प्रहरीको मनोबल गिर्ने गरी मुद्दा फिर्ता लिन्नँःनिधि
काठमाडौंः टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको मनोबल गिर्ने गरी मुद्दा फिर्ता नलिइने बताएका छन् ।
राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने निर्णय भइनसकेको बताए । राजनीतिक सहमतिको बहानामा टीकापुर नरसंहारमा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने गृहमन्त्रीको तयारीको चौतर्फी आलोचना भइरहेका बेला उनले प्रहरी अधिकारीहरूसँग आफ्नो बचाउ गरेका हुन् । गृहमन्त्रीले प्रहरीको मनोबल गिर्ने गरी कुनै घटनामा पनि मुद्दा फिर्ता नलिइने अनौपचारिक प्रतिबद्धता प्रहरी अधिकारीहरूसँग गरेका थिए ।
आफू प्रधानमन्त्री बन्न पुष्पकमल दाहालले मधेस आन्दोलन र त्यसका परिणामलाई राजनीतिक घटनाक्रम भन्दै त्यस क्रममा लागेका झुटा मुद्दा फिर्ता गराउने सहमति मधेसी मोर्चासँग गरेका थिए । मन्त्री निधिले समेत गृह मन्त्रालयका अधिकारी र प्रहरीसँग भएका कतिपय बैठकमा टीकापुर नरसंहारलाई राजनीतिक घटनाक्रम भन्दै आएका छन् । उनले टीकापुर घटना पनि राजनीतिक घटना भएकाले त्यसमा संलग्न व्यक्तिको समेत मुद्दा फिर्ता हुने बताउँदै आएका थिए ।
गृहमन्त्रीको जिम्मेवारी समालेपछि निरीक्षण भ्रमणमा नक्सालस्थित प्रहरी मुख्यालय पुगेका गृहमन्त्री निधिले शुक्रबार टीकापुर घटनामा संलग्नहरूको मुद्दा फिर्ता लिने आफ्नो मनसाय नभएको बताए ।
मधेसी मोर्चाले दिनहुँझैं सरकारलाई मुद्दा फिर्ता लिने निर्णय गर्न दबाब दिँदै आएको छ । मन्त्री निधिले अघिल्लो शनिबार गृह मन्त्रालयमा पत्रकारहरूसँग दसैंअगावै मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिहरूलाई लगाइएको झुटा मुद्दा फिर्ता लिने बताएका थिए ।
मधेशी मोर्चाले टीकार राजनीतिक घटनाक्रम भन्दै उक्त घटनामा संलग्नतासहित पाँच सयको हाराहारीमा मुद्वा फिर्ताको सूची गृह मन्त्रालयमा बुझाएको छ ।
सम्बोधनका क्रममा मन्त्री निधिले प्रहरी र आन्दोलनकारी दुवैतर्फ मानवीय क्षति भएकाले आफूले दुवै पक्षको कुरा सुन्नुपर्ने बताए । मधेसी मोर्चाले टीकापुर राजनीतिक घटनाक्रम भन्दै उक्त घटनामा संलग्नसहित पाँच सयको हाराहारीमा मुद्दा फिर्ताको सूची गृह मन्त्रालयमा बुझाएको छ ।
प्रहरी अधिकृतहरूलाई मन्त्री निधिले वर्तमान सरकारको राजनीतिक, विकास र शान्तिसुरक्षा पहिलो प्राथमिकता भएकाले संविधान कार्यान्वयनको सिलसिलामा हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन निर्देशन दिएका थिए ।
यसैबीच गृह मन्त्रालयले शुक्रबार अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘टीकापुरमा मुद्दा फिर्ता प्रकरणः गृहमन्त्री आईजीपी चर्कियो विवाद’ शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार प्रकाशित गरेको विज्ञप्तिमा गृहमन्त्री र महानिरीक्षकबीच कुनै विवाद नरहेको उल्लेख गरेको छ ।