अब ९ सय स्थानीय तह
काठमाडौं: सत्ता पक्ष र प्रतिपक्ष हाल कायम रहेको इलाकालाई स्थानीय तह बनाउन सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्ता पक्षका कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी एमालेका शीर्ष नेताहरूको बैठकमा हाल कायम रहेका नौ सय २७ इलाकालाई आधार बनाएर स्थानीय तहको पुनर्संरचना गर्न सहमत भएको हो । प्रधानमन्त्री दाहालले इलाकालाई आधार बनाएर स्थानीय तह पुनर्संरचना गर्न राखेको प्रस्तावमा कांग्रेस र एमालेका नेताहरूले सहमति जनाएका हुन् ।
'नगरपालिकामा गाभिएका गाविसबाहेक अन्य गाविसको अवस्थाबारे जानकारी लिएर पुनर्संरचना गर्दा नौ सयको वरिपरि रहने देखिन्छ । त्यसैका आधारमा स्थानीय तह पुनर्संरचना गर्न तीन दल सहमत भएका छन्', प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अन्नपूर्णसँग भने, 'त्यही सहमतिका आधारमा सीमांकनलगायतका प्राविधिक विषय मिलाउने जिम्मा स्थानीय तह पुनर्संरचना आयोगलाई दिइनेछ ।' आयोगले पाँच सय ६५ वटा स्थानीय तहको प्रस्ताव गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुरानै संरचनामा स्थानीय निकाय निर्वाचन गराउनुपर्ने बताउँदै आएका थिए भने माओवादी केन्द्र र एमालेले नयाँ संरचना बनाएर स्थानीय तहको निर्वाचन गरिनुपर्ने तर्क गर्दै आएका थिए । हाल ७५ जिल्लामा दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाविस छन् । दलीय सहमतिका आधारमा टीओआर संशोधन गरी आयोगलाई निर्देशन दिइने खनालले जानकारी दिए ।
कांग्रेस, एमाले र माओवादी केन्द्र चैतमा निर्वाचन गराउने बताउँदै आएका छन् भने मधेसी दलका नेताहरूले संविधान संशोधनमा आफ्ना माग सम्बोधन नभएसम्म चैतमा स्थानीय तहको निर्वाचन हुन नदिने अडानमा छन् ।