युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र
सुन्नुहोस्

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्ताको प्रस्ताव गरेका छन्। युरोपमा जारी युद्धतर्फ अमेरिकी ध्यान पुनः केन्द्रित नभएसम्म पर्खिएर बस्नु गलत हुने उल्लेख गर्दै जेलेन्स्कीले दुई देशबीचको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव भएको बताएका छन्।

जेलेन्स्कीले वार्ता अवधिभर पूर्ण युद्धविरामको माग समेत गरेका छन्, जसलाई पुटिनले बिहीबार नै अस्वीकार गरिसकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दुई नेताबीच भेटवार्ता हुनु उत्कृष्ट सुरुवात हुने प्रतिक्रिया दिएका छन्। क्रेमलिनले उक्त पत्र प्राप्त भएको र यसबारे पुटिनलाई ब्रिफिङ गरिने पुष्टि गरेको छ।

किभले पहिलो पटक सार्वजनिक रूपमा अमेरिकाको ध्यान हाल पूर्ण रूपमा इरानको मुद्दामा केन्द्रित रहेको स्वीकार गरेको छ। जेलेन्स्कीका अनुसार अमेरिकाको ध्यान फर्कने आशमा यत्तिकै समय खेर फाल्नु युक्रेनका लागि घातक हुन सक्छ। १८०० भन्दा बढी शब्दको उक्त पत्र केही आक्रामक र व्यङ्ग्यात्मक शैलीको समेत छ, जसमा जेलेन्स्कीले '२६ वर्षसम्म सत्तामा रहँदा अब पुटिनमाथि उमेरको असर देखिन थालेको' टिप्पणी समेत गरेका छन्।

'तपाईँको युद्धले हाम्रो देशमा जे जति विनाश निम्त्यायो, त्यसपछि हामीलाई रुसी सैनिकहरूको भाग्यको चिन्ता छैन। तर मलाई युक्रेनीहरूको चिन्ता छ। हामी हाम्रा मानिसहरू गुमाउँदैछौँ र हरेक क्षति हाम्रा लागि पीडादायी छ,' जेलेन्स्कीले पत्रमा लेखेका छन्। उनले प्रत्यक्ष वार्ता स्विट्जरल्याण्ड वा टर्की जस्ता तटस्थ मुलुकमा गर्न सकिने प्रस्ताव गरेका छन्।

सेन्ट पिटर्सबर्गमा आयोजित आर्थिक मञ्चको साइडलाइनमा पत्रकारहरूसँग कुरा गर्दै रुसी राष्ट्रपति पुटिनले आफू सम्झौताका लागि तयार रहेको तर त्यसका लागि युक्रेनले भूभाग छोड्नुपर्ने सर्त दोहोर्‍याएका छन्। पुटिनले ट्रम्प इरान मामिलामा व्यस्त रहेकाले युरोपेली युनियन (EU) ले जेलेन्स्कीलाई भूभाग छोड्नका लागि मनाउनुपर्ने सुझाव दिए। रुसले डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया गरी चार क्षेत्रहरू सुम्पनुपर्ने र नेटो (NATO) को सदस्यता लिने प्रयास त्याग्नुपर्ने अडान राख्दै आएको छ, जसलाई युक्रेनले पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ।

यसैबीच, पुटिनले वार्ताको सम्भावनाप्रति संशय व्यक्त गर्दै जेलेन्स्की युक्रेनको वैधानिक प्रतिनिधि हुन् कि होइनन् भन्ने कुरा कानुनी विश्लेषणको विषय भएको टिप्पणी गरेका छन्। यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुवै पक्षले केही न केही सम्झौता गरेर शान्तिको मार्ग रोज्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.