सार्क भेन्टिलेटरमा !
दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय सहयोग संगठन (सार्क) अहिले अस्पतालको भेन्टिलेटरमा छ । ३१ वर्षअघि सन् १९८५ मा बंगलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमान, नेपालका राजा वीरेन्द्र, भुटानका राजा जिग्मे, भारतका प्रधानमन्त्री राजीव गान्धी, श्रीलंकाका राष्ट्रपति जयवर्धने, पाकिस्तानका राष्ट्रपति जियाउल हक र माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुमको सक्रियतामा सार्कको स्थापना भएको थियो ।
त्यसबेला सार्कले क्षेत्रीय सहयोगका आधारमा, उद्योग, जलस्रोत, व्यापार, शिक्षा, सञ्चार आदि क्षेत्रमा योजनाबद्ध रूपमा यस क्षेत्रका सम्पूर्ण जनताको आर्थिक समृद्धिको लागि काम गर्ने आफ्नो लक्ष्य राखेको थियो । वर्षमा एकपटक वर्णानुक्रमअनुसारका देशमा शिखर सम्मेलन गर्ने तय भएको थियो । तर यो भेटघाट र सम्मेलन वास्तवमै राष्ट्राध्यक्ष वा सरकार प्रमुखको वनभोज गर्ने थलोमै सीमित रह्यो । त्यसपछि वर्ष दिन होइन, दुई वर्षमा एकपटक भनेर संशोधन भयो ।
दुई दिन हुने सम्मेलनमा सबैले आआफ्नो कुरा राख्थे र स्वदेश फर्केपछि बिर्सन्थे पनि । त्यही प्रथम समारोहमा नेपालका राजा वीरेन्द्रले नेपालको अथाह जलस्रोतलाई यस क्षेत्रकै भलाइको लागि एउटा योजना बनाएर कार्यान्वयन गर्ने प्रस्तावसमेत राखेका थिए । त्यसपछि ३१ वर्षसम्म यसको कुरै सुनिएन । कसैले उठाएनन् । त्यसै सेलाएर गयो ।
सार्कका त्यसबेलाका सदस्यहरूमा भारत जनसंख्या, भूगोल र विकासका आधारमा सबैभन्दा ठूलो मुलुक थियो । उसले चाहेको भए सार्कमार्फत क्षेत्रीय सहयोगको नयाँ रणनीति बनाएर विश्वकै एकचौथाइ जनसंख्याको समृद्धिको लागि ठोस काम हुन सक्थ्यो । यो क्षेत्र जनशक्ति, जलशक्ति र कृषि शक्तिमा सबैभन्दा धनी मानिन्छ । एकले अर्कालाई सहयोग गर्दै इमानदारीका साथ सहयोग गर्ने हो भने यस क्षेत्रले संसारलाई केही देखाइदिन सक्थ्यो । एउटा नमुना बन्न सक्थ्यो । आसियान यसको उदाहरण नै छ ।
तर भारत ठूलो भएर पनि, विकसित भएर पनि, आफ्नो अहंकार र ठूल्दाजुको भावनाले गर्दा यस क्षेत्रका भुटानबाहेक अरू कसैसँग पनि राम्रो सम्बन्ध छैन । पाकिस्तानसँग त भारत विभाजन हुँदा छुट्टिएदेखि नै सम्बन्ध राम्रो रहेन । भारत र पाकिस्तानबीच थुप्रै संघर्ष भएका छन् र अहिले पछिल्लो विवाद भने पाकिस्तानले कश्मीरको पाकिस्तान अधीनस्थ क्षेत्रमा आतंककारी आक्रमण गरिरहेको आरोप छ भारतको । अहिले पछिल्लो युद्धमा भारतका ५० जना सैनिक मारिइसकेका छन् ।
पाकिस्तानको पनि भारतलाई त्यस्तै आरोप छ । पाकिस्तानका आतंककारीले दिल्ली र मुम्बईमा समेत आतंककारी आक्रमण गरेको भारतले बिर्सेको छैन । यही कारण देखाएर भारतले १९ औं सार्क शिखर सम्मेलनमा भाग लिन पाकिस्तान नजाने निर्णय गर्यो । सार्कको चार्टरअनुसार सम्मेलनमा कुनै एउटा देशको मात्र पनि सहभागिता नभएको खण्डमा सम्मेलन नै नहुने प्रचलन छ । भारतसँगै भुटान, बंगलादेश र अफगानिस्तान, श्रीलंकासमेतले बहिस्कार गर्ने निर्णय गरेपछि त शिखर सम्मेलन हुने कुनै सम्भावना नै रहेन ।
यस्तो अवस्थामा अध्यक्ष राष्ट्रको जिम्मेवारी हुन्छ-सबैलाई सहमतिमा ल्याएर शिखर सम्मेलन गर्नु । यसको लागि असल र प्रभावकारी कूटनीतिको आवश्यकता पर्छ, जुन नेपालमा अहिले छैन । नेपालले परराष्ट्रमन्त्रीलाई सदस्य देशहरूमा पठाएर सम्मेलन सुचारु गर्ने कूटनीतिक पहल गर्न सक्नुपथ्र्यो, त्यो भएन ।
अर्को कुरा, नेपालले भारतको शिखर सम्मेलन बहिष्कारका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएजस्तो लाग्दैन । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा आयोजित एक सार्कको प्रभावकारिता सम्मेलनमा सार्क ढिलो गतिमा हिँडेको आरोप लगाए र त्यसको दोष भने यसको वडापत्रलाई दिए । उनको भनाइ पनि एक प्रकारले ठीकै हो । एउटा देशले भाग नलिए सम्मेलन नै नहुने र सार्कमा द्विपक्षीय छलफल नहुने भन्ने तर्क नै क्षेत्रीय संस्थामा त्यो पनि द्विपक्षीय सम्बन्ध बिग्रेका देशहरूबीच व्यावहारिक हँदैन ।
पक्कै पनि दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीचको तीव्र द्वन्द्वले अहिले दक्षिण एसियामै डरलाग्दो रूप लिएको छ।
एउटा देश किन आएन भनेर समस्यामाथि छलफल गरेर सार्क भावनाअनुसार मेलमिलापको एउटा ठोस निर्णय गर्न सक्नुपथ्र्यो । भारत र पाकिस्तानको सम्बन्ध सुरुदेखि नै राम्रो छैन । बेलाबेलामा खटपट भइ नै रहन्छ । एकपटक काठमाडौंमा सार्क शिखर सम्मेलन हुँदा आउँछु भनेर पनि उद्घाटन हुने दिन पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसरफ उपस्थित हुन सकेनन् ।
उनले आफ्नो विमानलाई भारतको आकाशबाट उडन प्रतिबन्ध लगाएको हुँदा चीन भएर नेपाल आउने बाध्यता भएकाले भोलिपल्ट आउने सूचना क्षमासहित पठाए । भोलिपल्ट अहिलेको संसद् भवनमा उद्घाटन समारोहमा प्रवेश गर्नेबित्तिकै सबभन्दा पहिले आफ्नो सिटमा बसिरहेका भारतका प्रधानमन्त्री अटलबिहारी वाजपेयीसित हात मिलाएर ‘सरी' भनेका थिए । यो फोटो निकै चर्चित भएको थियो बाहिरका मिडियामा पनि ।
त्यो सौहार्दता र त्यो मित्रता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाकिस्तान गएर देखाउन सक्थे । उनको प्रशंसा नै हुने थियो र दुई देशबीच बिग्रेको सम्बन्धलाई अलिकति भए पनि भावनात्मक रूपमा सुधार्न सकिन्थ्यो । आतंकवाद अहिले कुनै एउटा मुलुकको मात्र समस्या होइन । अहिले संसारभरि नै आतंकवादी छाया मडारिइरहेको छ ।
आतंकवादको सिकार भएका सिरिया, इराक, अफगानिस्तानलगायत अमेरिका, अफ्रिका र युरोपेली समुदायका राष्ट्रलाई समेत यसले एउटा राम्रै सन्देश दिन्थ्यो । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको छोरीको बिहेमा सुटुक्क पाकिस्तान गएर मिठाई खाएर फर्कन हुने प्रधानमन्त्री मोदीको लागि सार्क सम्मेलनमा आफ्ना कुरा दृढतापूर्वक राख्ता सायद फाइदै हुन्थ्यो होला । तर यहाँ पनि सार्कको चार्टरले द्विपक्षीय विवाद सार्कको फोरममा उठाउन नपाइने नियमले चाहिँ अलि गाह्रै पथ्र्यो कि ?
सबैसित मन मिल्ने र सम्बन्ध र समझदारी राख्ने हो भने राष्ट्रप्रमुखको हैसियतमा कुरा राख्न पाउनुपर्ने हो । यस्ता छलफल साइड लाइनमा पछि गर्न सकिन्थ्यो । आफ्नो भनाइ त पाकिस्तानीलगायत यस क्षेत्रका नेता र जनताको कानमा पथ्र्यो । निर्णय गर्ने त जनताले नै हो ।
पक्कै पनि दुई छिमेकी मुलुकको द्वन्द्वले अहिले दक्षिण एसियामै डरलाग्दो रूप लिएको छ । दुवै मुलुक हातहतियारले सम्पन्न छन् । दुवै मुलुक ‘न्युक्लियर हतियार' ले युक्त छन् । दुवैले चीन, फ्रान्स, बेलायत, अमेरिका जस्ता देशबाट हतियार पनि लिएका छन् । आवेशमा या भावनात्मक रूपमा कुनैको मनमा खराब कुरा आयो र भिडन्त भयो भने त्यसले दुवैलाई असर पुर्याउँछ, दुवैलाई मात्र होइन, सार्कका सबै राष्ट्र प्रभावित हुन्छन् । भारतका इलेक्ट्रोनिक मिडियालाई हेर्ने हो भने तिनले युद्ध हुने संकेत दिइसकेका छन् । तर सम्भवतः भारत र पाकिस्तान युद्ध चाहँदैनन् ।
भारत र पाकिस्तानबाहेकका देशलाई पनि असुविधा हुन सक्छ । युद्ध नै भयो भने भारतले बाहिर निर्यात गर्ने वस्तु रोक्न सक्छ । त्यसबेला नेपाल, बंगलादेश, भुटान जस्ता देशलाई असर पर्न सक्छ । नेपाललाई त फेरि ‘नाकाबन्दी' को परिस्थिति पनि आउन सक्छ । मोदीले पाकिस्तानलाई व्यापारमा दिएको सहुलियत मात्र होइन, भारत विभाजन हुँदा ६ वटा मुख्य नदीको पानीको बाँडफाँटसम्बन्धी सहमतिसमेत रद्द गर्ने चेतावनी दिएका छन् । पाकिस्तानले त्यसो भएमा आफू अन्तर्राष्ट्रिय अदालत जाने डर पनि देखाएको छ भारतलाई ।
भारत र पाकिस्तानको यो घटनामा अमेरिकाले संयम अपनाउन आग्रह गरेको छ भने चीनले भने आफ्नो स्पष्ट नीति अगाडि ल्याएको छ । चीनले दुवै देशलाई संयम अपनाउन र आपसी वार्ताद्वारा द्वन्द्व समाप्त पार्न आग्रह गरेको छ । यदि युद्ध नै भए पाकिस्तानको पक्ष लिने बताएको छ ।
बंगलादेश, अफगानिस्तान, श्रीलंका र भुटानले भारतको पक्ष लिने संकेत दिइसकेका छन् । माल्दिभ्सको प्रतिक्रिया आउन बाँकी नै छ । नेपाल सार्कको वर्तमान अध्यक्ष भएकाले अहिले नै केही प्रतिक्रिया जनाइहाल्नु सायद उचित हुँदैन । नेपालको प्रयत्न सम्मेलन गराउनेतर्फ नै हुनुपर्छ । तर अहिलेको परिस्थिति हेर्दा ‘सार्क' को स्थिति अस्पतालको शड्ढयामा ‘भेन्टिलेटर' मा बाँचेको रोगी जस्तै छ ।