, जसले आफैं ट्याक्टर किनेर यान्त्रिक व्यावसायिक खेती गर्न सकोस् । यन्त्र प्रयोग नगरी हामीले कृषिको उत्पादकत्व बढाउन सक्दैनौं । यसर्थ, व्यावसायिक खेतीको लागि साना किसानलाई भन्दा किसान समूह वा ठूला किसानलाई प्राथमिकतामा राखेर नीति बनाउनुपर्छ ।

सुरुमा थोरै जमिन हुने एक भूगोलका धेरै साना किसानको समूह निर्माण गरी जमिनको ठूलो चक्ला बनाई सरकारले अनुदानमा यन्त्र उपलब्ध गराउनुपर्छ । यसरी सामूहिक रूपले वा अलग्गै ठूलो स्केलमा उत्पादन सुरु गर्‌यौं भने हामीले उत्पादन र उत्पादकत्व पनि बढाउन सक्छौं ।

अहिलेको अवस्थामा कृषिको लागत घटाउनु पनि अर्को ठूलो आवश्यकता हो । यो काम ठूलो जमिन र यन्त्रको प्रयोगबाट मात्र सम्भव छ । दुःखअनुसारको फाइदा हुन्छ भन्ने भएपछि मान्छे खेतीप्रति आकर्षित हुन्छ । खण्डित जग्गाले सरकारबाट प्रोत्साहन नपाउने भएपछि ससाना जमिन होल्ड गर्ने किसान संगठित हुन्छन् र चक्लाबन्दी गरेर सामूहिक खेती प्रणाली सुरु गर्छन् ।

अर्कोतिर अहिलेको कृषिमा ठूलो जनसंख्या सहभागी छ । यति ठूलो संख्यालाई घटाउनुपर्छ । कुल जनसंख्याको १० प्रतिशत कृषिमा, २० प्रतिशत उद्योगमा र बाँकी ७० प्रतिशत सेवा तथा व्यापार क्षेत्रमा संलग्न हुनुपर्छ । त्यसो भयो भने मात्र समृद्धि हासिल हुन सक्छ । कृषि उत्पादनसँग धेरै क्षेत्रको अन्तरनिर्भरता हुन्छ । यसर्थ कृषिलाई व्यावसायिक र यान्त्रिकीकरण गरेर उत्पादन वृद्धि गर्नुपर्छ । त्यसो भयो भने अन्य क्षेत्रको पनि सन्तुलित विकास हुन्छ ।

भूमिको प्रयोगको सवालमा पनि यहाँ समस्या छ । जमिनको ठूलो हिस्सा घर बनाउन प्रयोग हुनु कृषि उत्पादनमा समस्या आउनुको कारण हो । वासको लागि आकाशको पनि प्रयोग गर्न सकिन्छ तर खेतीको लागि जमिनै चाहिन्छ । बढीभन्दा बढी जमिनको प्रयोग उत्पादन कार्यमा लगाउनुपर्छ । सरकारले वासको लागि बहुतले अपार्टमेन्ट बनाउन प्रोत्साहन गर्ने र जमिनलाई बृहत्रूपमा चक्लाबन्दी गरी खेती गर्ने नीति बनाउन सक्छ । यसरी कृषिको माध्यमबाटै समृद्धि हासिल हुन सक्छ ।

बिरुवा हाम्रो आमा, जीवन र समृद्धि हो भन्ने बुझे पुग्छ । बिरुवालाई बुझेर बिरुवाको सेवा थालौं, कृषि स्वतः बुझिन्छ । बालबालिकालाई शिशुकक्षाबाटै बिरुवा, कृषि तथा मान्छेको सम्बन्ध बुझाउनुपर्छ र युवालाई आमसञ्चारको माध्यमबाट कृषिको बारेमा बुझाउन जरुरी छ ।

कृषिलाई बुझ्ने कुरामै पनि ठूलो अन्तरविरोध छ । सामान्य रूपमा कृषिलाई खाद्यान्न बाली र केही नगदेबालीको खेतीको रूपमा मात्र बुझिएको देखिन्छ । कृषि भनेको धान, गहुँ, मकै, तरकारी अनि फलफूल त हो भन्ने बुझाइ छ । अहिले ठूलाठूला विद्वान्ले पनि कृषि बुझ्न सकेका छैनन् । कृषि भनेको खण्ड होइन र यो केवल केही बालीविशेष पनि होइन, यो सम्पूर्णता हो । कृषि भनेको आमाको सेवा हो । आमा भनेको बिरुवा हो ।

यो ब्रह्माण्डमा रहेको पञ्चतत्वः हावा, पानी, घाम, माटो र आकाशले बिरुवालाई जन्म दिन्छ र बिरुवाले मानिसलगायत पशुपक्षी, कीरा, कीटाणु आदि प्राणीको जन्म दिन्छ । तर कृषिलाई यसरी समग्रतामा बुझ्ने गरिएको छैन । यसलाई खण्डित गरिएको छ । मान्छेबाट निस्कने मलमूत्र कीरा÷कीटाणुले खाने र कीरा÷कीटाणुबाट निस्कने विकार बोटबिरुवाले खाने अनि त्यही बोटबिरुवाले पुनः मान्छेको लागि खाना उत्पादन गर्ने सत्यचक्र हामी धेरैले पढेका छौं तर बुझेका छैनौं ।

 

यसर्थ, कृषि आधुनिक मानवजगत्को समग्रता हो । खण्ड होइन, पूर्ण हो । हामीले कृषिलाई त्यही रूपमा ग्रहण गर्न सक्यौं भने कृषिले उत्पादन र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । जति पनि मान्छेका आवश्यकता हुन्, ती सबै बिरुवाबाटै आपूर्ति हुन्छ । यसर्थ कृषिको लागि प्रकृति बुझ्नुपर्छ ।

कतिपय मानिस हामीकहाँ पेट्रोल छैन, इन्धन छैन भनेर गुनासो गर्छन् । तर हाम्रोजस्तो पानी र बिरुवाको धनी देशमा इन्धनको समस्याले दुःख पाउनु भनेको अज्ञानता, अकर्मण्यताको पराकाष्ठा हो । तराईको एउटा मात्र जिल्लामा उखु, मकै, जेट्रौपा आदि लगाइदिने हो भने त्यसबाट उत्पादन हुने इथानोल र बायो डिजलबाट जत्ति पनि इन्धन उत्पादन हुन सक्छ । पानीबाट उत्पादन हुने बिजुलीको त कुरै अर्को । नेपालको विकासमा इन्धन समस्या होइन, हामी नेपाली आफैं समस्या हौं । मान्छेले उपभोग गर्ने जति पनि वस्तुहरू छन्, तीमध्ये ८० प्रतिशत बढी वस्तु बिरुवाबाट बन्छन् ।

हामीले बिरुवा चिन्ने संस्कार विकास गर्न सकेनौं । बिरुवाको पेसा कृषि र यसको पेशेवर कृषकलाई हेंलाहोचो गर्ने संस्कार बस्यो । अब यो संस्कार र संस्कृतिलाई बदल्न समग्र जीवन र जगत्को बारेमा उचित शिक्षा दिनु आवश्यक छ । हाम्रो मुलुक हावा, पानी र माटोको लागि निकै उपयुक्त देश हो । यसको उच्चतम प्रयोग गरेर उत्पादन बढाउँदै सदुपयोग गर्न सके हामी धनी बन्न सक्छौं ।

बिरुवा हाम्रो आमा, जीवन र समृद्धि हो भन्ने बुझे पुग्छ । बिरुवालाई बुझेर बिरुवाको सेवा थालौं, कृषि स्वतः बुझिन्छ । बालबालिकालाई शिशुकक्षाबाटै बिरुवा, कृषि तथा मान्छेको सम्बन्ध बुझाउनुपर्छ र युवालाई आमसञ्चारको माध्यमबाट कृषिको बारेमा बुझाउनु जरुरी छ । सौर्य प्रणाली, पञ्चतत्व, इकोसिस्टम र कृषिको सम्बन्ध धेरैले पढेका छौं तर बुझेका छैनौं । किनकि अहिलेको शिक्षा र त्यसले दिने ज्ञान नै सीमित ढाँचाको छ ।

यो शिक्षाले विद्यार्थीलाई बिरुवाबाट धैरै टाढा राखेको छ । त्यसैले मान्छे बिरुवाबाट टाढिँदै गयो र कृषि पेसालाई हेंला गर्‌यो । हामी नेपालीलाई धनी बनाउनै चाहन्छौं भने कृषिप्रति व्याप्त हीनताबोध घटाउनु अनिवार्य छ । डाक्टर र इन्जिनियरले मात्र देश बनाउँछन्, ती भनेको भगवान हुन्, किसान भनेको चुत्थो हो भन्ने गलत सामाजिक मान्यता हटाउनैपर्छ । किसान भएन भने हामी बाँच्न नै सक्दैनौं भन्ने यथार्थ बुझाउनैपर्छ । देशव्यापी रूपमा हिँड्दा मैले बुझेको तथ्य-किसानले पनि कृषि बुझेको छैन ।

हामीसँग धातु र खनिज छैन तर बिरुवामा हामी संसारकै धनी छौं । यसर्थ हामीले धातु र खनिज होइन, पानी र बिरुवालाई माया गर्न सिकाउनुपर्छ । पानी र बिरुवाको बारेमा ज्ञान दिनुपर्छ । यसबाटै हामी माथि उठ्छौं । हामीलाई आवश्यक पर्ने अन्न, फलफूल, तरकारी, पशुपंक्षी, कीरा, कीटाणु, औषधी, लत्ताकपडा, कस्मेटिक्स सबै कुरा कृषिबाट आउँछ । हामीसँग यी सबै क्षेत्रको प्रशस्त सम्भावना छ । हामी बिरुवा र पानीकै प्रयोग गरेर धनी हुन सक्छौं । यसको लागि खेतबारीमा खेलाउँदै पढाउने प्रणालीको विकास गर्नुपर्छ ।

कृषिलाई जीवन व्यवहारमा उतार्न व्यवहारमा सुधार र व्यवहारमा सुधारको लागि विद्यमान राजनीतिक प्रणालीमा पनि सुधार ल्याउनुपर्छ । ७५ वर्ष पुगेपछि बल्ल नेता हुने परिस्थितिको अन्त्य हुनुपर्छ । विकास र समृद्धिको लागि राजनीतिक दर्शन पनि ठीक हुनुपर्छ । माक्र्सवाद, पुँजीवाद, सामन्तवाद, समाजवाद जति पनि वाद अहिले चलिरहेका छन्, यी सबै वादहरू बर्बाद हुन् । ती वादहरू संसारको सबै देशमा फेल भइसके । सबैभन्दा सत्य वाद भनेको लोकतन्त्रवाद हो ।

आधुनिक मान्छेलाई परिचालन गर्ने राजनीतिक प्रणाली लोकतन्त्रभन्दा अरू सम्भवै छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो । वादै मान्ने हो भने प्रकृतिवाद, विज्ञानवाद, प्रविधिवाद, बजारवाद मान्नुपर्छ । किनकि त्यो मात्रै सत्य हो ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले ५ 'स' (समतामूलक समृद्धि, समानुपातिक-समावेशी -सहभागितामूलक लोकतन्त्र, स्वाधीनता र सार्वभौमसत्ता, सुशासन र सदाचार तथा समुन्नत समाजवाद) को आधार तय गरेको छ । अर्को ५ 'स' मा आधारित भएर आर्थिक विकास र समृद्धिका आधार तयार गरिएको छ । पहिलो 'स'- सडक विकास ।

सडक भएपछि बिजुली, सञ्चार, कृषि, उद्योग, व्यापार सबैको विकास सहज हुन्छ । सुरक्षा दोस्रो 'स' हो । सबै कुराको सुरक्षाविना दिगो विकास असम्भव छ । शिक्षा तेस्रो 'स' हो । किताब पढाउनेभन्दा काम सिकाउने शिक्षा, उत्पादन सिकाउने शिक्षा, रोजगार दिने शिक्षा नभई समृद्धि सम्भव हुँदैन । चौथो 'स'- स्वास्थ्य विकास हो । उपचार गर्ने शिक्षाभन्दा बिरामी नै नहुने वा कम गर्ने शिक्षाको विकासमा नगई समृद्धि हुँदैन । निरोगी रहने स्वास्थ्य शिक्षामा जोड नदिई सुखै छैन । समय सञ्चय पाँचौं 'स' हो । समय नै सम्पत्ति भन्ने उखान कति कालजयी सत्य छ । जसले समय सदुपयोग गर्न सक्यो त्यही मान्छे धनी र सुखी छ ।

हाम्रो देशमा जनताको समय सरकारले धेरै बर्बाद गर्दै आएको छ । उदाहरणको लागि नागरिकता प्रमाणपत्र लिन एकजना नेपालीले सरदर पाँच दिन लगाउनुपर्ने रहेछ । वार्षिक ६ लाखले नागरिकता लिँदा नेपालीको ३० लाख दिन समय खेर जाँदो रहेछ । तनाव त्यत्तिकै हुँदो रहेछ ।

नागरिकता प्रमाणपत्र नलिए पनि बाँच्न पाउने अधिकार सबै मानवलाई हुन्छ, यो पृथ्वीमा । त्यस्तै पासपोर्ट, पानी, बिजुली, टेलिफोन, मालपोत, कर आदि धेरै सरकारी सेवामा देशको लागि चाहिने भौतिक वस्तु उत्पादन गर्ने र कर तिर्ने नागरिकको समय सरकारले खाइदिन्छ र तनाव पनि त्यत्तिकै दिने गरेको छ । अनि कसरी हुन्छ देश धनी र विकसित ? नयाँ शक्तिले जनताको सेवा गर्ने मौका पायो भने सबै सुविधा घरैबाट समाधान हुने वा घरैमा पुग्नेगरी गर्ने प्रयास गर्नेछ ।

यी एजेन्डा नै नयाँ शक्तिको राजनीतिक तथा आर्थिक एजेन्डा हुन् । हामीले यिनै एजेन्डाका आधारमा कृषिको वैज्ञानिक एवं व्यावसायिक प्रयोगले समृद्धिको आधार खडा गर्न सक्छौं । यसरी नै समृद्धि सम्भव छ, हाम्रै पालामा, अबको निकास आर्थिक विकास भन्ने नारालाई साकार बनाउन सक्नेछौं ।

-कृषिविज्ञ राई नयाँ शक्ति पार्टी नेपालका कृषि र भूमि मामिला विभाग प्रमुख हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.