यसरी बनाऊँ स्वस्थ्य मुटु
सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा संसारभर मनाइन्छ । यसको मुख्य उद्देश्य स्वस्थकर मुटु राख्न वातावरण बनाउन सबैलाई उत्प्रेरित गराउनु हो ।
मुटु र रक्तसञ्चारसम्बन्धी सबै रोग जस्तै- कोरोनरी मुटुरोग (एन्जाइना र हृदयाघात) र स्ट्रोक मान्छे मर्ने रोगहरूमध्ये प्रमुख हो । अध्ययनअनुसार दक्षिण एसिया र अफ्रो क्यारिबियनका मान्छेलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना अन्यत्रकालाई भन्दा बढी हुन्छ । समयमै सजगता अपनाएर जीवनशैली परिवर्तन गरे मुटुरोगबाट बच्न या सावधान हुन महत्वपूर्ण भूमिका खेल्नसक्छ ।
किन बढ्छ मुटुरोग
धूमपानः तपाईं धूमपान गर्नुहुन्छ भने स्वास्थ्य सुधारका निम्ति यसलाई छोड्नु नै सबभन्दा महत्वपूर्ण निर्णय हुनेछ । चुरोटमा निकोटिन र कार्बन मोनोअक्साइडजस्ता हजारौं केमिकल हुन्छन् । यसले मुटुको धड्कन बढाएर मुटुलाई बढी काम गर्न बल गर्छ । रक्तचाप बढाउँछ र रगतलाई बाक्लो तथा टाँसिने बनाउँछ । यसले रगत जम्न सजिलो पार्छ ।
कार्बन मोनोअक्साइडजस्ता केमिकलले मुटु र शरीरमा चाहिने अक्सिजन कम गराउँछ । यसले कोलेस्ट्रोललाई जान दिन्छ, जुन जम्मा भई रक्त कोशिकाको नलीलाई साँघुरो बनाउँछ ।
धूमपानले मुटुरोगका अलावा स्ट्रोक, फोक्सोको क्यान्सर, आस्मा, दम, अल्सर आदि रोग जन्माउन सक्छ ।
पारिवारिक इतिहास
कोरोनरी मुटुरोग वंशानुगत रूपले परिवारमा सर्नसक्छ । रगतको नाताजस्तै बाबु, आमा, फुपू, मामा आदिलाई यस्तो रोग लागेको छ भने जोखिमका तत्वहरूलाई निवारण गर्न के गरिएको छ, यो पनि महत्वपूर्ण कदम हो ।
उच्च रक्तचाप
चिन्तामा रहेर व्यायाम गर्दा रक्तचाप बढ्छ । यो सामान्य हो । तर, केही नगरीकन आरामले बस्दा पनि रक्तचाप बढ्छ भने यसलाई असाधारण मान्न सकिन्छ । उच्च रक्तचाप धूमपानबाट पनि हुनसक्छ । यसले मुटु र रक्तकोषिकालाई बढी बल पार्छ, जसका कारण रगत बाक्लो, कडा र कम लचकदार बनाउँछ ।
तौल बढी छ भने मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । बढी तौल भएपछि उच्च रक्तचाप, मधुमेह, रगतमा बढी कोलेस्ट्रोल हुने जोखिम हुन्छ ।
उच्च रक्तचाप छ भने डाक्टरको सल्लाहबमोजिम औषधि खानुपर्छ । बढी वजन हुनबाट टाढा रहने, धूमपान त्याग्ने, नुन खान कम गर्ने, मदिरा खान कम गर्ने, चिन्ता घटाउने, केही व्यायाम गर्ने ।
बढी तौल
तौल बढी छ भने मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । बढी तौल भएपछि उच्च रक्तचाप, मधुमेह, रगतमा बढी कोलेस्ट्रोल हुने जोखिम हुन्छ ।
चिन्ता
चिन्ताको प्रकृति र अर्थ हरेक मानिसमा फरक हुनसक्छ । एउटा व्यक्तिलाई भएको चिन्ता अर्को व्यक्तिलाई नहुन सक्छ । केही निश्चित मात्रामा चिन्ता हुनु आवश्यक हुन्छ, यसले हाम्रो जीवनमा काम गर्न हौसला र मद्दत पुर्याउँछ । त्यति बेला समस्या हुन्छ, जब चिन्ता हाम्रो वशबाट बाहिर जान्छ । बढी चिन्ताले धूमपान, मद्यपान, आलस्यजस्ता कुलतलाई प्रोत्साहन गर्छ । आराम गर्ने तरिका सिकेर चिन्ताको समस्या कम गर्न सकिन्छ ।
व्यायामको कमी
मुटु एउटा मांसपेशी भएको हुनाले यसलाई तन्दुरुस्त राख्न हरेक दिन व्यायामको आवश्यकता हुन्छ । योजनाबद्ध व्यायाम जस्तै पौडिने, दौडने, हिँड्ने गर्नुपर्छ । जीउ तताउने गर्नुपर्छ । यो अति महत्वपूर्ण हो कि विस्तारै मांसपेशी र जोर्नीलाई खुकुलो गर्नुपर्छ । यसले मुटुको मांसपेशीमा रगत पुर्याएर सुधार गर्छ ।
व्यायाम गर्दा सजिलोसँग बोल्न सक्नुपर्छ । व्यायाम सकिनुअगाडि जीउ चिस्याउने गर्नुपर्छ । यो महत्वपूर्ण हो कि विस्तारै मुटुको धड्कन कम गर्नुपर्छ । शरीरलाई साधारण अवस्थामा राख्ने कोसिस गर्नुपर्छ । शरीरअनुरूप तन्दुरुस्ती राख्नुपर्छ । नियमित हिँड्नु नै उत्तम व्यायाम हो ।
रगतमा चिल्लो
कोलेस्ट्रोलः कोलेस्ट्रोल भनेको चिल्लो पदार्थ हो, जुन शरीरले प्राकृतिक रूपबाट नै बनाउँछ । यो कलेजोले स्याचुरेटेट फ्याटबाट बनाउँछ । केही चिल्लोहरू मुटुलाई राम्रो (एचडीएल) र कोही नराम्रो (एलडीएल) हुन्छन् । खानामा धेरै चिनी या मदिरा भएमा यसको लेभल बढ्छ । मधुमेह भएको व्यक्तिमा पनि यसको लेभल बढी हुन्छ ।
स्वस्थकर मुटुका लागि खाना
स्ट्राची खानाः हामीले खाने खानामा ३३५ स्ट्राची हुनुपर्छ । यस प्रकारको खानामा शक्ति र पोषणयुक्त तत्व पाइन्छ । यसमा फाइबर, क्याल्सियम, आइरन, भिटामिन बीहरू पाइन्छ । हरेक पटकको खानामा स्ट्राची खाना हुनुपर्छ । यसलाई पकाउँदा या खाँदा धेरै क्यालोरी बढाउने जस्तै तेल, घिउ, चिनी थप्नु हुँदैन । होलग्रेन खानालाई पचाउन धेरै समय लाग्छ । त्यसैले धेरै बेरसम्म भोक लाग्दैन । यी खानाका उदाहरणमा होलग्रेन पाउरोटी, पास्टा, नफलेको चामल आदि पर्छन् ।
फलफूल र सब्जीः घटीमा पनि दिनको पाँच पोर्सन विभिन्न किसिमका फलफूल र सब्जीहरू खानुपर्छ । एक पोर्सन भनेको करिब ८० ग्राम हुन्छ (ताजा फलफूल, सब्जी)
माछाः माछा बढी खाऔं । हप्तामा घटीमा एक पोर्सन (१४० ग्राम) तेलयुक्त माछा खानु उत्तम हुन्छ । माछामा प्रोटिन, अरू धेरै भिटामिन र मिनरलहरू पाइन्छन् ।
स्याचुरेटेट फ्याट र चिनी कम गरौः जनावरबाट पाइने चिल्लो जस्तै बोसो, घ्यू, बटर र चिनी, सकेसम्म कम खानुपर्छ । यसको सट्टा कम परिणाम अनस्याचुरेटेट फ्याट जस्तै सूर्यमुखी तेल, तोरीको तेल, ओलिभको तेल, तेलयुक्त माछाहरू, नट्स अनि बियाँ खानुपर्छ । धेरै मिठाई, चिनीयुक्त पेय पदार्थ धेरै कम गर्नुपर्छ ।
नुन कम खाऔः दिनमा ६ ग्रामभन्दा कम नुन खानुपर्छ । धेरै खाएपछि स्वास्थ्यमा हुने जोखिमहरू जस्तै उच्च रक्तचाप धेरै बढ्छ । प्रौढ मान्छेले दिनमा ६ ग्रामभन्दा कम नुन खानुपर्छ ।
प्रशस्त पानीः हाम्रो शरीरलाई पानी प्रशस्त मात्रामा चाहिन्छ । ठाउँको मौसमअनुरूप पानी पिउनुपर्छ ।
मधुमेहु
जब शरीरले रगतमा भएको चिनीलाई तोड्न सक्दैन तब मधुमेह हुन्छ । रगतमा धेरै चिनी भएपछि यो बाक्लो र टाँसिने हुन पुग्छ । यसको मतलब मुटुले शरीरभरि रगत पम्प गरी पठाउन कडा काम गर्नुपर्छ । मधुमेह भएको मान्छेले सधैं यसलाई नियन्त्रण गर्नुपर्छ । पिसाब र रगत समय समयमा जाँच्नुपर्छ । मधुमेहको नियन्त्रणका लागि खाना महत्वपूर्ण उपचारविधि हो । खाना सधंै नियमित छाक नछोडीकन, धेरै बेरसम्म भोको नबसेर, चिनीयुक्त खाना कम गर्ने, चोकरयुक्त खानाका साथै प्रशस्त फाइबर आदि खाने गर्नुपर्छ ।
प्रभाव पार्ने अरू तत्व
धेरै पुरुषलाई मुटुको समस्या आधाआधी उमेरमा पुगेपछि सुरु हुन्छ । महिलालाई अलि उमेर बढी भएपछि देखिन्छ । मुख्यतः यसका दुई कारण छन् ।
. धेरै जोखिमका तत्वहरू महिलाभन्दा पुरुषमा बढी पाइन्छ । जस्तै— धूमपान, उच्च रक्तचाप, बढी वजन आदि । महिलाले शारीरिक हिसाबले पनि धेरै काम गरी जीवनशैली स्वस्थकर बनाएका हुन सक्छन् ।
. कोलेस्ट्रोलको लेभल पुरुष र महिलामा फरक पाउन सकिन्छ । महिलालाई प्राकृतिक रूपबाट नै हार्मोनले सुरक्षा प्रदान गर्छ । यसको परिणाम कलिलो उमेरमा कम संख्यामा महिला मुटुका रोगी बन्छन् । तर, महिनावारी हुन छोडेपछि पुरुषसरह नै हुन्छन् ।
मदिरा
थोरै परिणामको मदिराले मुटुलाई राम्रो गर्छ भन्ने पुरानो मान्यतालाई हालै गरिएको अध्ययनले अस्वीकार गरेको छ । अध्ययनलाई मनन गरी बेलायती सरकारले पिउनैपर्ने मानिसलाई हप्तामा १४ युनिटभन्दा कम भन्ने सुझाव दिएर सावधानी अपनाएको छ । एक युनिट भनेको एक पेग (२५ एमएल) ह्विस्की, आधी प्वाइन्ट बियर, सानो गिलास वाइन, १२५ मिलिलिटर हो ।
धेरै मदिराले मुटुको मांसपेशीलाई नोक्सान पुर्याउँछ । मिर्गौला र अरू रोग लाग्ने जोखिम पनि रहन्छ । मदिरामा धेरै क्यालोरी हुने हुँदा मोटो मान्छेले विशेष विचार गर्नुपर्छ । वर्षमा घटीमा एकपल्ट रगत जाँच्ने, आफ्नो रक्तचाप, रगतमा चिनीको मात्रा र कोलेस्ट्रोल थाहा पाउने, त्यही अनुरूप जीवनशैली परिवर्तन गरेर मुटुरोगबाट टाढा रहनु भन्ने सन्देश नै मुटु दिवसको हो ।
–लेखक नेप्लिज हार्ट फाउन्डेसन बेलायतका अध्यक्ष हुन् ।