गोरखाका खोल्साबाट हराउँदै पाहा

गोरखाका खोल्साबाट हराउँदै पाहा

गोरखा : केही दिनअघि धार्चे— ४ लाप्राकका रिदीलाल गुरुङ र अर्का एकजना साथी पाहा सिकार गर्न खोला खोल्सा चाहारे। विगतमा जस्तै साँझ खाना खाएर रातभरि सिकार गरेर भोलिपल्ट बिहानसम्म एक झोला पाहा ल्याउँला भन्ने योजना थियो, तर यसपटक त्यसो भएन।

उनीहरू पाहा खोज्दै एकदिन पूरै हिँडेर ल्हे खर्क पुगे। पाहा सिकार गरेर फर्कन तीन दिन लागेको उनी बताउँछन्। ‘हामी बिहान घरबाट ६ बजे निस्केर साँझ ६ बजे ल्हेखर्क पुगेका थियौं। ३३ सय मिटर उचाइमा रहेको ल्हेखर्कमा रातभरि सिकार गर्दा थोरैमात्र पाहा भेटियो’, उनले भने, ‘अहिले त पाहा पाइनै छोडेछ। चारपाँच वर्ष अघिसम्म अहिले भेटेकोभन्दा दोब्बर धेरै भेटिन्थ्यो।’ पहिले एक घण्टा हिँडेपछि जताततै भेटिने पाहा अहिले एक दिनको बाटो टाढा जाँदा पनि पाउन मुस्किल भएको उनको भनाइ छ। ‘पहिले १५ सय मिटर उचाइतिर पनि पाहा पाइन्थ्यो। अहिले नपाउने त होइन, तर सानो–सानो त्यही पनि थोरै भेटिन्छ’, उनले भने, ‘३३ सय, ३५ सय मिटर उचाइसम्म पुग्दा पनि एकदम थोरै भेटिँदो रहेछ।’

  •     गोरखाको धार्चे गाउँपालिका क्षेत्रमा पहिले प्रशस्त पाइने पाहा (हिमाली भ्यागुता) अहिले निकै दुर्लभ बन्दै गएको स्थानीयको गुनासो छ।
  •     चार–पाँच वर्षअघिसम्मको तुलनामा अहिले पाहाको संख्या आधाभन्दा कम भएको स्थानीयहरूले बताएका छन्।
  •     पाहालाई स्थानीय समुदायले पौष्टिक आहारका रूपमा लिने, विशेषगरी सुत्केरी र बिरामीलाई खुवाउने परम्परा छ।

गोरखाको उच्च भेगमा अवस्थित धार्चे गाउँपालिकाका सबै वडाका खोलाखोल्सीमा पाइने पाहा अहिले पाउन छाडेको अर्का स्थानीय दिलबहादुर गुरुङ बताउँछन्। ‘पहिले चिहानडाँडा खोल्सातिर पनि पाइन्थ्यो। लाप्राक र गुम्दाको बीचमा पर्ने खोलाहरूमा, नम्पैतिर पनि पाइन्थ्यो। रातभरि सिकार गर्दा बाल्टीभरि पाहा बोकेर आइन्थ्यो’, उनी भन्छन्, ‘पाहा समात्दा हाम्रो हात च्याप्पै समात्ने खालका ठूलाठूला पाहा पाइन्थ्यो, तर अहिले धार्चेडाँडा, रुकाङडाँडा, ल्हेखर्कतिर पुग्नुपर्छ। त्यही पनि धेरै पाइँदैन।’ लापरबाहीपूर्वक सिकार गर्नाले पाहा हराउँदै गएको उनले बताए।

पाहा वर्षमा दुई सिजनमा पाइने अर्का स्थानीय मार्सिङ गुरुङको भनाइ छ। जाडोमा धेरै गहिरो खोचभित्र कुनाकन्दरामा पस्ने पाहा चैत लागेर केही न्यानो हुन थालेपछि बाहिर निस्कने उनको भनाइ छ। ‘आकाशमा मेघ गड्याङगुडुङ गर्न थालेपछि पाहा बाहिर निस्कन्छन्’, उनी भन्छन्, ‘पानीको रहमा, ठूला ढुंगाभित्र बस्छन्। चम्किलो टर्च लाइट आँखामा बाल्दिएपछि तिनीहरू लाटिन्छन्। कतै पनि चल्न सक्दैनन् अनि, समातेर सिकार गरिन्छ।’ पाहालाई खुट्टामा समातेर टाउको पछारेर सिकार गर्ने उनी बताउँछन्। उनका अनुसार पाहाको अर्को सिजन भदौ असोज हो। त्यतिबेला भेल बाढी नआउने र जाडो पनि नहुने हुँदा पाहा पाइने उनी बताउँछन्।

धार्चेका बासिन्दाहरू पाहालाई धेरै पौष्टिक खाद्य पदार्थका रूपमा लिन्छन्। धेरै पौष्टिक हुने हुँदा विशेषगरी सुत्केरीलाई खुवाउने र बिरामीलाई उतार्न पनि पाहा खुवाउने स्थानीयबासी बताउँछन्। पाहाको फुल (अन्डा)समेत पोसिलो हुने भएकाले फुल पनि संकलन गर्ने गर्छन्। ‘पाएसम्म फुल पनि सिकार गर्ने हुँदा पाहा हराउन थालेको हो’, रिदीलाल गुरुङ भन्छन्, ‘बाढी, पहिरोका कारण पनि पाहा मासिएको हो। अब ट्राउट माछापालन गरेझैं संरक्षित तरिकाले पाहा पालन गर्नुपर्छ।’ नजिक पाहा पाउन छाडेको करिब १० वर्ष भएको र टाढा पनि कम हुन थालेको दुईचार बर्ष भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.