मिलनको आधा दसैं अस्ट्रेलियामा
काठमाडौंः गायिका मिलन अमात्यले ‘विश्वसुन्दरी’ गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि दर्शकबाट राम्रो प्रतिक्रिया पाइन् । त्यसपछि उनले आफ्नै गीतको म्युजिक भिडियोमा खेल्ने अठोट गरेकी हुन् ।
उनको भर्खरै रिलिज भएको गीत ‘लट्ठै बनायौ’को म्युजिक भिडियोमा उनले गरेको अभिनयलाई धेरैले मन पराएका छन् । म्युजिक भिडियोमा अभिनय गर्नुपहिले नाटकीय ढंगमा आफ्नो वजन घटाएका कारण अमात्य हिजोआज चर्चामा छिन् । भन्छिन्, ‘फिट भए पो भने लगाएको सुहाउँछ, स्वास्थ्य पनि बन्छ । यही अभिप्राय जबदेखि मनमा आयो, त्यसपछि स्लिम बन्ने सोचेकी हुँ ।’
नेपाली संगीत क्षेत्रमा एउटा राम्रो गायिकाका रूपमा छवि बनाइरहेकी मिलनले करिब ६ महिनाको अवधिमा १३ किलो तौल घटाइन् । ६८ देखि ७० को बीचमा रहने उनको तौल यति बेला ५५ किलोमा झरेको छ । तौल घटाउन उनी भोको बस्दिनन् तर स्वस्थ खानामात्रै खाने गरेको उनी बताउँछिन् । नियमित जगिङ गर्ने र क्यालोरी हेरेर खाना खानाले पनि उनलाई फाइदा भएको छ । ‘खानाचाहिँ टन्नै खान्छु, डाइटिङ गर्दिनँ’, उनले थपिन् ।
मोडलिङमा लाग्ने कुनै रहर छैन उनलाई । तर, आफ्नै गीतमा मोडलिङ गरेकी मिलन भन्छिन् , ‘चित्त बुझ्यो भने एकदमै सेलेक्टेड गीतमा मोडलिङ गर्छु ।’ उनको नयाँ म्युजिक भिडियोमा रहेको वेस्टर्न ग्लामरस लुक्सलाई सबैले मन पराएका छन् ।
नवमीको दिन बर्दिवासमा हुने एक कार्यक्रममा भाग लिन जान लागेकी मिलन दशमीको दिन टीका लगाएर अस्ट्रेलिया जाने तयारीमा छिन् ।