भारतको गेम प्लान

भारतको गेम प्लान

लामो समयदेखि भारतले नेपालमाथि हस्तक्षेप गर्दै आएको जगजाहेर नै छ । यसविरुद्ध नेपालमा कहिले उच्चस्तरका र कहिले सामान्य स्तरका संघर्षका कार्यक्रम पनि हुँदै आएका छन् ।

कुनै समयमा नेपालको क्याबिनेट बैठकमा भारतीय राजदूत वा उनले खटाएको प्रतिनिधि बस्ने परम्पराबाट हुर्कंदै गएको नेपाल-भारत सम्बन्ध पछिल्लो चरणमा आइपुग्दा प्रधानमन्त्री हटाउने र प्रधानमन्त्री बनाइदिनेसम्मका क्रियाकलाप हुँदै अघि बढिरहेको छ ।

नेपाली कांग्रेस (नेका) र माओवादी केन्द्र (माके) को गठबन्धन सरकार र पुष्पकमल दाहालको प्रधानमन्त्रीमा चयन यसको ताजा उदाहरण बनेको छ । नेपालमा यतिखेर राष्ट्रिय स्वाधीनताको विषय यिनै घटनाक्रमसँग गाँसिएका छन् र यसको विषयमा छलफल गर्दा पनि यसै आधारमा गर्नु नै सही हुने देखिन्छ ।

असंलग्न परराष्ट्र नीति

दोस्रो विश्वयुद्धको विभीषिकाबाट पाठ सिक्दै संसारका धेरै देशशक्ति राष्ट्रद्वारा बनाइएका सैनिक संगठनमा सामेल नहुने र अलग बस्ने वा कुनै गुट वा ब्लकमा संलग्न नहुने मान्यताअनुसार असंलग्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय संगठन नै बन्यो र यसले विश्वमा असंलग्न आन्दोलन नै खडा गर्‍यो । cp-gajurel_1

सानातिना प्रयास अघिबाटै हुँदै आएको भए पनि सन् १९५५ मा बेलग्रेडमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले यसलाई निकै मात्रामा अघि बढायो । भारत र चीनका बीचमा भएका द्वन्द्व र विवादले केही समय समस्या उत्पन्न भयो । सन् १९६१ मा बेलग्रेडमा भएका असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनले औपचारिक रूपमै यसलाई सांगठनिक रूप दियो । अहिलेसम्म यसका १५ वटा शिखर सम्मेलन भइसकेका छन् । कुनै समयमा यो असंलग्न आन्दोलन विश्वस्तरमै निकै प्रभावी थियो । केही वर्षयता आएर यसमा केही शिथिल जस्तो देखिएको छ ।

विश्वका सबैभन्दा ठूलामध्येका दुई देशका बीचमा हाम्रो देश अवस्थित हुनु, ती दुई देशका बीचमा लामो समयदेखि विवाद, द्वन्द्व र युद्धसमेत हुनु र शीतयुद्धकालमा पनि विभिन्न प्रकारका प्रतिस्पर्धा भइरहनु आदि कारणले नेपालको लागि असंलग्न परराष्ट्र नीति नै सही नीति हो ।

नेपालमा विभिन्न व्यवस्था र सरकारहरू फेरबदल भए पनि नेपालको यो असंलग्न परराष्ट्र नीतिमा खासै परिवर्तन भएन । यसले नेपालको अस्तित्व रक्षा र विकासको लागि सकारात्मक योगदान पुर्‍याएको थियो । यो कुरा सत्य हो कि कुनै क्याम्पमा, कुनै शक्ति राष्ट्रको ब्लकमा सामेल भएको भए, नेपाल आज यतिको अवस्थामा पनि रहन सक्ने थिएन ।

भारतको गेम प्लान

ब्रिटिस शासनको अन्त्य भइसकेपछि नेपालीले अपेक्षा गरेको विषय के थियो भने भारतले नेपालसँग समानताको सम्बन्ध कायम गर्नेछ, ब्रिटिस उपनिवेशवादको उत्तराधिकारीका रूपमा भारतले नेपालप्रतिको व्यवहार गर्ने छैन । त्यही मान्यता राखेरै नेपालका पुरानो पुस्ताका विभिन्न नेता भारतको ब्रिटिस साम्राज्यवादविरोधी आन्दोलनमा संलग्न भएका थिए र भारतीय जेलमा बन्दी जीवन बिताएका थिए ।

तर नयाँ भारतीय शासकले नेपाललाई त्यही व्यवहार गरे, जुन अंग्रेजी शासकहरूले गरेका थिए । भारत अहिले पनि दक्षिण एसियाको प्रभुत्व आफूले लिन चाहन्छ र नेपाललाई त्यही प्रभुत्वभित्र राख्न चाहन्छ ।

भारतको गेम प्लानका विषयमा विभिन्न परराष्ट्र विषयका ज्ञाताहरूले आफ्ना रचनाहरूमा उल्लेख गरेको पाइन्छ । प्रा.डा. गोपाल शिवाकोटीले लेखेका छन्, ‘...भारतको तात्कालीन लक्ष भुटानीकरण र फिजीकरण हो भने अन्तिम लक्ष अर्थात् दीर्घकालीन लक्ष सिक्किमीकरण हो । अहिले भुटानीकरणको लागि भारतले अभ्यास गरिरहेको छ ।

भुटानीकरणको अर्थ जलस्रोत, सुरक्षा र परराष्ट्र, सञ्चारलगायतका महत्वपूर्ण क्षेत्र कब्जामा पार्नु हो ।' (संक्रमणमा नेपालको परराष्ट्र सम्बन्ध, पैरवी प्रकाशन, पृ.२११) ।

भर्खर भारतको नरेन्द्र मोदी सरकारद्वारा प्रचण्डलाई प्रधानमन्त्रीमा आसीन गराएर भारतको ‘राजकीय भ्रमण' को आयोजना गरेपछि नेपालका प्रधानमन्त्री प्रचण्डले भुटानीकरणको योजना लागू गराउन दुई महत्वपूर्ण काम गरेका छन्- पच्चीसबुँदे संयुक्त विज्ञप्तिमा हस्ताक्षर र विगतमा नेपाल र भारतका बीचमा भएका सबै असमान सन्धि-सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

। यो चर्चा केवल नेपालमा मात्र सीमित छैन । हाम्रा मित्रराष्ट्रका नेताहरूले नेपाललाई भुटानसँग तुलना गरेर खुलारूपमा बोलिरहेका छन्, त्यो कुरा बिना तथ्य बोलेका होइनन् ।

विज्ञप्ति कसरी असंलग्न नीतिविरुद्ध

यो सानो लेखमा पूरै २५ बुँदे सहमतिका विषयमा व्याख्या त सम्भव छैन, केवल त्यसको ११ नं बुँदाका विषयमा मात्र चर्चा गरिनेछ । उक्त बुँदामा लेखिएको छ- ‘दुवै प्रधानमन्त्रीहरू विश्वास गर्दछन् कि दुवै देशले प्रमुख अन्तर्राष्ट्रिय विषयमा ....समान धारणा राख्छन् ।' यसबाट स्पष्ट हुन्छ कि नेपालले अब आइन्दा स्वतन्त्रतापूर्वक निर्णय लिने अधिकार परित्याग गरेको छ र भारतको नीतिलाई नै नेपालले आफ्नो नीति मानेर लागू गर्नेछ । यसको व्यावहारिक कार्यान्वयन पनि यसै बुँदामा उल्लेख भएको छ, ‘नेपाली पक्षले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यताको भारतको उम्मेदवारीलाई समर्थन दोहोर्‍याउँछ ।'

अमेरिकाले भारतसँग दीर्घकालीन महत्वको परमाणु र सुरक्षासँग पनि सम्बन्धित सन्धि गरिसकेको छ । यस अवस्थामा भारतीय छातामुनि नेपाललाई राख्ने नीतिले नेपाल विदेशी शक्तिको क्रीडास्थल बन्न सक्ने खतरा उत्पन्न भएको छ । यसको निमित्त नेपालको वर्तमान सरकार जिम्मेवार हुनेछ ।

भारतले संयुक्त राष्ट्रसंघको स्थायी समितिको सदस्यताको लागि उम्मेदवारी दिएको सन्दर्भमा भारत सरकारले आफ्नो देशको उम्मेदवारीको पक्षमा लबिङ गर्ने कुरा स्वाभाविक हो । नेपालको तर्फबाट उक्त उम्मेदवारीलाई समर्थन गर्ने वा नगर्ने भन्ने कुरा दुई देशका बीचमा भएको द्विपक्षीय वार्ताका दौरान कूटनीतिक किसिमले व्यक्त गरिने विषय हो । यो राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्वको प्रधानमन्त्रीस्तरीय द्विपक्षीय विज्ञप्तिमा उल्लेख हुने विषय होइन । तर यो विषयलाई पनि यसै बुँदामा राखेर जसरी ल्याप्चे लगाउने काम गरियो, यो नेपालको भारतीय ब्लकमा सामेल भएको स्वीकारोक्तिको रूपमा गरिएको हो भन्ने बुझ्न सकिन्छ ।

यसबाट नेपालले असंलग्न परराष्ट्र नीति परित्याग गरेर भारतीय ब्लकमा सामेल भएको कुराको पुष्टि भएको छ । यसको नकारात्मक असर अब नेपालको अन्य देशसँग भएका सम्बन्धमा प्रतिविम्बित हुँदै जानेछ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि उनले चिनियाँ राष्ट्रपति र भारतीय राष्ट्रपति दुवैको नेपाल भ्रमण गराउनु आफ्नो सरकारको ठूलो सफलताको रूपमा प्रचार गरेका थिए । तर अहिले आएर के प्रस्ट भएको छ भने भारतको गोवामा हुन लागेको ‘ब्रिक्स' को शिखर बैठकमा भाग लिन जाँदा नेपालमा रोकिने चिनियाँ राष्ट्रपतिको भ्रमणतालिका पूरै फेरबदल भएको छ ।

नयाँ तालिकाअनुसार नेपाल आउने भनिएको समयमा चिनियाँ राष्ट्रपति बंगलादेश र मंगोलिया जानेछन् । यो परिघटनाले नेपालको परराष्ट्र नीतिमा देखा परेको गम्भीर समस्या दर्शाउँछ ।

चीन र अमेरिकाबीचको प्रतिस्पर्धा र द्वन्द्व बढ्दै गएको छ । अमेरिका दक्षिण चीन सागरबाट मात्र होइन, ‘फ्री तिब्बत' को विषयलाई उठाएर नेपालबाट पनि घेर्ने रणनीतिमा छ । अमेरिकाले भारतसँग दीर्घकालीन महत्वको परमाणु र सुरक्षासँग पनि सम्बन्धित सन्धि गरिसकेको छ । यस अवस्थामा भारतीय छातामुनि नेपाललाई राख्ने नीतिले नेपाल विदेशी शक्तिको क्रीडास्थल बन्न सक्ने खतरा उत्पन्न भएको छ । यसको निमित्त नेपालको वर्तमान सरकार जिम्मेवार हुनेछ ।

आन्दोलनको सम्भावना

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गत भदौ ३१ गते नयाँदिल्लीमा जारी गरेको संयुक्त विज्ञप्ति जति राष्ट्रघाती छ, त्यस मात्रामा त्यसको विरोध हुन नसकेको सत्य हो । दसैंको मुखमै भएको उक्त परिघटनामा सडक आन्दोलन नहुनु पनि स्वाभाविकै हो । तर यस विषयमा नेपालमा केही पनि भएन भन्ने होइन ।

गत असोज २० गते अनामनगरमा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ‘२५ बुँदे सहमति र राष्ट्रघात' विषयमा भएको गोष्ठीमा नेपालका प्रायः सबै वामपन्थी पार्टीका नेताहरू-नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा (माले), नेकपा माओवादी, जनमोर्चा नेपाल आदि) को सहभागिता थियो र त्यहाँ उल्लेखनीय रूपमा सचेत व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।

असोज २१ गते सातवटा वामपन्थी नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकमा (माले), नेकपा (माक्र्सवादी), नेकपा (माक्र्सवादी), राष्ट्रिय जनमोर्चा, जनमोर्चा, नेपाल) पार्टीहरूको संयुक्त बैठकले आगामी कात्तिक ९ गते सडकमा जनप्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।

अन्य दुई वामपन्थी पार्टी (नेपाल मजदुर किसान पार्टी र नेकपा माओवादी) सहित यो कार्यक्रम नौ वाम पार्टीहरूको संयुक्त कार्यक्रम हुने सम्भावना छ । यसका साथै गैरवामपन्थी देशभक्तहरूले पनि असोज २१ गते नै यसै विषयमा एउटा गोष्ठीको आयोजना गरेका थिए ।

जसरी २५ बुँदे राष्ट्रघाती सहमतिले नेपाललाई असंलग्न परराष्ट्र नीति परित्याग गरी भारतको छातामुनि लैजाने र विदेशी शक्तिको क्रीडास्थल बनाउन सक्ने खतरा पैदा भएको छ, त्यसविरुद्ध देशभक्त शक्ति र तमाम देशभक्त नेपालीबीच ऐक्यबद्धता कायम गरी यो राष्ट्रघात र नेपालको राष्ट्रिय स्वाधीनतामाथिको आक्रमणबाट देशको रक्षा गर्नु आवश्यक छ । देश रहे मात्र हामी रहने कुरा सबैले बुझ्ने विषय हो । यस मुद्दामा नेपालीको एकता प्रदर्शित हुनु आवश्यक छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.