सेलिब्रेटीको डिभोर्स गराउने वकिल
एजेन्सीः सेलिब्रेटीको डिभोर्स गराउने सेलिब्रेटी वकिलका रूपमा नाम कमाएकी छन्, ४८ वर्षीया लाउरा वासरले । उनी अमेरिकाकी ख्यातिप्राप्त वकिल हुन्। लाराको हातमा यति बेला हलिउडका प्रख्यात सेलिब्रेटी जोडी ब्राड पिट र एन्जेलिना जोलीको मुद्दा परेको छ ।
अभिनेत्री जोलीले लारालाई हायर गर्न लागेकी हुन् । धनाढ्य तथा चर्चित अमेरिकनको डिभोर्स गराउनेमा नाम कमाएकी लाउराको शुल्क निकै चर्को छ । उनी मुद्दा हेरेको शुल्क घन्टाको हिसाबले लिने गर्छिन् । उनले एक घन्टाको शुल्क ५६ हजार डलरसम्म लिने गरेकी छन् ।
उनले एउटा मुद्दाबाट नै १७ लाख डलरसम्म लिने गरेको बताएकी छन् । एन्जेलिना जोलीले आफ्ना पूर्वपति बिली बोससँग डिभोर्स गर्दा पनि लाउराकै सहायता लिएकी थिइन् । लाउराले प्रख्यात सेलिब्रेटीहरू जोनी डिप र अम्बल हर्डको पनि डिभोर्स गराएकी थिइन् । त्यस्तै ब्रिट्नी स्पेयर्स, जेनिफर गार्नर, किम कार्दायसिन, कोल कार्दायसिन, टम क्रुज, जेनिफर लोपेजलगायत सेलिब्रेटीका डिभोर्स उनैले गराएकी हुन् ।
दुई सन्तानकी आमा लाउराको सिग्नेचर स्टाइलको छ इन्च अग्लो हिल छ । त्यही हिल उनी हर समय लगाउने हुनाले यसले उनको ब्यक्तित्वलाई पनि निकै राम्रो देखाउँछ । एकल आमाका रूपमा आफ्ना छोराछोरीलाई हेरिरहेकी लाउराका बुवा पनि वकिल नै थिए ।
लाउराले छोटो समयमा सेलिब्रेटीहरूसँग नजिकिएपछि उनीहरूको गोप्यता सबै थाहा पाएको पनि बताएकी छन् । उनले पारिवारिक कानुनमा विषेशगरी पुरुषले शासन गरेको आफूले देखेको बताइन् ।
उनले परिवार र बच्चाका लागि प्रायःजसो मुद्दाहरू मिलाउन चाहेको दाबी गरेकी छन् । ‘न्यायाधीशको फैसलामा कुनै एक पक्ष खुसी हुनै सक्दैन । मकहाँ आउने समस्यालाई मिलाउन चाहन्छु । समस्या समाधानकर्ता बन्न चाहेकी छु’, लाउराले भनिन् ।