‘रोगकै बारेमा अन्जान छन् स्वास्थ्यकर्मी
बर्दियाः नेपालमा देखा परेको स्क्रव टाईफस रोगका वारेमा बर्दियाका स्वास्थ्यकर्मीहरु अन्जान देखिएका छन् ।
पछिल्लो समय नेपालका विभिन्न जिल्लामा देखा परेको स्क्रव टाइफस रोग बर्दिया जिल्लामा देखा परिसक्दा समेत जिल्लाका स्वास्थ्यकर्मीहरुले तालिम नपाउँदा रोगकै वारेमा अनविज्ञ बनेका हुन् ।
भर्खर मात्र जिल्लामा देखा परेको स्क्रव टाईफस रोगका वारेमा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरु अनविज्ञ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक सुनिल पाण्डेले बताए ।
यो रोगका वारेमा कुनै पनि स्वास्थ्यकर्मीले तालिम नपाउँदा समस्या परेको उनी वताउँछन् । नेपालगंज स्थित नर्सिङ्ग होममा ल्याव परिक्षण गर्दा खैरीचन्दनपुर गाउँ विकास समितिका ३ जना व्यक्तीमा स्क्रव टाईफस पोजेटिभ देखिएको छ ।
उनले थपे गत वर्ष बर्दियाको ओराली वजारको खाता क्षेत्रमा १ जनामा यो रोग देखिएको थियो । मुसाको कानमा वस्ने माईटको माध्यमबाट मानिसमा सर्ने योरोग ल्याव मार्फत एन्टीजीन एन्टीवोडी परिक्षण गर्दा तिन जना व्यक्तीमा देखिएको हो ।
पाण्डेका अनुसार स्क्रव टाइफस प्रभावित विरामीहरुमा ज्वरो आउने, छालामुनी रगत जम्ने, फियो सुन्निने, वान्ता हुने, छट्पटाउने लगायत वेहोस हुने जस्ता लक्षणहरु देखिने गरेको पाईन्छ । समयमै रोगको पहिचान गरी उपचार गरे योरोग निको हुने वताउँदै जिल्लाका स्वास्थ्यकर्मी हरुलाई यथाशिघ्र तालिम दिनु पर्ने प्रष्ट पारे ।
मुसाको कानमा बस्ने एक प्रकारको सुस्म किरा (माईट) झारपातमा सर्ने र त्यसले टोकेपछि ओरेन्सिया सुसुगामोसी नामक जीवाणु मानिसको शरिरमा प्रवेश गरेपछि स्क्रव टाईफस सर्ने चिकित्सकको भनाई छ । यसको जीवाणु मानिसको शरिरमा प्रवेश गरेको ५ देखि २० दिनमा लक्षण देखा पर्ने जनाईएको छ ।
जिल्ला अस्पताल बर्दियामा स्क्रव टाइफस परिक्षणका लागि प्रयोगशालामा कीट उपलव्ध नहुँदा समस्या रहेको जिल्ला अस्पताल बर्दियाका निमित्त प्रमुख डा. रञ्जन थपलिया बताउँछन् । लक्षण थाहा पाएपनि ल्याव परिक्षणमा समस्या छ उनले थपे जिल्लामा स्क्रव टाइफस रोगका विरामी देखा परिसक्दा समेत विभागबाट सर्तकता सम्वन्धि कुनै निर्देशन आएको छैन ।
स्क्रव टाइफस रोगको उपचारको लागि जिल्ला अस्पताल बर्दियामा कुनै तयारी नै नभएको उनी वताउँछन् । विरामीहरु देखा परेपछि अव स्वास्थ्यकर्मीहरुलाई रोगको वारेमा अभिमुखीकरण दिन जरुरी भैसकेको थपलियाले बताए ।