वर्णविन्यास विवाद: समस्या के, समाधान कसरी

वर्णविन्यास विवाद: समस्या के, समाधान कसरी

अक्षर ब्रह्म हो । ब्रह्म नै अक्षर हो । ॐकार अक्षरलाई ब्रह्मा भनिएको छ । 'ॐ इतिकाक्षर ब्रह्म' भनी भगवद्गीतामा भनिएको छ ।

रामचरित मानसको पहिलो मंगलाचरण श्लोकमा तुलसीदासले भन्नुभएको छ- वर्णानामर्थसंघानांरसानां छन्दसामपि । मंगलानांच कत्र्तारौवन्देवाणी विनायकौ ।।१।।

अक्षर अर्थ समूह, रस छन्द र मंगल गर्ने सरस्वती र गणेशको म वन्दना गर्छु । वर्ण अर्थ समूह यी सरस्वती र गणेशकै रचना र स्वरूप हुन् । यस कारण वर्णको संरचना ॐकारको अर्थ र रहस्य परख गर्ने कुरा क्षमतावान् कार्य केवल सरस्वती र गणेशमै विद्यमान अणु-परमाणु त्रसरेणु न्युट्रोन, इलेक्ट्रोन र गडपार्टिकलको विश्लेषण गर्ने सूक्ष्मातिसूक्ष्म ज्ञान भएको सूक्ष्मदर्शीहरूबाट मात्र गर्न सकिन्छ ।

केवल भौतिकतामा रमेर हिँड्ने ज्ञान-बन्धुहरूबाट त्यो काम सम्भव छैन । त्यस्ता ज्ञानबन्धुहरू जो अहिले हाम्रा विश्वविद्यालयमा, प्रज्ञाप्रतिष्ठानहरूमा र ठूला-ठूला सरकारी-गैरसरकारी प्रतिष्ठान एवं सरकारी तहका परियोजनामा रही राष्ट्रिय ढुकुटीमा डुबुल्की मारेर बसेका छन् ती विद्यावारिधि (पीएचडी) डिग्रीधारी डाक्टर, प्राज्ञ वा प्रबुद्धहरू धर्मसंकर, वर्णशंकर, जातिशंकर, कुलशंकर वंशशंकर, भाषाशंकर, आहारशंकर आदि अनेक शंकर दोष धारण गरी गैरजिम्मेवार बनिरहेका छन् । ती सबैले परस्पर विरुद्ध धर्म धारण गरिरहेकाले उनीहरूलाई शंकर भनिन्छ । त्यस्ता डेढअक्कली शंकरहरूले नै वर्णविन्यास विवाद सिर्जना गरेका हुन् र गरिरहनेछन् ।

आज नेपाली भाषामा वर्णविन्यासको जुन किसिमको विवाद चरमोत्सर्गमा पुगेको छ र आम नेपाली भाषाभाषीलाई चिन्तित तुल्याएको छ, त्यो तिनै वर्णशंकर विद्वान्हरूकै कारण हो । अहिलेसम्म वर्णविन्यास विवादमा देखिएका पात्रहरू कर्मले नभए पनि जातले ब्राह्मण हुन् । ब्राम्ह्णको भेषमा अक्षरलाई विकृत र विध्वंस गर्ने तत्व ब्रह्मराक्षसकै रूपमा देखिएका छन् । नेपाली भाषाभाषीहरूलाई आज अत्यन्तै आन्दोलित र आक्रोशित बनाएको उनीहरूको कर्म र कर्तृत्वले देखाइरहेको छ ।

अक्षर (वर्ण) ॐकारको रूप हो । ॐ वेदको जननी हो । वेद संस्कृत भाषाको जननी हो । संस्कृत नेपाली भाषाको जननी हो । संस्कृतमा र पछि नेपाली भाषामा काव्यशास्त्र, साहित्यशास्त्र, व्याकरण र शब्दकोशशास्त्र बन्दै आए । आजभन्दा ८० वर्षअघि टर्नर भन्ने व्यक्तिबाट नेपाली भाषाको पहिलो शब्दकोश बन्यो, जसमा नेपालीको अंग्रेजीमा अर्थ लेखिएको थियो । त्यसपछि नेपालीमै अर्थ भएको नेपाली भाषा प्रकाशिनी समितिबाट तयार गरिएको नेपाली शब्दकोश आयो ।

२०२० सालमा बालचन्द्र शर्माको नेपाली शब्दकोश प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । ती सबै शब्दकोशहरू नेपाली हिज्जे र व्याकरणको समन्वय गरी बनाइएको थियो । यसले नेपाली शब्दकोशको अभावपूर्ति गर्दै आएको र नेपाली भाषाको काव्यशास्त्र र साहित्यशास्त्र एवं सबै प्रयोगमा एकरूपता र सहजताको अवस्था आएको थियो । त्यो कालखण्डसम्म नेपाली भाषामा वर्णविन्यासको कुनै विवाद उब्जिएको देखिँदैन ।

संस्कृत र नेपाली भाषाका शब्दकोशहरूको इतिहासमा सबै शब्दकोशहरू व्यावहारिक र जनमानसमा अनुमोदित वैज्ञानिक शृंखलाबद्ध रूपमा विकसित र लिपिबद्ध गरिएका विवादरहित रूपमा व्याकरण र वर्तनीको उपयुक्त व्यवस्थापनसहित प्रकाशित भएर भाषा, काव्य र साहित्यमा सुमधुरता, सौन्दर्य भर्दै कथ्य र लेख्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‌याई भाषा लिपि, लेखन र कथनमा वैशिष्ट्य कायम गर्दै आइरहेको पाइन्छ ।

पहिलो शब्दकोश निघण्टुको व्यवस्थापन, निरुक्तकार यास्कको कुशलता संस्कृतमा पाणिको व्याकरण र शब्द व्यवस्था, अमर वाडाको अमरकोश विवादरहित शब्दकोशहरू प्रचलित हुँदै आए । वैदिककालको सबैभन्दा प्राचीनतम वेद-ऋग्वेदको १०२८ सुक्तका १०२८० ऋचाहरू र १० मण्डलहरू गृत्समदन, विश्वामित्र, वामदेव, अत्रि, भारद्वाज वशिष्ठ कण्व अंगिरा आदि ऋषिमुनीहरूले बनाएका ऋग्वेदमा भएका १०२८० ऋचाहरू र तीनमा रहेका एक लाख त्रिपन्न हजार आठ सय छब्बीस शब्दहरू र कुल चार लाख बत्तीस हजार अक्षरहरू रहेको उक्त ऋगवेदको यो बनोटमा आजसम्म कुनै पनि वर्णशब्दको उच्चारण र लेखाइमा कुनै शब्दकोश निर्माताले अहिलेको जस्तो सरलीकरण गर्ने र झर्रोवाद निकाली शब्द र अक्षरहरूलाई नै तोडमोड गर्ने दुस्साहस गरेको देखिँदैन ।

त्यस्तै प्राचीन प्रातिसाख्य शास्त्र पनि छ, जसले शब्द र वाक्यको उच्चारणको नियमन गर्छ । भनिन्छ- ऋग्वेदको प्रातिशाख्य शौनक ऋषिले बनाए । शुक्ल यज्ञुर्वेदको प्रातिसाख्य कात्यायनले बनाए र कृष्ण यजुर्वेद र अथर्ववेदको पनि एकएक प्रातिसाख्य ऋषिमुनिहरूद्वारा तयार गरिएका थिए । हाम्रो वैदिक परम्परादेखि नै उच्चारण शास्त्रको प्रातिसाख्य कायम रहेको भाषिक अनुशासन पद्धतिमा हाम्रा त्रिविका केही स्वनामधन्य प्राज्ञ र प्रज्ञाप्रतिष्ठानकै भत्तावाला प्राज्ञहरू (ज्ञान-बन्धु) ले नेपाली भाषालाई विकृत पार्ने अधिकार कुन शास्त्र, कानुन र परम्पराबाट प्राप्त भएको हो ?

विनाआधार आफ्नो अहंकार तुष्टि वा स्वार्थपूर्तिको लागि यत्रो भाषिक र साहित्यिक क्षेत्रमा भदौरे राँगा र साँढे जस्ता बेलगाम सुन्दर बगैंचा कुल्चिन मिल्छ र ?

त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापकहरूबाट भाषा शंकरको रूप लिई नेपाली वर्णविन्यासलाई सरल, सहज, आधुनिक लेख्य र कथ्यमा सुसम्बन्ध र तादात्म्य कायम गर्ने र आवश्यक वर्ण मात्र कायम गर्ने अनावश्यक वर्ण हटाइदिने लेख्य रूपमा पनि अंग्रेजीको रोमन टाइपले सजिलोसँग लेख्न सक्ने गर्ने भनी उच्चारण वर्णमालामा ई, ऊ, ऐ, औ, अं, अः छवटा स्वरवर्ण र ञ, ण, श, ष, क्ष, त्र, ज्ञ सातवटा व्यञ्जन अक्षरहरू हटाई उच्चार्य वर्णमाला बनाइएको र त्यही आधारको व्याकरणसमेत बनाइएको, पाठ्यपुस्तक तयार गरी अध्ययन-अध्यापन गराउँदै आम प्रयोगकर्तामा प्रवाहित र प्रभावित गरिँदै आएको र नेपाल प्रज्ञा प्रतिष्ठानमा सोही समूहका ज्ञानबन्धु प्राध्यापकहरू पुगेर नेपाली बृहत् शब्दकोश तयार गरी २०४० साल पुस १४ गते प्रथम संस्करण प्रकाशित गरिएको थियो ।

त्यसपछिको नेपाली बृहत् शब्दकोश २०७२ मा वर्तनीलाई पूर्णरूपले विकृत, अस्वाभाविक र अप्ठेरो उच्चारण नै गर्न नसकिने र नमिल्ने गरी संयुक्ताक्षरलाई छुट्ट्याएर केवल वर्णहरूको ताँती लगाएर शब्दहरूको वर्तनी नै नहुने गरी कुरूप अवस्थामा लेख्य मानक नै भ्रमित गरी शब्दकोश निर्माण भएको छ । त्यसमा द्व लाई द्व र ध्द लाई द्ध गरिएको ध, ब, व हरूको संयुक्ताक्षरी रूपलाई बिगारिएका अनेकौं विसंगतिपूर्ण शब्दवर्ण हाली शब्दकोशको रूपमा प्रस्तुत गरिएको छ । सो बृहत् शब्दकोशमा उक्तबमोजिम ६ स्वर र ७ व्यञ्जन नै हटाई सो स्वरव्यञ्जनका शब्दहरू नै नराखी संयुक्ताक्षर छोट्ट्याई अक्षरको खुट्टा काटी विरूपको शब्दकोश प्रकाशित भएको देखिन्छ ।

यसरी पाठयक्रम, पाठ्यपुस्तक, शब्दकोश र प्रयोगकर्ताहरूमा विकृति व्याप्त पार्दै उक्त १३ स्वर व्यञ्जन वर्णहरू हटाउने र संयुक्ताक्षरहरूको कथ्य र लेख्य दुवै हटाई संयुक्ताक्षरलाई खुट्टा काटेर विद्यालाई विद्या, बुद्धलाई बुद्ध, द्व, ध्द लाई द्ध लेख्ने त्यहीअनुसार हिज्जे (वर्तनी) गर्ने कुरा बलात् लादियो । यसरी नेपाली भाषामा चार दसकदेखि क्रमशः भाषा शंकरहरूबाट वर्ण अर्थ व्यवहार प्रयोग सबैलाई नष्ट भ्रष्ट पार्ने काम हुँदै आएबाट नेपाली भाषाभाषीलाई एक पूर्ण युगसम्म अँध्यारो र अन्योलको भुमरीमा घुमाइरहेको स्थिति छ ।

यो वैदिक धर्म, संस्कृति र नेपाली भाषा राष्ट्र, राष्ट्रियतामा सामाजिक एकता, राष्ट्रिय अक्षुण्णता र ऐतिहासिक परम्परा एवं शृखंलामाथि नै क्रुर आक्रमण र षड्यन्त्रको आभास देखिएको छ । यस्तो कार्यले युगौँसम्म नमेटिने नकारात्मकता र अन्योलपूर्ण स्थिति सिर्जना गरेको छ । वर्णविन्यासबाट सुरु आक्रमण र विषवमनको असरले त्यस समयबाट आज पचासौँ वर्षसम्मको नेपाली आयुलाई ध्वस्त पारेको छ । कथ्य र लेख्य बन्द गरी हातमुख थुनिएको छ । भाषा र त्यसका प्रयोगकर्तालाई नै अपांग बनाइएको छ ।

नेपाली भाषाको जननी भाषा नै संस्कृत भाषा हो । कति नेपालीमा प्रयोग हुने कति शब्दहरू तत्सम वा तद्भव के हो ? संस्कृत हो वा अन्य आगन्तुक भाषाबाट आएको हो भन्ने आम नेपाली भाषाको प्रयोगकर्ताहरूले छुट्ट्याइरहने र जान्ने विषय होइन । जुन भाषाबाट श, ष हटाइसकेको छ भने त्यसमा संस्कृतका बाँकी राखेर अरू आगन्तुक भाषा कायम गर्ने काम कसरी गर्न सकिन्छ ? संस्कृतकै शब्दमा पनि विकृत बानीले गर्दा श, ष अवश्य लेखिँदैन ।

श, ष वर्ण रहेको र संयुक्ताक्षर भएका संस्कृतका शब्दहरू नेपाली भाषामा ७५ प्रतिशतभन्दा बढी प्रयोगमा रहेका छन् नेपाली देवनागरी लिपिका वर्ण शब्दहरूको उत्भव नै संस्कृतबाट भएको छ । भगवद्गीता, श्रीमद्भागवद्, रामायण, पुराणहरू दुर्गा सप्तशती (चण्डी), अष्टाध्यापी रुद्री, यावत् वैदिक धार्मिक ग्रन्थहरू श, ष र संयुक्ताक्षरका छन् । नेपालीमा ती वर्णहरू हटाउनु भनेको वैदिक ग्रन्थ र शब्द वाक्य अर्थहरू नै बन्द गर्नु हो ।

यसले मूलतः वेद र सनातन शाश्वत धर्मलाई समाप्त गर्ने काम गरेको छ । यसरी नेपाली भाषा र यसको स्रोत वेद, उपनिषद्, वैदिक ग्रन्थ संस्कृत भाषाको मूल प्रवाह नै बन्द गर्ने र नेपाली भाषा अपांग अर्ध, अपूर्ण, अव्यावहारिक, अक्षम र सारहीन एवं तत्वहीन बनाई नेपाली भाषाभाषी समाप्त पार्ने कार्य गर्दै हिन्दु धर्म र संस्कृतिमाथि मन्द विष छोड्दै मृतप्रायः अवस्थामा पुर्‌याउने कुरा स्पष्ट देखिएको छ ।

यस्तो भाषा, साहित्य, कला, संस्कृतिलाई समाप्त गर्ने काम भारतमा अंग्रेज शासक मेकालेले गरेका थिए । उनले त्यस समय भारतमा एउटा यस्तो जातिको जन्म दिए, जो रगतले भारतीय थिए स्वभाव, विचार र काम व्यवहारले अंग्रेज । त्यसबेला मेकाले र उनीजस्तै अंग्रेज र ती विदेशी षड्यन्त्रकारीहरूबाट प्रभावित भारतीयहरूले पनि भारतको वैदिक, संस्कृति, भाषा र धर्मलाई आधारहीन, तुच्छ, भ्रामक र अतिशयोक्ति मानेर त्यसलाई छोड्ने, हटाउने, मेट्ने, काट्ने काम गर्दै गए । ती संस्कृति, धर्म, भाषा र देशका द्रोही कुलांघार थिए । आज यो वर्णविन्यास विवादमा हाम्रा ज्ञानबन्धु वर्णशंकर कथित प्राज्ञ, प्रबुद्धहरूमा त्यही भारतीय अंग्रेज रूप देखिएको छ ।

नेपाली भाषामा झर्रोवादको नारा दिई सुरु गरिएको आक्रमण आज वर्णविन्यास विवादबाट नेपाली भाषा, धर्म, संस्कृति, राष्ट्र र राष्ट्रिय एकता एवं अखण्डतामा विचलन, विकृति र विध्वंस गर्ने अपराधको रूपमा आइसकेको छ । यसलाई आम देशभक्त र राष्ट्रवादी नेपालीहरूले राम्रोसँग बुझिसकेका छन् । यी प्राज्ञ र प्रबुद्धको खोल ओडेका राष्ट्रघातीहरूप्रति राज्य, सरकार र आम नेपाली जनताले के गर्न सक्छन् र यो समस्याको समाधान कसरी गर्न सकिन्छ ? सबैको गम्भीर चासोको विषय हुन गएको छ । राज्यस्तरबाटै विशेष अनुसन्धान गरी समाधान यथाशीघ्र निकाल्नुपर्छ ।

भाषा, साहित्य, संस्कृति, धर्म र राष्ट्रिय स्वतन्त्रता एवं स्वाभिमानमा आँच आउने गरी भएका कार्यले राष्ट्रहित प्रतिकुल आचरण र कार्यमा राष्ट्रले कुनै पनि छुट दिई मौनता साँध्न नहुनेमा आम नेपाली एकमत रहेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशको छानबिन गर्ने भन्ने सामान्य निर्णयले मात्र अपराधको गुरुत्व घटाउन सक्ने अवस्था छ जस्तो देखिँदैन । यो विवाद सिर्जनाको पछाडिको कसको हात रहेको छ र कोको व्यक्ति, सरकार, देशीविदेशी कुन-कुन शक्ति समूहहरू लागेका छन् । त्यसको यथार्थ चित्र जनसमक्ष आउनुपर्ने आवश्यकता छ । त्यसमा अपराधको गाम्भीर्यको अनुपातमा दोषीलाई परिणाम पनि भोग्नु, भोगाउनुपर्ने हुन्छ ।

विद्यमान कानुनका आधारमा हेर्ने हो भने पनि नेपालको संविधान २०७२ को धारा ५(१) मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धिहरू नेपालको राष्ट्रिय हितको आधारभूत विषय हुनेछन् भन्ने र उपधारा (२) मा राष्ट्रहित प्रतिकुलको आचरण र कार्य संघीय कानुनबमोजिम दण्डनीय हुनेछ भन्ने व्यवस्था गरिएको र धारा ६ र ७ मा मातृभाषा राष्ट्रभाषा र देवनागरी लिपिमा नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्थाले नेपाली भाषा नेपालको स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान नेपालीको हक, हित, समन्नुति र समृद्धि जस्ता आधारभूत कुरासँग जोडिएको विषय हो ।

यस्तो राष्ट्रहित प्रतिकुल नेपाली भाषालाई समाप्त गरी धर्म, संस्कृति, साहित्य र परम्परा ध्वंस गर्ने कार्य कानुनले दण्डनीय नै हुन जान्छ । यस्तो स्थितिमा राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३ मा व्यवस्था भएबमोजिम राष्ट्रिय एकतामा खलल पार्ने नियतले अव्यवस्था उत्पन्न गरेको, राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै षड्यन्त्र गरेको आधारमा जन्मकैदसम्मको सजाय हुने अपराधको रूपमा पनि प्रस्तुत वर्णविन्यास विवाद टुंगोमा पुर्‌याउन सकिने हुन्छ ।

यसका साथै पाठ्यपुस्तक, पाठ्यक्रम, शब्दकोश तयार गर्ने अध्ययन-अध्यापन प्रचार-प्रसार गरी जनमत तयार गर्ने र भविष्यको सक्षम, इमानदार, नैतिकवान्, देशभक्त जनशक्ति उत्पादन गर्ने अख्तियारी पाएकाहरूको उक्त कार्य बदनियतपूर्ण रूपमा राष्ट्रद्रोही राष्ट्रविरोधी तत्वसँग मिली अख्तियारको दुरुपयोग गरी राष्ट्रघात गरेको अपराधको रूपमा पनि प्रमाणित हुनसक्ने अवस्था विद्यमान छ । भाषा, साहित्य, संस्कृति, धर्म र राष्ट्रिय स्वतन्त्रता एवं स्वाभिमानमा आँच आउने गरी भएका कार्यले राष्ट्रहित प्रतिकुल आचरण र कार्यमा राष्ट्रले कुनै पनि छुट दिई मौनता साँध्न नहुनेमा आम नेपालीहरू एकमत रहेका छन् । यसका लागि राज्यव्यवस्था र सरकार नै सक्रिय भई समस्याको समाधान गर्नु आजको पहिलो आवश्यकता हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.