एकात्मकता अभियान
कुनै पनि मुलुक विविधतायुक्त हुन्छ । सहिष्णुतापूर्ण मुलुकले ती विविधताको संवद्र्धन र प्रवद्र्धन गर्दै तिनीहरूलाई राष्ट्रिय एकताका स्थायी स्तम्भका रूपमा प्रतिस्थापन गर्छन् । अर्थात् प्रजातान्त्रिक मान्यतामा राष्ट्रका सबै नागरिक समान हक, अवसरमा समान पहुँच र समान रूपले न्यायका अधिकारी मानिन्छन् ।
अर्थात् उनीहरू राष्ट्रको आत्मा र मुटुका समान ढुकढुकी हुन् । समाजमा यदाकदा जातीय, साम्प्रदायिक या असहिष्णु प्रवृत्ति देखा पर्दा राजनेताले एकात्मकताको अभियानद्वारा राष्ट्रलाई एक सूत्रमा बाँध्ने प्रयास गरेका दुर्लभ उदाहरण छन्, विश्व इतिहासमा । नेपाल त्यसको अपवाद छैन ।
पृथ्वीनारायण शाहको दिव्यदर्शनमा नेपाललाई चार जात ३६ वर्णको फूलबारी बनाउने अठोट थियो, जसलाई पूरा गर्ने दायित्वबाट उनका भावी सन्तति या नेपाली पूर्णरूपमा सफल हुन सकेका छैनन् । बरु, बाह्य आदेश र अघोषित दासत्व अनि जातीय र क्षेत्रीय विखण्डनवादको नारा र त्यसको अनुमोदनमा बाह्य समर्थन लिएर नेपालका केही राजनीतिक, जातीय र क्षेत्रीय शक्तिहरू लागिपरेका छन् ।
नेपालमा निषेधको राजनीति र बाह्य हस्तक्षेपको शृंखलाले संस्थागत रूप लिन थालेपछि मुलुकको 'एकात्मकता' को अवधारणा अरू विचलित हुन पुगेको छ । नेपाल सबै जातको फूलबारी या सबै 'आत्मा' को साझा घरको साटो विखण्डनवादी समूहहरूको थलो त हैन भन्ने प्रश्न उठ्न थालेको छ ।
यस्तो प्रतिकुल परिस्थिति र त्यसको लागि राजनीतिक नेतृत्वले जवाफदेहीता नलिएको वर्तमान अवस्थामा एक थान सेता धोतीमा बेरिएका एक सन्त, जगद्गुरु मोहनशरण देवाचार्यले समग्र नेपालको पैदल यात्रा सम्पन्न गरी सुदूरपश्चिम महाकालीमा 'नेपाल आमा' को भव्य प्रतीकात्मक मूर्ति निर्माणमा लागेका छन् ।
त्यसमा सबै ७५ जिल्लाका सांस्कृतिक, प्राकृतिक, वैदिक या अन्य मौलिक प्रतिनिधित्व हुनेछ र समग्र नेपाल र बाहिर त्यसले नेपालको एकात्मकताको पक्षमा मनोवैज्ञानिक सन्देश दिने अपेक्षा अभियन्ताले गरेका छन् । विखण्डनको राजनीतिलाई पराजित गर्ने सम्भवतः योभन्दा उत्तम अर्को विकल्प छैन । त्यस अर्थमा बालसन्तले एक राजनेताको भूमिका खेलेका छन् र उनको 'मिसन' को सफलता समग्र नेपालको सफलता मानिनेछ ।
प्रश्न उठ्छ, के एउटा हिन्दु 'सन्त' को अभियानले फरक पार्ला ? वास्तवमा उनी वेदका ज्ञाता र उपासक हुन्, जसले आत्मा-आत्माबीचको अन्तर स्वीकार गर्दैनन् । सबै नेपालीको एकात्मकताको सम्मान गर्दै त्यसबाट निर्देशित राष्ट्रिय भावले ' नेपाल आमा' को सम्मान र उपासना गरोस् भन्ने चाहनालाई उपेक्षा गर्न मिल्दैन ।
वास्तवमा सबै धर्म र पक्ष अनि पृथ्वीनारायण शाहले मानेका सबै जातको फूलबारीका मालीहरूले यो अभियानमा साथ दिए भने नेपाल राष्ट्रको भावनात्मक, सामाजिक र आत्मिक एकीकरणले ठोस रूप लिनेछ र त्यो नेपालको सर्वाधिक आवश्यकता हो अहिलेको ।
नेपाल एउटा प्राचीन, आफ्नै परम्परा र मान्यता भएको मुलुक हो । बाल सन्तको यो अभियानकै क्रममा नेपाल कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले 'संविधान' मा जे लेखे पनि 'नेपाल हिन्दु राष्ट्र हो' यथार्थमा भन्ने अभिव्यक्ति दिएका छन् । एउटा सफल संविधान यथार्थभन्दा टाढा या बाहिर रहनु हुँदैन ।
त्यस अर्थमा नेपाल हिन्दु राष्ट्र हो या हैन या रहनुपर्छ या रहनुपर्दैन भन्ने बहसभन्दा राजनीतिक परिवर्तन र संविधान निर्माणका क्रममा नेपालको कुनै धर्म र त्यसका अनुयायी उपेक्षित र अपमानित गरिएका हुन् कि हैनन् ? त्यसको जवाफदेही राजनीतिक नेतृत्वबाट आउनैपर्छ । तर फेरि पनि एकात्मकता अभियानले सबैको स्थान र उपयुक्तको नेतृत्व राष्ट्रिय धारमा सुनिश्चित गर्ने वातावरण बन्ने विश्वास गर्न सकिन्छ ।