दसैंको रमझममा नाटकको उत्सव

दसैंको रमझममा नाटकको उत्सव

विराटनगरः दसैंले नेपालीको घर छोपिसकेको छ । दैलोसम्म आएको दसैंलाई अझ उल्लासमय बनाउन सहर र गाउँमा रमझम पनि सुरु हुँदैछ । सहरमा बस्नेहरू गाउँ फर्कंदैछन् । गाउँमा घर पोत्ने, सरसफाइ गर्ने र पिङ हाल्ने चटारो पनि छँदैछ । तर, विराटनगर र मोरङको ग्रामीण भेगमा भने दसैंको रमझमलाई नाटकको उत्सवले अझ उल्लासमय बनाएका छन् ।

मोरङको झोराहाट नाटकघरमा ‘घरभित्रको अर्को घर’ मञ्चन भइरहेको छ । दर्सैंको चाप बढेसँगै गाउँको यो थियटरमा दिनको दुई सो नाटक प्रदर्शन भइरहेको छ । नाटकका लेखक भरत गुरागाईंले भने, ‘दसैं मान्न गाउँ आएका र यही गाउँमा भएकालाई लक्षित गरेर हामीले फूलपातीका दिनसम्म सो राखेका छौं ।’ थिएटरको क्षमताभन्दा धेरै दर्शक आएपछि दिउँसो र साँझ गरी दुई सो चलाउने गरिएको गुरागाईंले बताए ।

‘घरभित्रको अर्को घर’ सामाजिक परिवेशको नाटक हो । यसमा एकजना वृद्ध मुख्य पात्रका रूपमा उभ्याइएको छ । छोराबुहारीले उनलाई पहिले माया गरेझैं गर्छन् तर सबै सम्पत्ति हडपेपछि ती वृद्धलाई वृद्धा श्रममा लगेर राखिदिन्छन्, फर्केर हेर्दैनन् । समयसँगै नेपाली समाज कसरी परिवर्तन हुँदैछ, घरभित्र कसरी बेग्लै संसारको सृष्टि भएर अभिभावकलाई एक्ल्याइँदैछ भन्ने कथाकै सेरोफेरोमा नाटक बगेको छ । नाटकका निर्देशक जीवन बराल भन्छन्, ‘इन्टरनेट र प्रविधिको विकाससँगै परिवारमा आएको विखण्डन र फेसबुकले जीवनमा पारेको प्रभावलाई पनि नाटकमा देखाउन खोजिएको छ ।’ समग्रमा नेपाली समाजले रूपान्तरणको नाममा पछ्याएको विकृति नै नाटकको मुख्य मर्म रहेको उनले बताए ।

नाटकमा कलाकार रामप्रसाद न्यौपाने, प्रयाग न्यौपाने, अनु श्रेष्ठ, मानङ लावती, सुनीता कट्टेल, प्रदीप सरदार, सुदीप कार्की, अनिल सरदार, मनीषा बराल, निराशा ढुंगेल, मनोज तिम्सिना, सुरज माझी र सबिन कोइरालाले अभियन गरेका छन् ।

दसैंकै मुखमा विराटनगरको आरोहण गुरुकुलले सुशीला कोइराला नाटकघरमा पनि नाटक हेर्ने व्यवस्था मिलाएको छ । चार दिनसम्म हाउसफुल रूपमा ‘छिँडीभरिको आकाश’ नाटक मञ्चन भएको छ ।

विराट् आदर्श साहित्यिक मञ्चको आयोजनामा वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिँडीभरिको आकाश’ कथालाई युवा साहित्यकार कटवाल दीपकले नाट्य रूपान्तरण गरेका थिए । नाटकको निर्देशन सञ्जय मुडियारीले गरेका हुन् । विश्वविद्यालयको कोर्समा समेत सामावेश यस कथाले गरिब नेपाली जनजीवनको चित्रण गरेको छ । नाटकमा साहित्यिक मञ्चमा आबद्ध कलाकारले अभिनय गरेका छन् ।

विराटनगरको आरोहण गुरुकुलमा पूर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गत नाटक मञ्चन हुने भएको छ । रंगकर्मी दयाहाङ राईले निर्देशन गरेको नाटक ‘डिग्री माइला’ यही कात्तिक १२ गते गुरुकुल आरोहणको सुशीला कोइराला नाटकघरमा मञ्चन हुन लागेको हो । काठमाडौंको मण्डला थियटर नेपालको लेट्स इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा यात्रा हुँदैछ । कात्तिक ४ गते विराटनगरमै घुम्ती रंगमञ्च बस जूनकीरीमा राजन खतिवडाको निर्देशन रहेको मनचिन्ते फिरन्ते नाटक मञ्चन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.