मोटर चढेर सरर ससुराली !
गएको शनिबार एक कार्यक्रममा डा. रामशरण महतले भने, 'नेपाल अहिले हल न चलको अवस्थामा छ । यो सकसमा तड्पिनबाट मुलुकलाई जोगाउने हो भने आर्थिक विकासमा कम्मर कसेर लाग्नुपर्छ । अर्थतन्त्रलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुको विकल्प नै छैन । देशलाई समृद्ध बनाउने एउटै उपाय बाँकी छ र त्यो हो- अर्थतन्त्र, अर्थतन्त्र र फेरि पनि अर्थतन्त्र !'
नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन कठोर निर्णयहरू लिने बेला आएको भन्ने नै डा. महतको भनाइ थियो । तर सरकारमा पुगेकाहरू लोकप्रिय निर्णय गरेर हिरो बन्न लागिरहेका छन् । महतले भने, 'कठोर र अप्रिय निर्णयहरू नगर्ने हो भने देश बनाउन सकिँदैन ।'
महतको भाषण सुनेर त्यसैमा दिमाग चलिरहेका बेला दुईवटा खबरसँग मुठभेड भयो । पहिलो, कृषि ऋण लिएर व्यवसाय गरिरहेको साथी चर्को ब्याज (१८ प्रतिशत) ले गर्दा मर्नु न बाँच्नुको अवस्थामा पुगेको र अर्को, साँझको टेलिभिजनमा समाचार सुन्न टीभीअगाडि बसेको मात्र के थिएँ, एउटा आकर्षक विज्ञापन बज्न थाल्यो, ढिला नगर्नु होस्, साढे चार प्रतिशत ब्याजमा गाडी उपलब्ध छ ! २० प्रतिशत मूल्य तिर्नुहोस् र सररर गाडी कुदाएर दसैंमा टीका लगाउन ससुराली जानुहोस् !
दुवै खबरले रन्थनाइरहे । राष्ट्रिय अर्थतन्त्र उपभोक्तावादी भएको कारको विज्ञापनबाट सावित भएको छ । 'खाओ, पियो मोज करो' संस्कृति नेपालमा हावी भएको उदाहरण हो यो । उत्पादन नगर्ने अनि ऋणमा किनेको कार चढेर हिँड्न थालेपछि भएको पैसा सकिन्छ । कार चढ्न उत्पादनमुखी हुनैपर्छ । अमेरिकामा काम गर्नेले कार चढ्छ तर यहाँ घर बस्नेले गाडी किन्छ । डा. महतको आर्थिक विश्लेषणले अझ गम्भीर बनायो ।
यिनले पहिलोपटक बजेट बनाउँदा देशको राजस्व १२ अर्ब रुपैयाँ मात्रै थियो, अहिले त्यो पाँच सय ६२ अर्ब पुगेको छ । यसको जस 'कन्जुस' महतलाई दिनुपर्छ । उनले भने,'अर्थमन्त्रीले वितरणमुखी होइन, उत्पादनमूलक क्षेत्रमा र विकास निर्माणमै खर्च गर्नुपर्छ, अनुत्पादक क्षेत्रमा होइन ।'
पञ्चायती निरंकुशतामा नेपाली अर्थतन्त्र खुम्चिएकाले आधुनिकीकरण ठप्प थियो । पैसा चलायमान थिएन । लाइसेन्सराज कायम थियो । यिनै महतको आर्थिक नीतिले नेपाललाई आधुनिक अर्थतन्त्रको ढोका खोलेर हाइ वेमा ल्याएको हो । खुला उदार अर्थनीतिले बन्द नेपाललाई खोल्यो । आर्थिक क्रियाकलापहरू बढे । आर्थिक क्षेत्र चलायमान देखिन थालिहाल्यो । उदार अर्थतन्त्रका अवयवहरूले परिवर्तन गराउँदै आर्थिक जीवनको ढोका नै खोल्यो । यसपछि नै हो सामन्ती घरानिया सम्बन्ध तोडेर यही नीतिले आधुनिक जीवनको सुरुआत गरेको ।
यसपछि आर्थिक पाटो सबैका लागि खुल्यो । अर्थतन्त्रमा सबैको एक्सेस सुरु भयो । हरेक नागरिकको उद्यमशीलतामा पहुँच पुग्यो । छोटो समयमै घरानिया, सामन्त र पारिवारिक जकडमा रहेको अर्थतन्त्र सर्वसाधारणको हातमा आइपुग्यो । आर्थिक समृद्धिको बाटो खुल्न थालेपछि देशभरका जनतामा चहलपहल बढ्न थालिहाल्यो ।
गाउँबाट सदरमुकाम र त्यहाँबाट क्षेत्रीय सहरहरूमा बसाइँसराइ व्यापक रूपमा मात्र भएन, क्षेत्रीय सहरहरूबाट बसाइँसराइ र उद्यमशीलता राजधानीमा पनि हुन थाल्यो । झापा, विराटनगर, धरान, हेटौंडा, नारायणगढ, पोखरा, भैरहवा, बुटवल, नेपालगन्ज, धनगढी जस्ता सहरहरू व्यापक रूपमा बदलिए, विस्तार भए ।
यही बेलादेखि अमेरिका, युरोप, अस्ट्रेलिया, जापान मात्र होइन, मलेसिया, खाडी, अरब देशहरू खुले । त्यहाँ जान गाउँसहरका मानिस छट्पटाउन थाले । अन्ततः लाखौंको संख्यामा नेपालीहरू पुगिरहेकै छन् ।
धान, गहुँ, मकै, तोरीजस्ता अनाज उत्पादन हुने तर बिक्री नहुने गाउँहरूका उत्पादन त्यहीं खपत हुन थाले । गाउँमै खाद्यान्न बिक्री हुन थाले पनि आर्थिक चलायमानले वासिन्दालाई परम्परागत खेतीमा मात्र सीमित गरेन । उनीहरू फलफूल, तरकारी, दही-दूध, माछामासु, कुखुरा-हाँस उत्पादनजस्ता नगदे खेती र उत्पादन बिक्रवितरणमा लागे । पर्यटनजस्तो घरानियाहरूको नियन्त्रणमा रहेको व्यवसाय एकाएक गाइड, भरिया र उद्यमशील युवाहरूका हातमा आयो ।
अहिले स्थिति अचम्म लाग्ने गरी बदलिइसकेको छ कि ब्वाइलर कुखुरा, तरकारी, फलफूल व्यावसायिक रूपमा उत्पादन हुन थालिसकेको छ । एक समाजशास्त्रीले भने, 'ब्वाइलर कुखुरा, माछा, फलफूल र हरिया तरकारीको बाह्रै महिना उपलब्धताले नेपाली समाज तीव्र गतिमा परिवर्तन भइरहेको संकेत मात्र गर्दैन कि आर्थिक क्रियाकलापले सामाजिक-आर्थिक सम्बन्ध नै व्यावसायिक बनिसकेको पुष्टि गरिसकेको छ । पहिले गाउँमा बाँडिने तरकारी र फलफूल हिजोआज बोट र बारीमै बिक्री हुन थालेको छ । आर्थिक गतिविधिले सबैलाई तानेको मात्र छैन, चुर्लुम्मै पारिसकेको छ ।'
आर्थिक र अर्थोपार्जन मुलुकको मूल नीति बनिसकेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार पनि आर्थिक गतिविधिसँग जोडिएको छ । हरेक कुराको उत्पादन, वितरण र प्रवद्र्धनमा आर्थिक पक्ष प्रधान भएर आएको छ । हिजो शिक्षा बन्द थियो । दरबारका मानिस पढ्न दरबार स्कुल खोलिएको थियो । त्यसबाहेकका पढ्न चाहनेहरू बनारस जानुपथ्र्यो । पछि निश्चित मानिसका लागि सरकारी शिक्षा सीमित मात्रामा खुल्यो तर उदार र खुला अर्थतन्त्रले शिक्षालाई व्यावसायिक रूपमा अगाडि लिएर गयो । प्रविधिले पनि अर्थतन्त्रलाई नै गति थियो ।
हरेक कागजलाई सक्कलबमोजिम नक्कल भनेर कार्बन राखेर दुईतीन प्रति बनाउनुपर्ने बाध्यतालाई टेलिफोन, इमेल, इन्टरनेटले कहाँ पुर्यायो, पुर्यायो ? अब डोल्पा, हुम्ला, जुम्लामा समेत लाइभ कम्युनिकेसन हुन्छ । भाइबर, भिडियो च्याटले संसारभरका मानिसलाई जोडिरहेको छ । अरबमा रहेका हुन् वा मलेसियामा, नेपालको दुर्गममा रहेकी प्रेमिका वा पत्नी अथवा बाबुआमा आफन्तसँग तस्बिर हेर्दै लाइभ कुराकानीमा मोबाइल फोनसँग जोडिएको छ ।
अर्थतन्त्रले यो सबलाई सम्भव तुल्याएको मात्र छैन, अर्थतन्त्रविना जीवन चल्दैन भनेर प्रत्येक व्यक्तिलाई गतिशील बनाइरहेको छ । जन्मदेखि मृत्युसम्मका संस्कार र दसकर्मसँग छुट्ट्याउनै नसकिने गरी अर्थतन्त्र जोडिएको छ । डा. बद्री पोखरेलले भने, '६७ वटा संस्थानमध्ये ३० वटा निजीकरण भए । यसलाई लिएर कोकोहोलो मच्चाइयो तर निजीकरण भएका क्षेत्रमा निजी क्षेत्र मौलायो । बाँकीको हालत नारायणहरि नै छ । सरकारले आफूसँग राखेका संस्थानहरूबारे न नियमन र प्रवद्र्धन गर्न सक्यो न त विकल्प नै दिन सकेको छ ।'
तर नेपाल र नेपालीको दुर्भाग्य, आर्थिक पाटोको यो गतिसँग हाम्रा नेता र राजनीतिज्ञ सचेत बन्न सकेका छन् न त आफूलाई दुरुस्त राख्न नै सकेका छन् । विज्ञान, प्रविधि, सिद्धान्त र आर्थिक पाटोको विधि, बहस र मोडेललाई हाम्रो नेतृत्वले हृदयंगम नै गर्न सकेको छैन । कार्यान्वयन धेरै टाढाको जिनिस बनेको छ ।
त्यसैले परम्परागत मानसिकता र सोचले गर्दा साह्रा परिवर्तनलाई ड्राइभ गर्ने अर्थतन्त्र भए पनि हावी राजनीति भइरहेछ । तर राजनीति गर्नेहरू मध्ययुगीन सोचले ग्रस्त छन् । उनीहरू मिति गुज्रिएका विचार लिएर नेतृत्व कब्जा गरेर बसेका छन् । बूढो साँढेले कोरली बाच्छी ओगटेझैं नेपाली समाजलाई गिजोलिरहेछन् ।
स्वदेशमा अवसरको अभावमा नेपाली उद्यमीहरू युरोप, अमेरिका, अफ्रिका, पूर्वी एसियामा बेपार गर्न गइरहेछन् । पार्टनरसिपको बेपार, ठेक्कामा हात हालेर सफलताको सिँढी उक्लिरहेका छन् । अरू क्षेत्रको कुरा छोडौं, खासमा दैनन्दिनको राजनीति पनि अर्थतन्त्रले हाँकिरहेको छ । कर्मचारीतन्त्र हरिया दाँत देखाएर अर्थतन्त्र नै खोजिरहेछ । कर्मचारीभित्रै जो मालदार ठाउँमा छ, उसलाई सबैले नमस्कार गर्छन् ।
राजनीतिज्ञ पनि त्यसैको परिक्रमामा व्यस्त देखिन्छ । पहिलाको जस्तो राज्यको पहिचान रहेन अब कर्मचारी ! कसले कति खान्छ ? कति कमाउँछ ? कसको बजार गरमागरम छ । लोकसेवामा जागिर खान विश्वविद्यालय टप गर्ने वा विदेशमा पढेकाहरूमा रुचि छैन । बैंकिङ र निजी क्षेत्र नै तिनको रोजाइमा परिरहेको छ । अर्थात् जहाँ आम्दानी त्यहीं आकर्षण छ । हुन पनि जहाँ पैसा छ, जसले उत्पादन गर्छ प्रेस्टिज त्यहीँ रहेको छ । घरमै पनि कमाउने छोराछोरीको महत्त्व, माया प्रेम छ । नकमाउने लठुवाहरू जेठा, माइला भए पनि तिनको इज्जत, प्रतिष्ठा न समाजमा छ न त परिवारभित्रै !
अर्थतन्त्रलाई उद्यमशीलता र आर्थिक गतिविधिमा लैजाने अर्थशास्त्रीहरू र राजनीतिज्ञहरू किनारामा परेकोले नै अहिलेको गतिशून्य अवस्था रहिरहेको हो । न आफू हाँक्न सक्ने न त सक्नेलाई अगाडि बढ्न दिने ! न हाँसको चाल, न बकुल्लाको चाल नै नेपालको चाल भइरहेछ ।
सरकारी राजस्व पहिले भूमिकर, आयात-निर्यातले धानेको थियो । आफ्नो आम्दानीबाट नेपाललाई सास फेर्नै गाह्रो थियो । प्रजातन्त्र पुनस्र्थापना भएपछि निर्वाचित सरकारको १२ अर्बको राजस्व बनाउने डा. रामशरण महतहरूले पाँच सय ६५ अर्बमा पुर्याएका छन् । एक अर्थशास्त्रीले भने, इष्ट हालेर पाउरोटी फुलाएजस्तै अहिले बैंक तथा वित्तीय संस्थाहरूले अचम्मै गरिरहेछन् ! तर नेपालको अचम्म के भने, नेपालमा अहिले ३० वटा बाणिज्य बैंक छन्, जसलाई व्यापारिक घरानाले चलाएका छन् । प्रत्येक घरानाका एक-एक बैंक छन् यहाँ ।
पूर्व गभर्नर डा. युवराज खतिवडा र वर्तमान गभर्नर चिरञ्जीवी नेपाल बोलेको बोल्यै र कराएको करायै छन्- व्यापारीले बैंक खोल्ने होइन, बैंक कारोबार गर्ने होइन । तर जति पनि बैंक तथा वित्तीय संस्था खुलेका छन्, ती सबै तिनैले सञ्चालन गरिरहेछन् । ए क्लासका वाणिज्य बैंक, नभए विकास बैंक र त्यो पनि नभए फाइनान्स कम्पनी खोलेकै हुन्छन् व्यापारिक घरानाहरू । कर्मचारी, सामान्य आम्दानी र अलीअली पैसा टिप्न सक्नेहरूले सहकारी चलाएर पैसा खेलाइरहेका छन् । तर नेपालको दसै दिशा (पूर्व-पश्चिम, उत्तर-दक्षिण, आकाश-पाताल, आग्नेय-नैरिद्य, इशान-वायव्य) अर्थतन्त्रमय छ ।
जुन देश अहिले विश्व मानचित्रमा समृद्ध भनेर चिनिन्छन्, तिनको विगत न आगत हेर्ने हो भने चलायमान अर्थतन्त्रले नै ती बनेका हुन् । अमेरिका बनेको पनि अर्थतन्त्रले हो । आर्थिक उन्नति, समृद्धि र तिनका अवयवबारेका बहस, मोडेल र एक्सनले नै हो गतिशीलता ल्याउने । सिद्धान्त र दर्शनको कोरा रटाइले होइन ।
त्यसैले जहाँ आर्थिक विकास हुन्छ, त्यही गतिविधिहरू हुन्छन् । एक्सन हुन्छन् । विकास, समृद्धि र शान्ति पनि आखिर त्यहीँ हुन्छ । तर आर्थिक विकास भएन र हरेक क्षेत्र विभाजित तथा राजनीतीकरणमै रुमल्लिइरह्यो भने देश र जनता अन्योलमा पर्छन् । मुलुक पछौटेमा दर्ज हुन पुग्छ । दलाली र बिचौलिया हावी हुन्छन् । राजनीतिक नेतृत्व पनि आर्थिक दलालीमा चुर्लुम्म डुब्न पुग्छ । यसलाई बुझ्न धेरै खोजीमेलीको आवश्यकता पनि पर्दैन, प्रधानमन्त्री, मन्त्री र नेताहरूको दैनिकी हेरे काफी छ ।
अर्थतन्त्रलाई उद्यमशीलता र आर्थिक गतिविधिमा लैजाने अर्थशास्त्रीहरू र राजनीतिज्ञहरू किनारामा परेकोले नै अहिलेको गतिशून्य अवस्था रहिरहेको हो । न आफू हाँक्न सक्ने न त सक्नेलाई अगाडि बढ्न दिने ! न हाँसको चाल, न बकुल्लाको चाल नै नेपालको चाल भइरहेछ ।
गणतन्त्रका मसिहाले भन्नुपर्छ, अबको आर्थिक विकासको हाम्रो खाका यो हो । समृद्ध नेपालको लागि हाम्रा नीति योजना यी हुन् । यो क्षेत्र, समुदाय र वर्गको लागि हामी यसो गर्न चाहन्छौं भन्दै उनीहरू बहस र छलफलका एजेन्डा लिएर आउन सक्लान् ? के हाम्रो समृद्धि र आर्थिक क्रियाकलाप श्रमसँग जोडिएको हुन्छ भन्ने तिनको भेजामा होला ? जनताको पुँजीलाई चलायमान र मूल प्रवाहीकरण गर्ने योजना र कार्यक्रम तिनीहरूसँग होला ? वैदेशिक लगानी कुन क्षेत्रमा लगाउने सोच बनाएका होलान् ?
गणतन्त्रको आर्थिक विकास
पार्टीको नेतृत्व र नेताका खुट्टी देखिए । उनीहरूले आर्थिक विकासको मोडेल दिन सकेनन्, तर आर्थिक विकासलाई नै एकमात्र एजेन्डा बनाउने डा. रामशरण महत र उनीसँग सहमत हुनेहरूले पनि गणतन्त्रको आर्थिक विकासको खाका दिइरहेका छैनन् । महतले ल्याएको नीतिले एउटा आकार पनि लियो ।
अब उनले गणतन्त्रको आर्थिक विकासको मोडेल लिएर जनतामा आउन ढिला भइसकेको छ । पार्टीमा अनुमोदन गर र जनताको अनुमोदनको लागि राष्ट्रिय अर्थतन्त्रसँग जोडेर नीति कार्यक्रम निर्वाचनअगावै प्रस्तुत गर महत ! समृद्ध नेपाल नामक पुस्तक लेख्ने एमालेका रवीन्द्र अधिकारीको मोडेल कस्तो छ नि ? बहसमा लेऊ रवीन्द्र !