जो साथसाथै हिंड्न चाहन्थे...
काठमाडौः असहज अवस्थामा पनि गाउँको स्वास्थ्य सुधार गर्न दृढ थिए उनीहरु । त्यो सफल हुने आशा विस्तारै पलाउँदै थियो उनीहरुको मनमा । कामका लागि खटिएका थिए दुर्गममा । गोरखाका विकट गाविसका स्वास्थ्य चौकीहरुसँग मिलेर जनचेतना फैलाउने र बिरामीको उपचार गर्ने दैनिकी थियो सिर्दीबास स्वास्थ्य चौकीसँग मिलेर काम गर्दै आएकी ओखलढुङगाकी चेतकुमारी मगर र बिहि स्वास्थ्य चौकीसँग सहकार्य गरिरहेकी प्रीति मगरको ।
कम्युनिटी एक्सन नेपालमार्फत त्यहाँ खटिएका उनीहरु स्वास्थ्य सुधारका बाहक बन्दै थिए । तर तालिमका लागि तय गरेको काठमाडौं यात्रामा नेपालका लागि नियति नै बन्न पुगेको पहिरोले अब उनीहरु त्यो बहाक बन्छन की बन्दैनन् अनिनिश्चत बन्न पुगेको छ । र सँगै यात्रा गरेकी उनीहरुको मिल्ने साथी अनमी रञ्जना बस्नेतलाई त बूढीगण्डकीले बगाइदिएको छ । जुन पीडाले चेतकुमारी र प्रितीलाई आफ्नो शरीरमा लागेका चोटहरु भन्दा बढी नै मन चर्काएरहेको यतिबेला । पछुतो बढ्दो छ काठमाडौंका लागि त्यो बाटोको यात्रा तय गरेकोमा ।
पहिरोले घाइते बनाएपछि बिहिबार उनीहरुलाई हेलिकप्टरद्धारा उद्धार गरी उपचारका लागि राखिएको बल्खुस्थित बयोधा अस्पताल शुक्रबार पुग्दा उनीहरु बिक्षिप्त अवस्थामा देखिन्थे । प्रीतिका आँखाहरु आँशुको भेलमा डुबिरहेका थिए । सँगै यात्रा तय गरेकी एउटै संस्थामा आवद्ध, काम उही र एउटै कोठामा बस्ने साथी रञ्जनालाई बूढीगण्डकीले बगाएको थाहा पाएपछि उनको आसु थामिएको छैन ।
उनी बोल्न नसकेपछि चेतकुमारीको शैय्यामा पुग्दा उनी झनै भावविह्ल भइन । ‘काठमाडौं आउने भनेर सबेरै हिड्न सुरु गरेका थियौं । आकाशसमेत नदेखिने दुई ठूला पहाडको बीचमा पर्ने बुढीगण्डकी किनारै किनार हिढिरहेका थियौ,' केहीबेरमा आफुलाई सम्हाल्दै चेतकुमारीले भनिन,‘ केरौंजाको दोभानमा पुग्न के पाएका थियौं एक्कासी ठूल्ठूला ढुङ्गा र माटो खस्न थाल्यो ।
बच्न लाग्दा लाग्दै धेरै ढुङ्गाहरु हामीमाथि बर्सिसकेका थिए । अव हामी बाँच्दैनौ भन्ने लाग्यो र बाटोमै लम्पसारियौं । ढुङ्गाले छिउतिर रहेकी रञ्जनालाई नदीमा खसालिदियो ।
साथीका लागि मैले हेली छाडेकी थिएँ । तर उनैले मैलाई बाटोमै छाडेर गइन् ।
उनलाई बचाउन उठ्दै थिए तर ममाथि अर्को ढुङ्गा बजारीयो । त्यसपछि केही थाहा भएन ।' चेतकुमारीले सँधै यात्रा गर्ने बाटो भए पनि त्यो दिन पानी धेरै परेकाले बिहानै देखि पहिलेभन्दा मन डराइरहेको बताइन । ‘हामीलाई त्यति डर लाग्दैन थियो । त्यही भएर पनि दुर्गममा काम रोजेका थियौ तर खै त्यो दिन मेरो मन डराएको थियो तर पनि यात्रा सुरु गरेको थिए,'उनले भनिन,‘यस्तो हुनु रहेछ र त्यस्तो अनुभव भएको थियो होला मलाई ।'
धेरै बेर चेतकुमारीले कुराकानी गरेपछि प्रीतिले सहास जुटाउँदै भनिन,'मलाई मेरो भन्दा मिल्ने साथी गुमाए । उनी भेटिएको भए कति राम्रो हुन्थ्यो होला । अब उनको घरमा मैले के जवाफ दिने ? ' प्रीतिले काठमाडौं आउन हेलीकप्टर पाए पनि भाइरल ज्वरो फैलिएको अर्को गाउँमा काम गरिरहेकी रञ्जनासँगै हिडेर काठमाडौं आउन लागेकी थिइन । ‘साथीका लागि मैले हेली छोडेको थिए । तर तीनैले मैलाई बीच बाटोमै छोडेर गइन,' त्यति भन्दै फेरी उनी भक्कानिन् ।
गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आएपछि मात्रै रञ्जनाले यात्रा तय गरेकी थिइन । तर उनको त जीवनकै यात्रा टुङगियो । उहिया गाविस र केरौंजा गाविस जोड्ने बुढीगण्डकीको पुलबाट ५० मिटर माथि पहिरो गएको थियो । उनीहरुलाई भेट्न पुगेकी सोलुखुम्बुमा कार्यरत स्वास्थ्यकर्मी शोभा खड्काले पहाडी भेगमा यो बेला धेरै नै पहिरो आउने गरेको बताउँछिन । उनीहरुसँगै मनास्लु हिमालका लागि पदयात्रा तय गरेका अन्य १३ जना घाइते स्पेनिस नागरिकको बयोधामै उपचार भइरहेको छ ।
अस्पतालका सिइओ रवी चौधरीका अनुसार घाइतेमध्ये पाँच जनाको विभिन्न भागको शल्यक्रिया गरिएको छ । बिहिबार गएको पहिरोमा परी पिक हिमालयन एड्भेन्चर ट्रेकिङ कम्पनीकाका एक स्पेनी नागरिक, ट्रेकिङ कम्पनीका कर्मचारी काठमाडौं गोकर्णका ३५ वर्षीय दोर्जे लामा, सोही ठाउँकै ३० वर्षीय छिरी शेर्पा र प्रितिकी साथी रञ्जना बस्नेतको मृत्यु भएको हो । मृतक तीन जनाको शव उद्धार गरिएको छ ।
रञ्जनाको शव भने बुढीगण्डकी नदीले बगाएकाले फेला पार्न सकिएको छैन । रातभरि ठूलो पानी पर्दा भूकम्पले कमजोरबनाएका पहाडबाट पहिरो खसेको हो । ‘त्यो भेगका धेरै ठाउँमा पहिरो गइरहने भएकाले गाउँलेहरु मनाङको बाटो भएर हिँड्ने गर्छन ।
खच्चड पनि हिँड्न सक्दैनन ,' चेतकुमारीले भनिन,‘ हामीले आज त पहिरो आउँदैन होला भन्ने सोचेका थियौ तर त्यही पहिरोले यस्तो अवस्थामा पुर्यायो, अव त्यहाँ काम कसरी गर्ने सोच्न सकेको छैन । '