ठूल्ठूला घर, न लालपुर्जा न प्रमाणपत्र

ठूल्ठूला घर, न लालपुर्जा न प्रमाणपत्र

भालुवाङ दाङः पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार । करिब चार दशकअघि सामान्य ‘चिया झुपडी' बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् । तर अहिलेसम्म भालुवाङवासीसँग भू-स्वामित्व छैन ।

देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रूपमा परिचय बनाइसकेको भालुवाङ बजारको मुख्य सहर नै लालपुर्जाविहीन छ । त्यहाँ ठूल्ठूला पक्की घर बनेका छन् तर घरमालिकसँग कुनै स्थायी प्रमाणपत्र छैन, न जाग्गाको न घरको । यो जमिन अहिले पनि राष्ट्रिय वनकै नाममा छ । यो बजारमा दैनिक करोडौंको कारोबार गर्ने राष्ट्रियस्तरका निजी बैंकहरू पनि छन् ।

२०२५ सालतिर पूर्वपश्चिम राजमार्गको सुरुवाती दिनमा यहाँ सामान्य चिया बेच्ने व्यापारी र पसल थिए । जब राजमार्ग व्यस्त हुन थाल्यो अनि यो बजार पनि चम्कँदै जान थाल्यो । अहिले पूर्व क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा यो बजार स्थापित भइसकेको छ । रोल्पा, प्युठान, अर्घाखाँची र पूर्व दाङ देउखुरीका बासिन्दाको यो प्रमुख व्यापारिक केन्द्र हो । यो पुर्जाविहीन बजार ३१ बिघाभन्दा बढी क्षेफलमा फैलिएको छ ।

यही बजारमा २० वर्षदेखि व्यापार गर्दै आएका प्रतिष्ठित व्यापारी हुन् होमप्रसाद शर्मा । उनी भालुवाङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन् । बजारमा पक्की घर बनाएर व्यापार, व्यवसायमा जमेका उनको न जग्गाको लालपुर्जा छ, न त घरकै प्रमाण । नगर विकास समितिले थमाएको ‘३०५' रुपैयाँको रसिदबाहेक उनीसँग घरजग्गाधनीको अर्काे कुनै प्रमाण छैन ।

‘राज्यले बिजुली दिएको छ, खानेपानी दिएको छ, हामीले घरजग्गाको करसमेत बुझाएका छौं, व्यापार गरेको कर तिरेका छौं', शर्मा भन्छन्, ‘अब यो मानवबस्ती भइसक्यो । ४० वर्षदेखि यहाँ बजार बसेको छ, जंगलको नामोनिशान छैन । तै पनि लालपुर्जा दिन राज्यले किन कन्जुस्याइँ गरेको छ? बुझ्न नसकेको कुरो यही हो ।'

करोडौंको व्यापार हुने यो प्रमुख व्यापारिक केन्द्रका व्यापारीलाई अहिले सबैभन्दा बढी मार बैंकबाट ऋण लिँदा परेको छ । अहिले भालुवाङ बजारमा प्रतिमिटर जमिनको मूल्य १५-२० लाख रुपैयाँ पुगिसकेको छ तर केही लाख ऋणका लागि व्यापारीहरूसँग धितो राख्ने त्यही जमिनको पुर्जा छैन । ‘यहाँ करोडौंको धनसम्पत्ति छ तर बाहिर जग्गा किनेर ऋण खानु परेको छ', उनले भने, ‘सबैभन्दा बढी मार व्यापारीलाई परेको छ । व्यापार व्यवसाय बढाउन खोज्यो, राज्यले प्रमाण, आधार खोज्छ तर उसैले हामीलाई प्रमाण दिएको छैन ।'

यहाँको घरजग्गा किनबेचका लागि अहिले नगर विकास समितिले ३०५ रुपैयाँको रसिद दिन्छ । त्यही रसिदका आधारमा यहाँको जमिन किनबेच हुन्छ । नगर विकासले जमिनको वर्ग छुट्याएर करसमेत लिने गरेको छ ।

२०६८ सालमा यहाँका राजनीतिक दल र स्थानीय बासिन्दा मिलेर जमिनको लालपुर्जा माग्दै वन तथा भूमिसुधार मन्त्रालयलगायतमा पुगेका थिए । प्रधानमन्त्रीसम्मलाई यही गुनासो सुनाएपछि मन्त्रालयले वनको जमिन त्यत्तिकै दिन नपाइने तर त्यसको सट्टामा सोहीबराबरको नम्बरी जमिन दिए भालुवाङ बजारको जमिन व्यक्तिको नाममा दिन सकिने बतायो ।

अहिलेसम्म भालुवाङवासीसँग भू-स्वामित्व छैन ।
जमिन अहिले पनि राष्ट्रिय वनकै नाममा छ ।
बजार ३१ बिघाभन्दा बढी क्षेफलमा बजार फैलिएको छ ।
नगर विकासले दिएको ३०५ रुपैयाँको रसिदबाहेक कुनै प्रमाण छैन ।

अनि यहाँका स्थानीयले रकम उठाएर बजारदेखि केहीमाथि पहाडी गाउँमा बजार क्षेत्रबराबरको जमिन किनेर सरकारलाई बुझाउने तयारी पनि गरेका थिए । तर राजनीतिक दलहरूको आपसी खिचातानीले दल र स्थानीयबीचको दूरी बढायो र काम फेरि अघि बढ्न सकेन । दलका प्रतिनिधिले केही वर्षअघि जग्गाको लालपुर्जा ल्याइदिन्छौं भन्दै स्थानीयबाट लाखौं रुपैयाँ उठाएर भागबण्डासमेत गरेका थिए ।

नगर विकास समितिका पदाधिकारीले समेत मनपरी जमिनबाट रकम उठाउँदै आए । अहिले भालुवाङ नगर विकास समितिका कागजपत्र सबै अख्तियारले नियन्त्रणमा लिएर छानबिन अघि बढाएको छ । स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत जग्गा जमिनको कारोबारका लागि स्थानीय गाविसले काट्ने त्यो रसिद केही वर्षअघि दलहरूको सहमतिमा नगर विकास समितिले काट्न थालेको थियो । अख्तियारले त्यो कार्य अवैधानिक भएको र त्यसमा आर्थिक हिनामिना भएको भन्दै कागजपत्र नियन्त्रणमा लिएको हो ।

नगर विकास समितिका पदाधिकारीको पदावधि सकिएका कारण अहिले विकासले गतिविधि अगाडि बढाउन सकेको छैन । ‘अहिले जग्गालाई वैधानिक र दर्तावाल बनाउन न राजनीतिक दल अघि सरेका छन् न त यहाँका स्थानीयलाई विश्वासमा लिन सकेका छन् । यसैका कारण हामी अझैं पुर्जावाल हुन सकेका छैनौं', शर्माले भने ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.