'मधेसको शोषण र दमन अन्त्य गर्नुपर्छ'
काठमाडौं: नेकपा एमालेका नेता माधवकुमार नेपालले मधेसी जनताको मागलाई मधेसीका मागका रुपमा मात्र हेर्न नहुने बताएका छन्।
प्रेस चौतारी नेपाल मधेस मामिला समन्वय विभागले सोमबार गरेको ‘मधेसका सवाल र समाधानका उपाय’विषयक अन्तक्रियामा नेपालले भने,'राष्ट्रले लिएको नीति र संविधानको मूल मर्मका आधारमा मधेसको विकास गर्नुपर्छ, त्यहाँको शोषण र दमन अन्त्य गर्नुपर्छ।'
नेता नेपालले एमालेलाई मधेस विरोधी भनेर आरोप लगाउनुमा कुनै सत्यता नरहेको भन्दै मधेसी जनताको मुक्तिका निम्ति सबै मधेसी एकताबद्ध हुनुपर्ने बताए।
अनेकतामा एकता भएको देशमा सबै नेपालीको भावना र विचारलाई कदर गर्नुपर्ने बताउँदै उनले भने,'नेपालीसंग विदेशी नागरिकले विवाह गर्नेबित्तिकै नागरिकता पाउन सकिन्छ तर मुलुकको हितका दागि अङ्गीकृत नागरिकले राज्यको संवैधानिक प्रमुख पदमा जानुपर्छ भन्नु ठीक होइन र यो मधेसीको माग पनि होइन।'
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या राष्ट्रकै समस्या भएकाले सबैले लचिलो भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
राष्ट्रियताको मुद्दामा नझुकी अरु कुरामा सहमतिका साथ अगाडि बढ्नुपर्ने भन्दै उहाँले मधेसको समस्या निराकरण गर्न सबै दलले ध्यान दिनुपर्ने बताए।