दाङमा माैलाउँदै जुवा अड्डा

दाङमा माैलाउँदै जुवा अड्डा

घोराहीः दुई वर्षअघि दाङ तुलसीपुरमा एक महिलाले तिहारको मुखैमा आत्महत्या गरिन् । कारण थियो, उनका श्रीमान्को जुवा लत । श्रीमान्को जुवा लत छुटाउन सबै प्रयास असफल भएपछि उनले आत्महत्याको बाटो रोजेकी थिइन् । श्रीमान्ले सबै सम्पत्ति बाजी थापेर हारेपछि घरबारविहीन जिन्दगी उनले त्यागिन् । दाङ प्रहरीका अनुसार दाङमा जुवाकै कारण आत्महत्या भएको यो पहिलो घटना भए पनि जुवाकै खालमा सबै सम्पत्ति हारेर घरबार उजाडिएकाहरू धेरै छन् ।

आफ्ना श्रीमान् अनि छोरा जुवाको लतमा लागेर सारा घरबार रित्याउन थालेपछि पीडित परिवार प्रहरीमा आउने क्रम बढेको छ । तर कडा कानुनको अभावमा केही रुपैयाँको धरौटीमा जुवाडे छुट्छन् । फेरि उही खेल सुरु हुन्छ । ‘लाखौंको सम्पत्ति जुवामा हारेर जेनतेन गुजारा गर्नेहरू पनि यहाँ छन् ।

संगठित रूपमा जुवा खेलाएर रातारात करोडपति बनेका पनि यहीं छन्', जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंह भन्छन्, ‘जुवा धन्दा मौलाउनुको पछाडि कानुन नै फितलो भएर हो । कडा कारबाहीको व्यवस्था भए मात्रै जुवा नियन्त्रणमा सहयोग पुग्छ ।'

जिल्लामा संगठित रूपमा जुवा खेल्ने र खेलाउनेलाई प्रहरीले निरन्तर निगरानी गर्दै आएको छ । कतिपय जुवाडे पक्राउसमेत परेका छन् । प्रहरीले अदालतमा पनि पेस गर्छ तर विडम्बना कानुनअनुसार सामान्य कारबाही गरी केही रकमको धरौटीमा उनीहरू छुटिहाल्छन् ।

जुवा नियन्त्रण ऐन २०३० मा भएको कारबाही व्यवस्थाकै आधारमा अहिले पनि अदालतले फैसला गर्ने हो । करिब ४ दशकअघिको यही कानुनी व्यवस्थाअनुसार प्रहरीले पेस गरेका जुवाडेलाई अदालतले २ सय ५० रुपैयाँ तिराएर छाडिदिन्छ ।

‘कानुनी व्यवस्था कति फितलो छ भने हामीले पक्राउ गरेका जुवाडेलाई अदालतले दुई सय ५० रुपैयाँ तिराएर छाडिदिन्छ', प्रहरी प्रमुख सिंह भन्छन्, ‘यो ऐन संशोधन गरेर केही कडा कारबाहीको व्यवस्था गरिदिए हामीलाई पनि जुवा नियन्त्रणमा सजिलो हुने थियो ।'

दाङमा अहिले प्रमुख जुवाका अड्डामा प्रहरीले निगरानी बढाएको छ । यो वर्ष मात्रै प्रहरीले जुवा खेल्ने र खेलाउने १ सयभन्दा बढीलाई लाखौं रकमसहित पक्राउ गरेको छ । संगठित रूपमा जुवा खेलाउनेलाई प्रहरीले पटकपटक पक्राउ गरेको छ । तर पुरानै ऐनका आधारमा उनीहरूले चाँडै र सजिलै उन्मुक्ति पाउने गरेका छन् ।

जिल्लाका घोराही, तुलसीपुर, नारायणपुर, लमहीलगायत क्षेत्रमा मौलाउँदै गएको जुवा अड्डा अहिले जिल्लाको पश्चिम क्षेत्रका गाउँमा चल्न थालेका छन् । प्रहरीको रिपोर्टअनुसार दाङ जिल्ला जुवा खेल्ने र खेलाउनेमध्ये अग्रस्थानमा पर्छ ।

जिल्लामा जुवापीडित परिवारको उजुरी र गुनासो धेरै आउन थालेपछि प्रहरीले गत जेठ महिनादेखि शून्य सहनशीलताको नारा लिएर जुवा नियन्त्रण अभियान थालेको थियो । तर पनि जुवा उस्तै मौलाइरहेको छ । प्रहरी भन्छ, ‘हामीले समाएर, जुवा नियन्त्रण गरेर के गर्ने ? दुई सय पचासमा जुवाडे छुटिहाल्छन् ।'

यही दसैंको मौकामा पनि जुवा खेलाइरहेका एक दर्जनभन्दा बढीलाई प्रहरीले रकमसहित पक्राउ गरेको छ । जुवाका अखडामा पैसा लगाउने र त्यसलाई घुमाइफिराई धेरै पैसा असुल्नेहरू अहिले बढेका छन् । प्रहरीले त्यसलाई मिटर ब्याजको नाम दिएको छ । ‘७०-८० हजार दिएर एक लाख रुपैयाँ लिने र जुवामा थाप्न लगाउने पनि बढेका छन् ।

यसरी धेरैजना रातारात लखपति बनिरहेका छन्', सिंह भन्छन्, ‘जुवामा पैसा थाप्दै जानेहरूले घरबारसमेत थापेका छन् । यस्ता धेरै घरबास उजाडिएका परिवार पनि छन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.