राहतले दियो पीडितलाई सास्ती

राहतले दियो पीडितलाई सास्ती

सिन्धुलीः राहात लिन जिल्ला सदरमुकाम आउँदै गर्दा जिनाखु गाविस ३ का ६५ वर्षीय पृथ्बीबहादुर सुनुवारको लडेर बाटोमै ज्यान गयो । जलकन्या १ का पृथ्वीबहादुर श्रेष्ठ पहिलो किस्ता रकम बुझ्न खुर्कोटस्थित बैंकमा लाम बस्दाबस्दै बेहोस भएर ढले । रानीचुरीका अपांग केशरबहादुर भुजेललाई आफन्तले बोकेर सिन्धुलीमाढीसम्म ल्याउनु पर्‍यो ।

यी भूकम्पले ध्वस्त घर पुनर्निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम दिने भनेपछि जिल्ला सदरमुकाम र आसपासका बैंकमा पैसा लिन जाने क्रममा पीडितले बेहोर्नु परेको सास्तीका केही उदाहरण हुन् ।

यस्ता समस्या जिल्लाका प्रायः भूकम्पपीडितले नझेलेको दिन छैन । भूकम्प गएको १८ महिनासम्म टहरो र त्रिपालमुनि सास्ती बेहोरेका पीडितहरूले सरकारले दिने भनेको अनुदान रकमको पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिन निकै सास्ती खेप्नु परेको बताए ।

दुई दिनसम्मको बाटो हिँडेर सदरमुकाम पुग्नुपर्ने, घन्टौं लाम बस्नुपर्ने, गाविस या प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण कुनै लिखत बिग्रे पुनः गाविस सचिवको सिफारिसका लागि गाउँ नै फर्कनुपर्ने बाध्यता छ । रकम लिएर घर फर्कंदा बाटो र जंगलमा पैसानै लुटिएला भन्नेसम्मको त्रास बोक्नु परेको पीडितको भनाइ छ ।

‘वर्षाले गर्दा गाउँका सडकमा गाडी गुड्दैनन् । दिभर हिँडेरै बंैकसम्म पुग्नुपर्छ । बल्ल बैंकमा पुग्यो । खाता खोलेर पैसा लिने बेला कहिले नाम मिल्दैन, कहिले ठेगना मिल्दैन, कहिले जन्म मिति नै फरक हुन्छ । गाविस÷नगरपालिकामा लेख्ने कर्मचारीले सही नलेखिदिँदा त्यसलाई सच्याउन मुस्किल हुने गरेको छ,' कमलामाई नगरपालिका ४ का सोमबहादुर साहशंकरले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास पुनर्निर्माणको पहिलो किस्ताबापतको रकम सेवाग्राहीको खातामा हालिदिएपछि उक्त रकम झिक्न जिल्ला सदरमुकामस्थित बैंकमा आउनुपर्ने हुन्छ । अनुदान लिन दुई दिन लगाएर आएकाहरू तातो घामले गर्दा रिंगटा लागी ढल्ने र पानीमा चिप्लेर लड्ने अवस्था छ ।

‘जिल्लाका पीडितले पहिलो किस्तामै सास्ती बेहोर्नु परेको छ', रानीचुरी ५ का पीडित शेरबहादुर कार्कीले भने, ‘जिल्लाका विकट क्षेत्रबाट पहिलो किस्ताबापतको रकम लिन सदरमुकाम आउनु पर्ने बाध्यताका कारण वृद्धवृद्धा तथा अपांगले यस्तो सास्ती बेहोर्नु परेको हो । दुई दिनसम्म पैदल हिँडेर आएका पीडितहरू घन्टौं बैंकमा लाम बसेर पैसा बुझ्नु पर्दा कतिपय बेहोससमेत हुने गरेका छन् ।'

जिल्ला सदरमुकाम माढीका विभिन्न ८ वटा बंैकमार्फत लाभग्राहीलाई पहिलो किस्ताबापतको ५० हजार वितरण गर्ने भएपछि हजारौं पीडित विगत एक महिनादेखि दैनिक सदरमुकाम धाइरहेका छन् । वर्षात्का कारण जिल्लाका प्रायः ग्रामीण क्षेत्रका सडक अवरुद्ध हुँदा पैदल हिँड्न बाध्य भएको खाङसाङका भूकम्पपीडित दीपक नेपाली बताउँछन् ।

‘हिँडेर आउँदा दुई दिनसम्म लाग्छ, पानी परेपछि गाउँमा यातायातका साधन चल्दैनन् । सदरमुकाम पुगेर आउँदा बाटोमै पहिरोले लैजाने हो कि खोलाले बगाउने हो भन्ने त्रास हुन्छ,' उनले भने । सरकारले ढिलै भए पनि आवास निर्माणका लागि पैसा दिए पनि पैसा लिन झन्झटिलो र कष्टपूर्ण भएको उनको गुनासो छ ।

५० हजार रुपैयाँ लिन सदरमुकाम जाँदा एक हप्तासम्म कुर्नुपर्ने बाध्यता रहेको कतिपय पीडितले बताए । उनीहरूले ५० हजार झिक्न सदरमुकामका बंैकहरूमा जाँदा ५ देखि १० हजार रुपैयाँसम्म बाटोमै खर्च गर्नुपर्ने बाध्यता रहेको बताए ।

दुई दिनसम्मको बाटो हिँडेर सदरमुकाम पुग्नुपर्ने, घन्टौं लाम बस्नुपर्ने, गाविस या प्राधिकरणका कर्मचारीको लापरबाहीका कारण कुनै लिखत बिग्रे पुनः गाविस सचिवको सिफारिसका लागि गाउँ नै फर्कनुपर्ने बाध्यता छ ।

उनीहरूले गाउँमै पैसा दिने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् । प्राधिकरणले गाउँमा बैंक पठाउन नसकेको र गाविसका सचिवले गाउँमै पैसा लगेर वितरण गर्ने अवस्था नहुँदा पीडितहरू बैंकबाट पैसा बुझ्न सदरमुकाममै आउनुपर्ने बाध्यता रहेको जिल्ला विकास समितिका डिजास्टर फोकल पर्सन बपिन्द्रलाल माझीले बताए ।

जिल्लका दुई नगरपालिका र ५० वटै गाविसका भूकम्पपीडितले सदरमुकाममा आएर पैसा बुझ्नु पर्ने बाध्यता छ । बैंकले एकैपटक धेरैको संख्यामा रहेका पीडितलाई रकम वितरण गर्नुपर्ने हुँदा लाम बसेर पैसा बुझ्ने गरेका छन् । जसको नाममा घरजग्गा छ उसैको नाम लाभग्राहीको सूचीमा परेकाले एकल, महिला, वृद्ध तथा अपांगहरू स्वयं रकमका लागि सम्झौता गर्न र बैंकमा खाता खोल्नदेखि पैसा झिक्नसमेत आउनुपर्ने हुन्छ ।

पीडितका लागि गाउँगाउँबाटै रकम वितरण गर्ने व्यवस्था मिलाउने प्रयत्न गरिएको भए पनि ग्रामणी क्षेत्रमा बैंक नहुँदा समस्या भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमार भुसालले बताए । ‘सकेसम्म पीडितलाई पाएक पर्ने गरी बैंक तथा वित्तीय संस्थाबाट रकम वितरण गर्ने प्रयत्न गरिएको छ तर सबै जिल्लामा सबैलाई सुविधा पुगेको छ भन्ने होइन । प्राविधिक कारणले पीडितलाई समस्या भएकै छ,' भुसालले भने ।

जिल्लामा हालसम्म १९ हजार ६ सय ५८ जना लाभग्राहीले मात्र ५० हजार रुपैयाँ पाएका छन् । अझै १४ हजार ६ सयभन्दा बढीले सम्झौता गरी पहिलो किस्ता रकम पाउन सकेका छैनन् भने ८ हजार २ सयसँग सम्झौतासमेत हुन सकेको छैन ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.