भारतमा गठबन्धन सरकारको कसरत
काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पदबाट राजीनामा दिएका छन्। लोकसभा निर्वाचनको परिणाम लगत्तै मोदीले दिएको राजीनामा राष्ट्रपति द्रौपडी मुर्मुले स्वीकृत गरिसकेकी छिन्। भारतमा जुन ८ मा नयाँ सरकार गठन हुँदै छ। लोकसभा निर्वाचनमा कुनै एक दलले बहुमत ल्याउन सकेन। सत्तासीन बीजेपी नेतृत्वको गठबन्धनले भने बहुमत ल्याएको छ। चुनावी परिणामसँगै मोदीकै नेतृत्वमा नयाँ सरकार गठनको कसरत अघि बढेको हो।
भारतमा २५ वर्षअघि गठबन्धन सरकार चलेको थियो। संसद्मा नयाँ युग सुरु भएसँगै राजनीतिक बदलाको परिवेश पनि देखिएको छ। भाजपा नेतृत्वको गठबन्धन (एनडीए) ले २ सय ९३ सिट जितेको छ। सरकार गठनका लागि २ सय ७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २ सय ३४ सिट जितेको छ।
५ सय ४३ सिट रहेको भारतको लोकसभामा सत्तारुढ भाजपाबाट प्रधानमन्त्री मोदीसहित २ सय ४१ सांसद निर्वाचित भएका हुन्। अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३ सय ३ सिट जितेको थियो। त्यसबेला भाजपा गठबन्धनको ३ सय ५३ सिट थियो। भाजपालाई एकल सरकार बनाउनका लागि अब २० सिटको आवश्यकता परेको छ। अघिल्लोपटक भने एक्लै ३ सय ३ सिट जितेको मोदीको भाजपा यसपटक खुम्चिन पुग्यो। त्यसो त विपक्षी गठबन्धन भन्दा ६ सिट भने बढी नै ल्याएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भए पनि संसद्मा उनको पार्टीको बहुमत भने गुमाए। मोदी प्रधानमन्त्री पदमा कायम रहने सम्भावना बढी भए तापनि उनलाई गठबन्धनको आवश्यक हुने भएको छ।
अहिले दिल्लीमा नयाँ सरकार गठनका लागि दौडधुप बढेको छ। नयाँ सरकार गठनका लागि भन्दै अहिले एनडीए गठबन्धनका प्रमुख नेताहरू विहारका मुख्यमन्त्री नितिशकुमार र तेलेगु देसम पार्टीका प्रमुख चन्द्रबाबु नायडू दिल्लीमा सरकार बन्ने छलफलका लागि जुटिसकेका छन्।
नितिश कुमारको जनता दल (युनाइटेड), समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, तेलेगु देसम पार्टीलाई लिएर मोदीले नयाँ सरकार गठनका लागि छलफलमा जुटेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। जनता दलले १२ र तेलेगु देसमले १६ सिट जितेको छ। अहिले मन्त्री रहेकाहरू जो लोकसभा निर्वाचनमा विजयी हुन सकेनन्। उनीहरूलाई राजीनामा दिन लगाएर त्यसको ठाउँमा नयाँ साना दललाई समेटेर सरकार बनाउने तयारीको छलफलमा मोदी लागेका छन्।
विपक्षी कंग्रेस संसद्मा बलियो
अघिल्लो चुनावमा भारतीय राष्ट्रिय कंग्रेस ५२ सिटमा झरेको थियो। अर्थात्, संसद्मा प्रमुख प्रतिपक्षीको मान्यता पाउन आवश्यक १० प्रतिशतभन्दा पनि कम संख्या थियो। प्रतिपक्षको मान्यता पनि पाएको थिएन। कंग्रेस नेतृत्वको गठबन्धनका जम्मा ९१ सांसद थिए। सन् २०१४ मा भएको १६ औं लोकसभा निर्वाचनमा पनि बीजेपी निकै बलियो भएर पुनः उदाएको थियो। कंग्रेसले अनपेक्षित परायज बेहोर्दै निकै कमजोर बन्न पुगेको थियो। अहिले भने विपक्षी दल निकै बलियो देखिएको छ। यसपालि कंग्रेसले लोकसभामा दोब्बर उपस्थिति देखाएको छ। कंग्रेस एक्लैले ९९ सिट जित्दा उसको नेतृत्वको गठबन्धन ‘इन्डिया’ले २३३ सिट बनाएको छ। विगत १० वर्षमा अस्तित्वकै लडाइँ लडिरहेको कंग्रेस अब बलियो प्रतिपक्षीका रूपमा संसद्मा देखिनेछ।
प्रतिक्रिया दिनुहोस !