भारत: कस्तो छिमेकी
दक्षिण एसियामा यतिखेर द्वन्द्व चुलिँदै गएको अवस्था छ । भारतले कश्मीर समस्याको जगमा यो द्वन्द्वलाई नयाँ मोडमा पुर्याएको छ, पाक सीमा क्षेत्रमा 'सर्जिकल स्ट्राइक' नामक कारबाही गर्दै । कश्मीर समस्याको कारण भारत र पाकिस्तानले अहिलेसम्म तीनपटक युद्ध गरिसकेका छन् । दुवै मुलुक यो समस्या समाधानतर्फ भन्दा यसलाई राजनीतिक तुष्टिको माध्यम बनाउन उद्यत् छन् । आखिर मारिने कश्मिरी जनता नै छन् ।
आआफ्ना कुत्सित उद्देश्य साँध्न मग्न विश्व शक्तिहरू खासमा अहिले चलेकै वल्र्ड अर्डर (संसार पद्धति) लाई टिकाउने ध्येयमा छन् । लाखौं मानिस मारिने गरी चलेका विभिन्न देशका गृहयुद्धमा नभए किन ठूला मुलुकहरूको संलग्नता भन्ने प्रश्न एक किसिमले उठि नै रहन्छ । तर प्राप्ति र दम्भको होडमा यो प्रश्न सोधाइ त्यत्तिकै बिलाउँछन् । राष्ट्रसंघ महासचिव वान कि मुनले सिरिया द्वन्द्वको विषयमा हालै सम्पन्न महासभामा गरेको टिप्पणी यही सोधाइको एउटा प्रतिविम्ब हो । उनले अमेरिका, रूस, पश्चिमा राष्ट्र सबैलाई घाँटीमा अड्किने गरी भने, 'यहाँ उपस्थित कतिपय प्रतिनिधिको हातमा सिरिया द्वन्द्वको रगत लत्पतिएको छ ।' तर त्यो भनाइ मुनको मनको तुष मार्नेबाहेक केही हुनेवाला देखिँदैन । तिनै शक्ति मुलुकको अनुदानबाट चल्ने एकखाले उत्कृष्ट जागिरे संस्थाभन्दा खासै केही बन्न सकेको देखिँदैन राष्ट्रसंघ ।
यो विश्व परिवेशमा भारतसमेत एउटा शक्ति मुलुक बनेर उदाउन खोजिरहेको छ । खासगरी जनसांख्यिक सामथ्र्य र भूगोलले दिएका स्रोतसाधनबीच ठूलो विश्व बजार बनिरहेको भारतले दक्षिण एसियालाई नेतृत्व दिन चाहेको हो । तर धेरैजसो सांस्कृतिक र चेतनागत मानकहरूका कारण भारत दक्षिण एसियाको प्रगतिशील नेतृत्व गर्नेभन्दा क्षेत्रीय विग्रहको खेलाडीका रूपमा चित्रित भइरहेको छ । उसका आफ्नै सामरिक समस्याबाट यो कुरा प्रस्ट भइरहेको छ । ऐतिहासिक तथा आणविक दुस्मनका रूपमा पाकिस्तानले भारतलाई सधैँ मुर्मुरिने खजाना मात्र दिइरहेको छ । अर्कोतिर चीनले मौलिक खाले आधुनिक अधिनायकवादी शासन पद्धतिबाट आफ्नो भौगोलिक अखण्डता र आर्थिक समृद्धिसहित विश्व राजनीतिमा निर्णायक खेलाडी बन्ने लक्ष्यलाई प्रमाणित गरेको अवस्था पनि प्रजातान्त्रिक भारतको लागि ठूलो तनाव हो ।
यसैगरी नेपाल, बंगलादेश, श्रीलंकालगायत साना मुलुकहरू पनि भारतसँग सदैव असन्तुष्टिकै स्थितिमा छन् । भुटान मात्र त्यस्तो मुलुक हो, जो भारतले चाहेजसरी चल्ने मानेको छ, आमस्तरमा । विश्व जनसंख्याका ठूलो हिस्सा बोकेको एउटा क्षेत्र नै आफ्नो हिसाबले चलोस् भन्ने चाहना भारतले किञ्चित सुहाउँदैन । भारत अझै पनि संसारको त्यस्तो मुलुक हो, जसले अझै अन्य कुनै पनि मुलुकको भन्दा बढी गरिबीको भारी बोकिरहेको छ । जहाँ अझै धेरै विभेद, भेदभाव, शोषण, उत्पीडन र हिंसा व्याप्त छ । पहिले आफ्ना मामिला मिलाएर, आफू बनेर अर्कालाई बनाउँछु भन्दा सुहाउने कुरा होला । अनि त्यसले इच्छित असरसमेत निकाल्न सक्छ ।
के यस्तो भएको भारतसँग सामथ्र्य र सम्भावना नभएरै हो त ? विल्कुल होइन । भारत विकास र सामारिक शक्तिको हिसाबले चीनभन्दा अझै पाँच दसक पछाडि पर्नुको एउटै कारण हो, मानसिकता । नभए पूरै संसार आज भारत जान र बुझ्न चाहन्छ । संसारमा मानवताका मूल्य श्रीगणेश गर्ने वैदिक सनातन धर्मसंस्कृतिको आधारभूमि हुनु नै भारतको सबैभन्दा ठूलो विश्व आकर्षण हो । जसका आधारमा भारत आज दुनियाँका लागि समभाव र सहिष्णुताको उत्कट परिचायक बन्नुपर्ने थियो ।
तर आज ऊ युद्ध, अविश्वास र क्लेषको प्रतिच्छायामा रुमल्लिनु परिरहेको छ । आफनो सीमा क्षेत्रलाई चुस्त राख्न नसकेको विषयलाई ढाक्न वर्तमान भारतीय सरकारलाई केही न केही मसला चाहिएको थियो । सर्जिकल स्ट्राइक गरियो । तर नेपालीहरूमाथि लगभग एक वर्ष लगाएको नाकाबन्दी केको स्ट्राइक थियो त ? नेपालीहरूले भारतीय भूमिमा गएर आक्रमण त गरेका थिएनन् पक्कै । नेपाली जनताले मतादेशको माध्यमबाट आफ्नो संविधान आफैं बनाएपछि, अन्तिम अवस्थामा आएर नगर भन्दा मानेनन् भनेर भोलिपल्टैदेखि गौँडा रोक्नुको औचित्य भारतीय संस्थापनले सायदै प्रमाणित गर्न सक्ला ।
विचरा नेपालीहरू सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनहरू मिचेर मित्र मुलुकले नै त्यस्तो व्यवहार गर्दा मरुभूमिमा तिर्खाले छट्पटाए झैं बसे । विश्व समुदायका अगुवाहरूले त्यतिबेला देखाएको उदासीनता नेपाली जनताको लागि अर्को पीडा थियो । महासचिव मुनले अहिले सिरियाको मामिलामा झैं त्यतिबेला नेपालमा मानवीय संकट छ भन्दै घुमाउरो टिप्पणी गरे । शरण पर्दा राष्ट्रसंघको प्रस्ताव लत्याउने शक्ति मुलुकहरूको बोलवाला चलेको विश्वमा त्यो भनाइले माखो मारेन ।
यतिखेर नेपाल र भारतबीचको समस्या अल्पकालीन समाधानमा गएजस्तो देखिन्छ, तर कटु यथार्थ भुल्न मिल्दैन कि भारतले अझै पनि लगभग ८० प्रतिशत जनादेशको समर्थन पाएको संविधानलाई स्वागत गरेको छैन । बरु जनयुद्धको जोसबाट समयक्रमसँगै अघोर भ्रान्तिमा पुगिसकेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रयोग गरी नेपाललाई पुरानै शैलीमा काबुमा राख्ने प्रवृत्ति पुनरावृत गराइएको छ । यसबाट भारतलाई कालान्तरमा झन् अहित हुने देखिन्छ । सत्य के हो भने नेपालमा सधैँ यस्तै राजनीतिक मति चलिरहन्छ भन्ने छैन । भ्रष्टाचार र लाचारीको जगमा बनेका राजनीतिक नेतृत्वलाई आउने युवा पुस्ताले नस्विकार्ने पक्का छ । लाग्ला केही वर्ष, बस् त्यत्ति हो ।
छुच्चोपन, दारिद्रय र भित्रभित्र कोपरिएर अरूको शान्ति हेर्न खप्न नसक्ने प्रवृत्ति यो क्षेत्रमा कसरी पलायो, यसका नायकहरू को–को हुन्, यसबारे गतिलो समाजशास्त्रीय अध्ययन जरुरी छ ।
जस्तो-नेपालमा भारतप्रतिको मनोविज्ञान कायम छ, अन्य दक्षिण एसियाली छिमेकी मुलुकहरूमा त्योभन्दा बढी नकारात्मक पक्ष भावना छ । केही गरेर विश्वासमा लिने, आफ्नो हितमा काम गराउने शैली मात्रै टिकाउ हुन सक्छ । त्यसो नगर्दा भारतीय एजेन्डाले हरेक मुलुकमा आउने वर्षमा ठक्कर खाने देखिन्छ । श्रीलंकामा गरिएको राजनीतिक प्रयोग उल्टिने अवस्था छ । नेपालमा अबको निर्वाचनको दृश्य अहिले लगभग बनिसकेको छ । पाकिस्तान एकातिर कश्मीरसँग भारतसँग पौँठाजोरी खेल्दै अर्कोतिर बलुचिस्तानको विकासमा चीनसँग विशाल सहकार्य गर्दैछ ।
यो परिवेशमा हरेक छिमेकीसँग धुनमुनिने गरी आफ्नो भए नभएको तागत खेर फाल्नुभन्दा भारतले समदूरीको मित्रता अगाडि बढाउन जरुरी छ । आखिर मित्रताबाट सबैभन्दा बढी फाइदा लिने भारतले नै हो । मात्रै दुई नदीको ऊर्जाले भारत र भुटानबीच त्यस्तो गठजोड बन्यो । नेपालले त एउटा सार्वभौम मुलुकले पाउने सम्मान मात्र खोजेको हो । त्यसको इमानदार प्रत्याभूति हुँदा भारतले सारा हिमालय पर्वतको फाइदा आफ्नै खेती खलियानमा पाउँछ । नेपालले आफ्नो अपार जलराशि मोडेर तिब्बततिरै फर्काउन सक्ने होइन ।
आधुनिक संसारमा मानव जातिले खोजेको समृद्धि मात्रै हो । समृद्धिकै कारण आज विकसित पश्चिमा जगत् मानव विकासका उत्कृष्टतम् प्राचीन मूल्यहरूको पुनर्खोजतर्फ लागेको छ । सांस्कृतिक क्रान्ति नामक तथाकथित अभियानबाट रुग्ण बनेको चीन अब बौद्धधर्मलाई खुलेआम बढावा दिँदै आफ्नो वातावरण मानवमैत्री बनाउन खोजिरहेको छ । केही ठूला शक्तिराष्ट्रका स्वार्थहरूलाई समयले ठेगान लगायो भने मुस्लिम जगत् पुनः शान्तिको बाटोमा आउनेछ । परन्तु दक्षिण एसियामा त केही समस्यै थिएन । एक हदमा गरिबी थियो तर सनातन संस्कृतिको बलमा मिलाप एवं सेवायः परमोधर्मको भावना सर्वत्र थियो ।
यो छुच्चोपन, दारिद्र्य र भित्रभित्र कोपरिएर अरूको शान्ति हेर्न खप्न नसक्ने प्रवृत्ति यो क्षेत्रमा कसरी पलायो, यसका नायकहरू को–को हुन्, यसबारे गतिलो समाजशास्त्रीय अध्ययन जरुरी छ । यो क्षेत्रको नेता मुलुक भारतले यसबारे सिंहावलोकन गर्नु वर्तमान समयको अहम् आवश्यकता हो । नभएदेखि यो अवस्था अर्वुद रोग जसरी फैलिँदै जानुको विकल्प देखिँदैन ।
अन्त्यमा, फेरि ऋषिमन
प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा संसद्मा सम्बोधन गर्दै नरेन्द्र मोदीले ऋषिमनको दुहाइ दिनुभयो । काठमाडौंका सडकमा जनता उर्लेर स्वागत गरेपछि उहाँ भावातित मुद्रामा ऋषिमनको चर्चा गर्दै हुनुहुन्थ्यो । नेपालमा संविधाान जारी भएपछि उहाँ दुर्वासा शैलीमा रन्किँदै आफ्ना शुक्राचार्यहरूको वश परिरहेकै स्थिति छ । हाम्रा पौराणिक ग्रन्थहरूले ऋषिभित्रका पनि विभिन्न वर्ग छुट्ट्याइदिएका छन् ।
भारतीय राष्ट्रपति शीघ्र नेपाल आउँदै हुनुहुन्छ । उहाँको स्वागतमा नेपालीहरूले कुनै कसर राख्दैनन् । तर उहाँले कुन मनको कुरा गर्नुहुन्छ, ठूलो प्रतीक्षाको विषय छ ।