नेपालको प्रस्ताव : सार्कबारे गोवामा छलफल गरौं

नेपालको प्रस्ताव : सार्कबारे गोवामा छलफल गरौं

काठमाडौं: स्थगित सार्क शिखर सम्मेलनको नयाँ मिति र स्थान तोक्नेबारे वर्तमान नेतृत्व नेपालले क्षेत्रीय बैठकका क्रममा हुने साइडलाइन भेटहरूमा सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग छलफल गर्ने भएको छ ।

भारतको गोवामा अक्टोबर १५ र १६ मा हुने ब्रिक्स सदस्य देशहरूको सम्मेलन र सोही अवसरमा हुने 'बिमस्टेक आउटरिच समिट' को साइडलाइनमा सार्क सदस्य देशका केही सरकार प्रमुखसँग हुने भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले सार्क सम्मेलनको नयाँ मिति र स्थानबारे छलफल गर्ने स्रोतले जनाएको छ ।

नेपाललगायत सार्ककै अन्य सदस्य देशहरू बंगलादेश, भारत, श्रीलंका र भुटान पनि बिमस्टेकका सदस्य छन् । ती देशबाट गोवामा आउने सरकार वा राष्ट्रप्रमुखसँग दाहालले भेटवार्ता गर्नेछन् । बिमस्टेकमा सदस्य नभए पनि माल्दिभ्स र अफगानिस्तानका प्रतिनिधिसमेत गोवा आउने सम्भावना छ ।

'सार्कको नयाँ मिति र स्थानबारे सार्कका सदस्य मुलुकका उच्चस्तरीय प्रतिनिधिसँग गोवामा हुने साइडलाइन भेटवार्तामा प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ', एक उच्च अधिकारीले भने ।

दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनालगायतसँग गोवामा भेटवार्ता गर्नेछन् । श्रीलंकाली राष्ट्रपति र दाहालबीच भेटवार्ताका लागि श्रीलंकाली विदेश मन्त्रालयले हालै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ ।

'पाकिस्तानसँगको बढ्दो तनावका कारण क्षेत्रीय संगठनका तर्फबाट सार्कलाई निमन्त्रणा नगरी बिमस्टेकलाई निमन्त्रणा गरिएको हो जहाँ पाकिस्तान सदस्य छैन', अर्का एक सरकारी अधिकारीले भने । नेपाल अहिले क्षेत्रीय संगठन बिमस्टेकको पनि अध्यक्ष देश हो ।

गोवामा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने सरकार तथा राष्ट्रप्रमुखसँग प्रधानमन्त्री दाहालको भेटका लागि पहल भइरहेको बताइएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिणअफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा र ब्राजिलका राष्ट्रपति माइकेल टेमेरसँग प्रधानमन्त्री दाहालको अलगअलग भेटवार्ताका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासबाट पहल भइरहेको परराष्ट्र अधिकारीहरूले बताए ।

प्रधानमन्त्री दाहाल अक्टोबर १४ वा १५ मा गोवा जाने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार ऋषिराज अधिकारीले अन्नपूर्णलाई बताए ।

त्यस्तै थाइल्यान्डको बैंककमा अक्टोबर ८ देखि १० सम्म हुने क्षेत्रीय मञ्च एसिया कोअपरेसन डाइलग (एसीडी) को शिखर सम्मेलनसँगै हुने साइडलाइन भेटवार्तामा सार्क सदस्य देशका उच्चस्तरीय प्रतिनिधिसँग सार्क बैठक स्थगित भएको सम्बन्धमा छलफल हुने भएको छ ।

नेपालले सार्कको नयाँ मिति र स्थानबारे बैंककमा समेत परामर्श गर्नेछ । एसीडीको शिखर सम्मेलनमा सार्कको सदस्य मुलुक पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पनि सहभागी हुँदैछन् । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सरिफसँग भेट्ने स्रोतले बतायो । भारतबाट जाने उच्चस्तरीय प्रतिनिधिसँग पनि भेट हुनसक्ने बताइएको छ । सार्कका सदस्य देशहरू पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, भारत र श्रीलंका एसीडीका पनि सदस्य छन् ।

'एसीडी शिखर सम्मेलनको साइडलाइनमा पाकिस्तानका प्रधानमन्त्रीसहित सार्कका सदस्य देशबाट जाने उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सार्कको नयाँ मितिबारे छलफल हुनेछ', मन्त्रालयका अधिकारीले भने ।

सार्कको प्रस्तावित बैठक स्थगित

१९ औं सार्क शिखर सम्मेलन स्थगित भएसँगै यसअघि तय भएका सार्कस्तरीय संयन्त्रका बैठकहरूसमेत स्थगित भएका छन् ।

काठमाडौंस्थित सार्क सचिवालय स्रोतका अनुसार आगामी अक्टोबर १३ र १४ का लागि भारतको महाराष्ट्रमा हुने भनिएको सार्कका पर्यटनमन्त्रीहरूको बैठक स्थगित भएको छ ।

त्यस्तै पाकिस्तानको इस्लामाबादमा अक्टोबर २० र २१ मा हुने भनिएको सार्क योजना आयोगहरूको बैठक पनि नहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार नोभेम्बर ९ र १० मा पाकिस्तानमा हुने भनिएको सार्क शिखर सम्मेलनअघि सार्कका मन्त्रीस्तरीय र सचिवस्तरीय संयन्त्रहरूको बैठक आयोजना गर्ने तयारी भएको थियो ।

यद्यपि सार्कका विदेशमन्त्रीस्तरीय, अर्थमन्त्रीस्तरीय, कृषिमन्त्रीस्तरीय र गृहमन्त्रीस्तरीय बैठकहरू गत एक वर्षयता आयोजना भइसकेका छन् । 'सार्क शिखर सम्मेलन स्थगित भएसँगै अब ऊर्जा र वातावरणमा मन्त्रीस्तरीय बैठकहरू पनि हुने छैनन् । यी दुवै मन्त्रीस्तरीय बैठकहरू नेपालले आयोजना गर्नुपर्ने हो', परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । त्यस्तै नेपालले नै आयोजना गर्नुपर्ने सार्क यातायातमन्त्रीस्तरीय बैठक पनि हुनसकेको छैन ।

'अब हामी सार्कको नयाँ मिति र स्थानबारे सार्क सदस्य देशसँग परामर्श गर्छौं', परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अन्नपूर्णसँग भने, 'सार्क पहिले निर्धारण गरेको मितिमा हुन नसके पनि सार्कलाई मर्न दिनु हुँदैन भन्नेमा नेपाल दृढ छ ।' पाकिस्तानमा नोभेम्बर ९ र १० का लागि प्रस्तावित सार्कको १९ औं शिखर सम्मेलन स्थगित भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.