नेपालले खोज्यो आतंकवादविरुद्ध प्रतिबद्धता

नेपालले खोज्यो आतंकवादविरुद्ध प्रतिबद्धता

काठमाडौं: नेपालले सार्क शिखर सम्मेलन छिट्टै आयोजनाको वातावरण बनाउन सबै सदस्य राष्ट्रहरूसँग सार्थक परामर्श थाल्ने बताएको छ । तर त्यसका लागि पूर्वसर्तका रूपमा सबै सदस्य राष्ट्रहरूले सबै किसिमको आतंकवादविरुद्ध प्रतिबद्ध हुनुपर्ने अडान राखेको छ ।

विगत पाँच दिनमा तेस्रोपल्ट जारी गरेको वक्तव्यमा परराष्ट्र मन्त्रालयले नोभेम्बर ९ र १० मा इस्लामाबादमा प्रस्तावित शिखर सम्मेलन आयोजक पाकिस्तानले सम्मेलन स्थगित भएको जानकारी दिएपछि नेपालले सबै सदस्य राष्ट्रहरूको सहभागिता सुनिश्चित हुने गरी अर्को सम्मेलनको सार्थक प्रयास गर्ने उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार निकालेको तेस्रो वक्तव्यमा 'नेपालले सार्थक क्षेत्रीय सहकार्यका लागि शान्ति र स्थिरताको वातावरण अत्यावश्यक रहेकोमा जोडदार रूपमा विश्वास गर्छ' भनिएको छ ।

वक्तव्यमा निर्धारित मितिमा सार्क शिखर सम्मेलन आयोजना गर्न सुहाउँदो क्षेत्रीय वातावरण नबनेकामा पश्चात्ताप व्यक्त गरिएको छ । सार्क आयोजक देश पाकिस्तानले सम्मेलन स्थगन गरेको सम्बन्धमा सार्क अध्यक्ष देश नेपाललाई जानकारी गराएको मन्त्रालयले उल्लेख गरेको छ ।

वक्तव्यमा परराष्ट्र मन्त्रालयले अप्रत्यक्ष रूपमा भारतको साथ दिँदै भनेको छ, 'सार्कको अध्यक्ष हुनुका नाताले नेपाल सुहाउँदो क्षेत्रीय वातावरण निर्माण गर्न आवश्यक छ भन्ने विषयमा जोड दिन्छ ।'

वक्तव्यमा नेपालले भारत र पाकिस्तानबीच सीमामा एकअर्काका सैनिकमाथि गरिरहेको आक्रमणपछि उत्पन्न तनावलाई इंगित गर्दै धारणा राखेको छ । पाकिस्तान र भारतबीच विगतमा युद्ध या सीमा तनाव हुँदा परराष्ट्र नीतिमा असंलग्नताको सिद्धान्तअनुसार सधैं आफूलाई तटस्थ र निष्पक्ष राख्दै आएको नेपालले यसपटक भने पाकिस्तान र भारतबीचको विवादमा भारतको धारणासँग निकट रहने गरी धारणा व्यक्त गरेको छ ।

'यस क्षेत्रमा स्थिरता र शान्ति हासिल गर्नका लागि सार्कका सदस्य देशले तथा अन्य देशले पनि आफ्ना भूभाग आतंककारीहरूले सीमापार अपराधका लागि प्रयोग नगरून् भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ,' परराष्ट्रले भनेको छ ।
वक्तव्यको अन्तिममा नेपालले सबै स्वरूप र प्रकृतिका आतंकवादको स्पष्ट रूपमा भत्र्सना गर्ने उल्लेख गर्दै आतंकवादविरुद्धको विश्व लडाइँमा नेपालको ऐक्यबद्धता रहेको उल्लेख छ । नेपालले दक्षिण एसिया क्षेत्रमा भएका सबै आतंकवादी गतिविधिको निन्दा गर्दै आएको वक्तव्यमा लेखिएको छ ।

'हालैमात्र पनि नेपालले कस्मिरको उरीमा भारतीय सैनिकहरूको ज्यान जाने गरी भएको भारतीय सैनिक बेसमा भएको आतंककारी घटनाको निन्दा गरेको छ', वक्तव्यमा भनिएको छ ।

परराष्ट्रले गत बुधबार जारी गरेको पहिलो वक्तव्यमा पाकिस्तानमा तय भएको सार्क सम्मेलनमा भारत, अफगानिस्तान, भुटान र बंगलादेशले सहभागिता जनाउन नसक्ने जानकारी गराएको उल्लेख गर्दै विकसित पछिल्लो घटनाक्रमलाई गम्भीर रूपमा लिएको बताएको थियो ।

वक्तव्यमा सार्कका चार सदस्य देशहरूले सार्क शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्न सुहाउँदो क्षेत्रीय वातावरण नरहेको बताएको उल्लेख थियो । 'सार्कको अध्यक्षका नाताले सबै सार्क सदस्य देशलाई पाकिस्तानमा गर्ने तय भएको शिखर सम्मेलनमा सहभागी हुन आग्रह गर्नु नेपालको ड्युटी थियो,' पूर्वराजदूत मोहन लोहनीले भने ।

परराष्ट्रको वक्तव्यमा 'सार्कको वर्तमान अध्यक्ष हुनुका नाताले हामीले सार्क बडापत्रको मर्मअनुसार सार्कका सबै देशको सहभागिता सुनिश्चित गर्न र शिखर सम्मेलन चाँडै आयोजना गर्न सबै सदस्य देशलाई दह्रो रूपमा आग्रह गर्छौं' भनिएको थियो ।

भोलिपल्टै निकालेको दोस्रो वक्तव्यमा भने सबै सार्क सदस्यले वातावरण बनाउनुपर्ने विषयलाई नेपालले फरक रूपमा राख्यो ।

'यस सम्बन्धमा खासगरी आयोजक राष्ट्रका तर्फबाट आवश्यक वातावरण बनाउन पहल हुनेछ भन्ने आशा गरिएको छ । सार्कको वर्तमान अध्यक्षका हैसियतले नेपालले आफ्नो तर्फबाट पूरा गर्नुपर्ने भूमिका निर्वाह गर्न नेपाल तयार रहेको पनि स्पष्ट पारिन्छ', परराष्ट्रको दोस्रो वक्तव्यमा थियो ।

पहिलो दिनको वक्तव्यमा सबै सदस्य मुलुकले सार्क आयोजना गर्न वातावरण बनाउनुपर्ने भनिए पनि दोस्रो दिनको वक्तव्यमा परराष्ट्रले 'खासगरी सार्कको आयोजक देश' पाकिस्तानले शिखर सम्मेलनका लागि आवश्यक वातावरण बनाउनुपर्ने भन्ने वाक्यांश थपेर वक्तव्य निकाल्यो ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकाबाट फर्केलगत्तै विमानस्थलमा शनिबार बिहान सार्क सम्मेलन आयोजना गर्न आयोजक देश पाकिस्तानले आवश्यक वातावरण बनाउनुपर्ने भनाइ दोहोर्‌याए ।

सार्क शिखर सम्मेलन आयोजनाका लागि भारतलगायत सबै देशसँग पहल गर्न प्रभावकारी भूमिका खेल्ने काममा नेपाल सरकार चुकेको परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले बताए ।

'नेपालले तोकिएकै मितिमा सार्क शिखर सम्मेलन गर्नका लागि अहिलेको सार्क अध्यक्ष देशको नाताले जिम्मेवार भूमिका खेल्नुपर्नेमा सरकार असफल भएको देखियो', उनले भने । भट्टराईले परराष्ट्रबाट आएका तीन फरक वक्तव्यले नेपालको विदेश नीति सञ्चालनमा एकरूपता नदेखिएको पनि बताए ।

पूर्वराजदूत सुरेश प्रधानले सार्क सदस्य देशहरूमा नेपालले विशेष दूत पठाएर उनीहरूलाई सार्क शिखर सम्मेलन चाँडै गर्न मनाउनुपर्ने धारणा राखे । 'सार्क सदस्य देशहरूबीचका आपसी समस्याका कारण सार्कको शिखर सम्मेलन नहुनु सार्कको बडापत्रविपरीत हो', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.