भुटानी शरणार्थी समस्या झन् पेचिलो

भुटानी शरणार्थी समस्या झन् पेचिलो

बिर्तामोडः भुटानी शरणार्थीको तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम सकिनै लाग्दा शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको समस्या भने झन् पेचिलो हुने देखिएको छ । एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका भुटानी शरणार्थीको समस्या तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमजस्तो सहज नहुने देखिएको हो ।

शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा, अशक्त र अपांग छन् । भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनस्र्थापना गराउने समयावधि सकिने बेला नजिकिँदै गर्दा बाँकी रहेकालाई भुटान फर्काउने वा स्थानीय समायोजनका विकल्प खोज्ने भन्नेबारे प्रयास भइरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

शरणार्थीलाई भुटान फर्काउन नसक्ने अभिव्यक्ति बेलाबेलामा भुटानी अधिकारीबाट सार्वजनिक हुने गरेकाले पनि उनीहरूको स्वदेश फिर्तीको माग जटिल बनेको नेपाली अधिकारीको बुझाइ छ । तेस्रो देश पुनस्र्थापना कार्यक्रमअन्तर्गत शरणार्थीहरू अहिलेसम्म क्यानाडा, ब्रिटेन, नेदरल्यान्ड्स, अमेरिका, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्यान्डमा पुनस्र्थापित भएका छन् ।

तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाख ६ हजार ३ सय ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानाडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय ५८, नेदरल्यान्ड्समा ३ सय २९, डेनमार्कमा ८ सया ७५, नर्वेमा ५ सय ७०, अस्ट्रेलियामा ६ हजार ६१ र न्युजिल्यान्डमा १ हजार ५८ भुटानी शरणार्थी पुनस्र्थापित भएका छन् ।

शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रम सकिएपछि करिब १० हजार भुटानी शरणार्थी शिविरमा रहनेछन् । तिनै शरणार्थीलाई फर्काउनका लागि भुटानले कुनै चासो नदेखाएकाले उक्त समस्या झन् पेचिलो बन्दै गएको छ ।

शरणार्थी मामिला हेरिरहेको गृह मन्त्रालयको स्थानीय प्रशासन शाखाका उपसचिव कोशहरि निरौलाले भने, ‘दातृ संस्थाले अब के गर्ने भन्ने विषयमा छलफल चलाइराख्नुभएको छ । अशक्त र अपांगता भएकाका लागि कसरी व्यवस्था गर्ने भन्ने विषयमा सोचिरहनुभएको छ । हामी प्रयासरत छौं ।'

बेलाबेला भुटानी अधिकारीले शरणार्थीलाई भुटान फर्काउने कुरामा असहमति जनाएका समाचार सार्वजनिक हुँदै आएका छन् । उक्त विषय राजनीतिक भएकाले राजनीतिक रुपमै सामाधान हुनुपर्ने निरौलाले बताए । उनले भने, ‘भूराजनीतिक अवस्थालाई पनि विचार गर्नुपर्ने हुन्छ, हतार गरेर गर्ने विषय पनि होइन । यो राजनीतिक विषय पनि हो ।'

तर शिविरमा रहेका भुटानी शरणार्थीले सम्मानपूर्वक भुटान फिर्तीको मागकै अडान लिएर तेस्रो मुलुक पुनस्र्थापनामा नगएको बेल्डाँगी शिविरका सचिव सन्चहाङ सुब्बाले बताए । सुब्बाले भने, ‘शिविरमा रहनेले सम्मानजनक स्वदेश फिर्ती नै खोजेका छन् । उनीहरू त्यही अडानमा बसेका छन् ।' यूएनएचसीआरको अनुमानमा २ हजार भुटानी शरणार्थी भुटान फर्कन चाहन्छन् र बाँकी नेपालमै बस्न रुचाउने अनुमान यूएनएचसीआरको छ ।

यूएनएचसीआरका नेपाल प्रतिनिधि केभिन एलनले भने, ‘करिब १० हजार शरणार्थीमा करिब २ हजार शरणार्थी भुटान जान र ८ हजार शरणार्थी नेपालमै बस्न चाहन्छन् । उक्त समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार, भुटानी शरणार्थी र नेपाली समुदायसँगको सहकार्य आवश्यक हुन्छ ।' यूएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६ सय १४ भुटानी शरणार्थी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.