शुद्धीकरण कि सुदृढीकरण

शुद्धीकरण कि सुदृढीकरण

माकुराले आफैँ भित्रबाट निस्केको रेसाबाट जालो बुन्ने गर्छ । माकुरामा अन्तरनिहित क्षमतालाई स्वयं माकुराले प्रकट मात्र गरेको हो । मानिसको अन्तरसंस्करणको शुद्धीकरणबाट पनि थुप्रै सम्भावनाको मुहान प्रस्फुटन हुन सक्छ । माकुरामा त जालो बनाउन सक्ने रेसा निहित छ भने सर्वोत्तम प्राणी मानवको अन्तरसंस्करणलाई ठीक ढंगले खोतल्न सक्ने हो भने केके मात्र प्रस्फुटन हुन सक्छ, यसको तथ्य विज्ञान स्वयंले पनि आजसम्म पत्ता लगाउन सकेको छैन ।

हामी अहिले संस्थागत विकास र सुदृढीकरणको मुद्दामा बहस गरिरहेका छौँ । यो बहसमा आआफ्नै तर्क र रोडम्याप पनि देखा पर्ने गरेका छन् । सुदृढीकरणको मुद्दामा वादविवाद, संवादको गुन्जायस जहिले पनि कायम रहने भएकाले पुनर्संरचना, पुनर्गठनको विषयमा सहमति-असहमति बन्ने र भत्किने प्रक्रियालाई सामान्य रूपमा लिन सकिन्छ । सुदृढता उपलब्धि हासिलको अवस्था भएकाले यसको मूल्यांकन आलोचना उपलब्ध परिणामका आधारमा गरिन्छ ।

शुद्धीकरण भने निर्विकल्प अनन्तको अवस्था हो । यो सापेक्ष-निरपेक्ष दुवै अवस्थामा उत्तिकै सक्रिय, अभिन्न र अविछिन्न रूपमा देखा पर्छ । शुद्धीकरणको जगमा टेकेको सुदृढीकरणले मात्र सान्दर्भिक परिणाम दिन सक्छ, हाम्रो सन्दर्भमा पनि । जुनसुकै विषयको लागि आवश्यक पर्ने सर्वस्वीकार्यको फराकिलो फाँट शुद्धीकरणकै जगमा टिकाउन सकेमा मात्र प्राप्त उपलब्धिको संस्थागत विकास र सुदृढीकरणको मुद्दा स्थापित गर्न सकिन्छ, विचार र सिद्धान्तको संग्रहलाई हक अधिकारको स्वरूपमा संविधान, कानुनमा लिपिबद्ध गर्दैमा फराकिलो फाँट हासिल हुन सक्दैन ।

यसको लागि शुद्धीकरणको मर्म र भावसँग अभिभाज्य रूपमा जोडिएका देहायका विषयमा ध्यान दिनु आवश्यक छ-

छेस्काको जस्तो भ्रम त्यागौँ

अविरल बगिरहेको नदीको बीचमा कहिलेकाहीँ ससाना छेस्का देखा पर्ने गर्छन् । यी छेस्कालाई आफूले नदीको बहाब नै रोकिदिएको भ्रम परिरहेको हुन्छ भनेजस्तै हामीकहाँ पनि हरेक क्षेत्रमा समाजसुधारक छेस्काको चुरीफुरी निकै सक्रिय रहेको देखिन्छ । परिआएको बेला सिन्को नभाँच्ने, अशुद्धीकरणको महाजन्जाल र सन्जालकै संरक्षणमा व्यक्तिगत लाभका लागि भौंतारिने यस्ता छेस्कामा निर्भर रहने बाध्यताबाट मुक्ति नपाएसम्म शुद्धीकरणसहितको सुदृढीकरणको मुद्दा एकादेशको कथा मात्र हुन जानेछ ।

 

गौरवमय परम्पराको ह्याङओभरबाट मुक्ति

चलन, प्रचलनमा रहेका मान्यता, व्यवहार, शैलीमा समयानुकुल परिमार्जन गर्न नसक्ने हो भने विगतकै मान्यतालाई गौरवमय परम्पराको उपमा दिई त्यसैको सेरोफेरोमा समस्या समाधानका उपायको खोझी भइरहन्छ । हामीकहाँ अहिले पनि नयाँ सिसीमा पुरानो रक्सी भनेजस्तै भाँडो अर्थात् साधनमा आमूल परिवर्तन भएको छ, तर राष्ट्रिय स्वभाव चरित्रमा भने खासै परिवर्तन हुन सकेको छैन ।

केही समय झुक्याउनको लागि सिसीमा नयाँ ब्रान्ड नाम पनि राख्न सकिएला तर त्यसले रक्सीको स्वाद र गुणमा भने परिवर्तन ल्याउने होइन भन्ने कुरा आम नागरिक बुझ्न थालेको धेरै भइसक्यो । गुण, दोषको फरकमा जनताको के सरोकार भन्ने भ्रममा नपरौं अन्यथा यो पनि छेस्काको जस्तै भ्रम हुनेछ ।

होस्टे त धेरै भए तर हैंसे खोइ

देश उँभो लगाउने कामका ठेकेदारहरू हाम्रो समाजमा थुप्रै देखा परेका छन, केही त निकै संगठित पनि छन् । यिनीहरूको होस्टेमा हैंसे गर्न कोही किन तयार हुँदैनन् भन्ने समाजको मनोविज्ञानलाई वस्तुपरक ढंगले बुझ्न आवश्यक भइसकेको छ । भनिन्छ- सबै कुरा मरे पनि विश्वास मर्नु हँदैन ।

समाज, संगठन, सेवाप्रदायकको सक्रियता अभिवृद्धिको लागि आवश्यक पर्ने उपयुक्त संयन्त्रको पुनर्गठन, पुनर्संरचना, सुदृढीकरणको मुद्दालाई शुद्धीकरणको जगमा टेकाउने सत्प्रयास गरौं ।

त्यसैले यही प्रणाली यिनी, हामीले नै शुद्धीकरणको अभियानलाई सुदृढ ढंगले अघि बढाउन सक्छौँ भन्ने विश्वास भाव जागृत गराउन सक्नु नै हाम्रोसामुको सबैभन्दा ठूलो चुनौती हो । समाजमा देखा परेका विभिन्न खाले विचलनका कारण नै वाधा-अड्चन उत्पन्न भएका हुन् । यसलाई थप बिग्रन नदिई नयाँ शिराबाट शुद्धीकरणको अभियानलाई सञ्चालन गर्नुको विकल्प छैन ।

हामीले हासिल गरेका हालसम्मका उपलब्धिको व्याख्या, अनुवाद त खुबै गरिए, तर यसको अनुभव भने हुन सकेको छैन । आमनागरिकले समान ढंगले समृद्धि, परिवर्तनको अनुभव नै गर्न नसक्ने उपलब्धि पनि के उपलब्धि यो त प्रयोगशालाको अर्को प्रयोगको प्रयास मात्र भइरहने भो ।

तसर्थ समाज, संगठन, सेवाप्रदायकको सक्रियता अभिवृद्धिको लागि आवश्यक पर्ने उपयुक्त संयन्त्रको पुनर्गठन, पुनर्संरचना, सुदृढीकरणको मुद्दालाई शुद्धीकरणको जगमा टेकाउने सत्प्रयास गरौं अन्यथा समय ढल्किँदै गयो भने थेग्नै नसक्ने गरी असन्तुष्टि सल्किँदै जाने खतरा पनि बढ्दो छ ।

असन्तुष्टहरू स्वभावैले अराजक, उद्दण्ड र हिंस्रक हुने गर्छन् । आगामी दिनका सुरक्षा चुनौतीका प्रमुख कारण पनि यही बन्न सक्छन् भन्ने मेरो व्यक्तिगत अनुभवमा आधारित अनुमान छ । मेरो व्यक्तिगत अनुमान गलत सिद्ध होस् भन्ने कामनासहित मैले पनि अन्य सर्वसाधारणले जस्तै उन्नत, समृद्धि शान्त समाजको सपना साँचेको छु आफ्नै जीवनकालमा ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.