रक्तदान, दयावीरसिंह र परोपकार संस्था
दान आफैंमा महत्त्वपूर्ण हो । यसले मान्छेमा रहेको स्वार्थ त्यागको भावना प्रतिबिम्बित गर्छ । दान पनि धेरै किसिमका हुन सक्छन्- धनदान, अन्नदान, भूमिदान, नेत्रदान आदि । तर यी दानहरूभन्दा पनि अति उत्कृष्टतम् दान हो- रक्तदान । कुनै स्वस्थ व्यक्तिले रोगले ग्रस्त भएर रगतको कमी हुन गई मरणासन्न अवस्थामा पुगेका रोगीको जीवनको लागि आफ्नो शरीरको रगत दिने कार्य नै वास्तविक अर्थमा रक्तदान हो । रक्तदान मानव स्वास्थ्यसँग सम्बन्धित अति विशिष्ट सामाजिक सेवा हो । एकजना व्यक्तिबाट दिइएको एक थोपा रगतले अर्को एकजना व्यक्तिको जीवन संरक्षण हुने हुनाले नै रक्तदानलाई जीवनदान पनि भनिएको हो ।
नेपालमा रक्तदानको परम्पराको प्रारम्भ गर्ने पहिलो व्यक्ति अग्रणी समाजसेवी दयावीरसिंह कंसकार हुनुहुन्छ । उहाँले नै अर्काको लागि सर्वप्रथम रक्तदान गर्नुभएको हो । जतिखेर नेपालमा निरंकुश राणाशासन थियो, जनताको पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता दासताभित्र कैद थिए । सेवा, परोपकार, दया र करुणाजस्ता उच्च मानवीय भावना आफ्ना हृदयमा हुँदाहुँदै पनि मान्छेलाई बाहिरी व्यवहारमा प्रकट गर्न प्रतिबन्ध थियो ।
अनि जातभात, छुवाछूत, डर, त्रास र अन्धविश्वासको भावना समाजमा व्याप्त थियो । त्यस्तो बेलामा उहाँले अन्तरात्माबाट प्रेरित भएर स्वतस्फूर्तरूपमा रक्तदान गर्नुभएको थियो । यो घटना २००० सालको हो । त्यसबेला जुद्धशमशेर प्रधानमन्त्री थिए र वीर अस्पतालका सुपरिन्टेन्डेन्ट डा. देवव्रतदास गुप्ता थिए । रोगले सिकिस्त भएर भर्खर ल्हासाबाट फर्केर वीर अस्पतालमा भर्ना भएका रत्नकाजी तुलाधर रगतको कमीले मरणासन्न अवस्थामा थिए । आफ्नो छोराको रगतको कमीकै कारणले मृत्यु हुन लागेकोमा उनकी आमा छट्पटाइरहेकी थिइन्, रोइरहेकी थिइन् ।
त्यही समयमा दयावीससिंह कंसकार कामविशेषले साथी सुपरिटेन्डेन्ट डा. देवव्रतदास गुप्तालाई भेट्न वीर अस्पताल पुग्नुभएको थियो । बाटोको एक कुनामा एकजना अधबैंसे महिला रोइरहेको देखेपछि 'किन रुनुभएको आमै ? ' भनी उहाँले अनायास सोध्नुभएछ । उत्तरमा ती महिलाले रुँदै उनको सिकिस्त एक्लो छोरालाई जति सक्यो चाँडै रगत दिइएन भने बाँच्ने सम्भव छैन भनी डाक्टरले भनेको बताइन् । उहाँले उतिखेरै ती स्वस्थ शरीर भएकी मोटीघाटी र हृष्टपुष्ट आमालाई आफैंले रगत दिन प्रेरित गर्नुभयो ।
तर डर, त्रास र अन्धविश्वासका कारणले आफूलाई नै केही पो हुने हो कि भनेर उनी डराइन् र आफ्ना छोराको लागिसमेत रगत दिन तयार भइनन् । दयावीरले त्यो दृश्य टुलुटुलु हेरिरहन सक्नुभएन । उहाँले तत्काल आफ्नो रगत परीक्षण गराई रत्नकाजीको लागि चाहिनेजति रगत दिनुभयो र उनको जीवन बचाउनुभयो । यो स्वयंसेवामूलक कार्य नेपालको इतिहासमै अद्वितीय र अभूतपूर्व घटनाको रूपमा स्वर्णाक्षरमा अंकित छ ।
उहाँको यही उच्च मानवीय भावनायुक्त कार्यबाटै नेपालमा अन्धविश्वासका कारणले रगत दिन डराउने प्रवृत्तिमा परिवर्तन आयो । रगत दिँदा मर्नै लागेको मान्छे पनि बाँच्ने रहेछ र आफ्नो स्वास्थ्यलाई पनि कुनै असर पर्दो रहेनछ भन्ने प्रभाव र प्रेरणासमेत सम्पूर्ण युवायुवतीमा जागृत हुन थाल्यो । यसरी नेपालमा दयावीरसिंह कंसाकारको उत्कृष्ट स्वयंसेवामूलक कार्यबाट रक्तदानको परम्परा सुरु भएको हो र 'रक्तदान जीवनदान' भन्ने भावना विकास भएको हो ।
सर्वप्रथम व्यक्तिगत ढंगले स्वयंसेवामूलक रक्तदानको सुरुआत गर्नुभएका दयावीरसिंह कंसकारले नै संस्थागत स्वयंसेवामूलक रक्तदानको परम्परालाई पनि अगाडि बढाउनुभएको हो । २००० सालमा उहाँबाट भएको पहिलो रक्तदान कार्य र २००१÷२ सालतिर काठमाडौंमा महामारीका रूपमा फैलिएको हैजाको प्रकोपबाट पीडित बिरामीको सेवा र उपचारको लागि असंख्य युवायुवतीलाई स्वतः स्फूर्त रूपमा स्वयंसेवामा परिचालन गर्दै आफ्ना पवित्र स्वयंसेवालाई मूर्तरूप दिने क्रममा २००४ साल असोज १० गते स्थापना गर्नुभएको 'परोपकार औषधालय' २००७ सालपछि 'परोपकार संस्था' का रूपमा रूपान्तरण भई सेवाकार्यलाई व्यापकता दिइएको हो ।
राणा शासनकाल जस्तो निरंकुशताका बेलामा कुनै पनि संघसंस्थाको स्थापना हुनु अनौठो र अस्वाभाविकजस्तै थियो भने अझ धेरैभन्दा धेरै जनताको स्वास्थ्य सेवासँग सम्बन्धित 'परोपकार' जस्तो लोककल्याणकारी सामाजिक संस्थाको स्थापना हुनु त झनै असम्भव प्रायः नहुने कुरै थिएन । तर पनि उहाँका सेवा, समर्पण भाव र त्यसको संस्थागत विकासको लागि निरन्तर उहाँले गर्नुभएको संघर्षका कारणले 'परोपकार संस्था' विधिवत् स्थापना हुन सकेको कुरालाई बिर्सन सकिँदैन ।
यसरी 'परोपकार संस्था' को स्थापनासँगै नेपालमा स्वयंसेवामूलक रक्तदान आन्दोलनले संस्थागत रूप प्राप्त गर्यो ।
समाज सेवाका सुविख्यात शिखर पुरुष दयावीरसिंहले सुरु गर्नुभएको रक्तदानको पुनीत अभियानमा परोपकारका सयौं कर्मठ स्वयंसेवक कार्यकर्ताले आफूहरूलाई समेत सहभागी गराउनुभयो । 'परोपकार संस्था' ले निःशुल्क स्वास्थ्योपचार र औषधी वितरण, एम्बुलेन्स सेवाका साथै बिरामीका निमित्त आवश्यक रगत नियमित रूपमा उपलब्ध गराउने कार्य २०१७ सालपछि आन्दोलनकै रूपमा सञ्चालन गर्यो । यसको लागि 'परोपकार संस्था' ले हजारौं स्वयंसेवकहरूलाई व्यवस्थित रूपमा परिचालन गर्यो । गरिब र असहायले मात्र होइन, धनी र समृद्ध परिवारका व्यक्तिले पनि आवश्यकताअनुसार रगत नपाएर मर्न बाध्य हुनु परिरहेको बेलामा 'रक्तदान जीवनदान हो' भन्ने मानवीय भावना हृदयंगम गरी 'परोपकार संस्था' ले गरिब-धनी, ठूलो जात, सानो जात भन्ने कुनै भेदभाव नराखी रक्तदाता स्वयंसेवकहरूको व्यवस्था गरेको हो ।
सुरुमा वीर अस्पताल र शान्तभवन अस्पतालमा बिरामीहरूको लागि रगत चाहिनेबित्तिकै परोपकारका स्वयंसेवकहरू रक्तदान गर्न अस्पतालमै पुग्दथे । परोपकार संस्थाबाट २०१० सालमा शिलान्यास भई २०१६ सालमा 'परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूति गृह' को स्थापना भएपछि त्यहाँ पनि आवश्यक रगत दिने कार्य परोपकारकै स्वयंसेवकहरूले गरेका हुन् । अस्पताल र बिरामीहरूबाट आग्रह हुनासाथ परोपकारले आफ्ना स्वयंसेवकहरूबाट निःशुल्क रक्तदान गर्ने व्यवस्था गरेको थियो ।
पछि विभिन्न समुदाय-समुदायमा गई सबैलाई रक्तदानको लागि संस्थाले प्रेरित गर्दा भरियाहरूसमेतलाई यथोचित पारि श्रमिक दिई व्यवस्था गर्न थालियो । तर ती भरियाहरूले भारी बोक्नुभन्दा बढी कमाउन सकिएपछि रगत दिइएको ६ महिना पनि नपुग्दै लुकीछिपी फेरि रक्तदान गर्न आउने गरेकाले उनीहरूको स्वास्थ्यस्थिति ख्याल गरी अभिलेखीय कार्ड दिने व्यवस्था गरिएको समेत यस क्षेत्रमा लागेका धेरैलाई ज्ञात हुनुपर्छ ।
'परोपकार संस्था' ले आफ्ना स्वयंसेवकहरूको रक्तसमूह परीक्षण गरी पहिचान गर्ने र अस्पतालबाट माग हुनासाथ आवश्यक समूहको रगत उपलब्ध हुने व्यवस्था पनि गरेको थियो । परोपकारका रक्तदाता स्वयंसेवकहरूमा पुरुषहरू मात्र होइन, महिलाहरू पनि थिए । यसरी 'परोपकार संस्था' बाट रक्तदान आन्दोलन सुरु भएको हो । परोपकारका हजारौं स्वयंसेवकले रक्तदान गरी यस आन्दोलनलाई ऐतिहासिक बनाएका हुन् भन्नेमा दुईमत छैन ।
परोपकारका पिता श्रद्धेय दयावीरसिंह कंसकारको उत्कृष्ट सेवा र सपनाअनुरूप 'परोपकार संस्था' ले स्थापना गरेको 'परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूति गृह' मा २०२८ साल कात्तिक महिनामा एनिमा रोग लागेकी एकजना बालिकालाई पूरै रगत परिवर्तन गरी बचाएको कुरा पनि यहाँ विशेष उल्लेखनीय छ । निशाकेशरी नाम गरेकी ती बालिकाका पिताको रगत आर.एच ग्रुप ए पोजिटिभ र आमाको रगत ए नेगेटिभ भएकाले यी बालिका पहेंलो वर्णकी थिइन् ।
'परोपकार संस्था' अन्तर्गत परोपकारकै स्वयंसेवकहरू रक्तदानबाट प्रसूतिगृहका तत्कालीन अवैतनिक बालविशेषज्ञ डा. बद्रीराज पाण्डेले यो कार्य सफलतापूर्वक सम्पन्न गर्नुभएको हो र यो पनि नेपालमा सर्वप्रथम भएको ऐतिहासिक कार्य हो । यसप्रकार पुनर्जीवन प्राप्त गरेकी ती बालिका हामीलाई प्राप्त सूचनाका आधारमा बिहेवारी भई व्यवस्थित घरजम गरी बसिरहेको स्मरणीय छ ।
रक्तदानलाई महान् अभियानका रूपमा अस्पतालदेखि घरदैलोसम्म पुर्याउने 'परोपकार संस्था' ले 'परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूति गृह' मा ब्लड बैंक स्थापना गर्ने निर्णय गरी कार्यक्रम तर्जुमासमेत गरेको थियो । तर २०२१ सालपछि स्थापना भएको नेपाल रेडक्रस सोसाइटीबाट यो कार्य गर्न लागेको थाहा पाएपछि त्यसमा हात नहालेको विशेष उल्लेखनीय छ ।
उदात्त विचार र पवित्र उद्देश्य बोकेका मानवतावादी व्यक्तित्व साना-तिना मान-अपमान, पुरस्कार-तिरस्कार र सफलता-असफलताबाट प्रभावित भइहाल्दैनन् । उनीहरूमा निहित मानवीय निष्ठा, त्याग, सेवा र समर्पणका अगाडि ती मामुली हुन पुग्छन् । यस सन्दर्भमा दयावीरले रक्तदानको आन्दोलन सञ्चालन गर्दा उहाँको जीवनमा घटेको एउटा विशिष्ट र अविस्मरणीय घटना यहाँ उल्लेख गर्नैपर्ने देख्छु ।
'परोपकार संस्था' र दयावीरसिंहको सक्रियतापूर्ण पवित्र सेवाभाव देखेर राणाशासनकालीन जर्नेल चन्द्रबहादुरले धेरै दुःख दिएका थिए । साथै लोकबहादुरले त झन् ईष्र्याले ग्रस्त भएर एकपटक दयावीरसिंह कंसकारलाई यस्तो भनेछन्, 'तँलाई नेल ठोकेर जेलमा हालेको यही आँखाले देख्न पाऊँ ।' तर दयावीर मुसुमुसु मात्रै हाँसी मानवीय सेवामै तल्लीन थिए, कुनै प्रतिक्रिया जनाउनुभएन । आफ्ना सेवा यात्रामा अविचल लागिरहनुभयो । त्यसको केही दिनपछि सेवाकार्यकै सिलसिलामा उहाँ वीर अस्पताल पुग्नुहुँदा त्यहाँ एकजना बिरामी खास्टो ओढेर बसेको उहाँले देख्नुभयो । 'तपाईंलाई चिनेजानेजस्तो लाग्छ, तपाईंलाई के भयो ? ' भनेर दयावीरले सोधेपछि उनी क्वाँ-क्वाँ रोएछन् ।
त्यसपछि आफूलाई देखेर किन रोएको भनी दयावीरले सोध्दा उनले आफ्नो नाम लोकबहादुर भएको र आफूलाई रगत चाहिएको बताए । रगत नपाए आफू मनुपर्ने समस्या पनि राखे । संयोगको कुरा, उनी पहिले दयावीरले गरेको पवित्र रक्तदान र मानव सेवाकार्यलाई सहन नसकी उहाँलाई 'नेल ठोकेर जेल हालेको हेर्न पाऊँ' भन्ने तिनै लोकबहादुर नै रहेछन् । तर पनि मानवीय सेवामा कहिल्यै शत्रु हुँदैन, मित्र मात्रै हुन्छन् भन्ठान्ने दयावीरले तुरुन्तै रगत दिई सेवा नै परम् धर्म हो भन्ने मानवीय भावनाबाट प्रेरित भएर उनलाई उपकार गर्नुभएको थियो ।
यस प्रकार २००० सालदेखि आजसम्म दयावीरसिंह र 'परोपकार संस्था' द्वारा गरिएको स्वयंसेवामूलक ऐतिहासिक रक्तदान कार्यले धेरै मानिसको जीवन रक्षा भएको छ भने धेरैलाई रक्तदान गर्ने असीम पे्ररणा प्राप्त भएको छ । त्यसैले रक्तदान परोपकारको मौन तपस्या र मानव कल्याणको जिउँदो प्रतीक बनेको छ । रक्तदान परोपकारको जीवनदान योजना बन्दै आएको छ र यस योजनाबाट असंख्य बिरामीहरूले जीवन पाएका छन् ।
दयावीरसिंह कंसाकार र 'परोपकार संस्था' ले रक्तदान कार्यको सुरुआत र विस्तार गर्दा रक्त परीक्षण गर्न आवश्यक पर्ने अहिलेका जस्ता वैज्ञानिक साधनस्रोत थिएनन् । तर आज नेपालमै 'ब्लड बैंक' को स्थापना भइसकेको छ र रक्तदान कार्य पनि सहज र व्यापक बन्दै गएको छ । त्यसबेला परोपकारबाटै स्वयंसेवी रक्तदाताहरूको संगठनको काम सम्हाल्थ्यो भने त्यसैको पृष्ठभूमिमा अहिल्यै 'ब्लड डोनर्स एसोसिएसन' को समेत गठन भइसकेको छ ।
तर आज मनुष्यमा एचआईभी एड्स हेपाटाइटिस बी र सी आदि जस्ता उपचार गर्नै गाह्रो हुने रोगहरू पनि देखा परिसकेका छन् । यस्तो अवस्थामा रगत दिँदा वा लिँदा अति सुरक्षित ढंगले रक्त परीक्षण गर्ने प्रणालीको समेत विकास भइसकेको छ । अनि सुई, सिरिन्ज आदिको प्रयोग गर्दा पनि सरसफाइमा ध्यान पुर्याउन सके मात्रै संक्रमित रगतबाट बच्न सकिन्छ र सुरक्षित रक्तदान गरेर रोगीहरूमा नयाँ जीवन सञ्चार गर्न सकिन्छ ।
-कंसाकार परोपकार संस्थाका अध्यक्ष हुन् ।