लोकमानको म्याद टाँस्न असहयोग गर्ने कर्मचारीलाई कारबाही

 लोकमानको म्याद टाँस्न असहयोग गर्ने कर्मचारीलाई कारबाही

काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद बुझाउन खटिएका तामेल्दार, वडा कार्यालयका अधिकृत र खरिदारलाई कारबाहीको चेतावनीसहित सात दिनभित्र हाजिर हुन मंगलबार आदेश दिएको छ ।

सर्वोच्चबाट कार्कीविरुद्धको पुनरावलोकन मुद्दामा जारी भएको म्याद बुझाउन बहानाबाजी गर्दै ढिलाई गरेको भन्दै तामेल्दार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिका वडा नम्बर १० कार्यालयकी अधिकृत सरिता राई र खरिदार भेषराज अर्याललाई वारेशसमेत राख्न नपाउने गरी आफैं बयानमा हाजिर हुन आदेश भएको हो ।

म्याद तामेल गर्न विलम्ब भएको बिषयमा सर्वोच्चबाटै टिप्पणी उठाएर सुनुवाइको पेश तोकिएको थियो । सर्वोच्चमै कार्यरत तामेल्दार बलदेव महतको प्रतिवेदन, सञ्चारमाध्यममा प्रकाशित सामाग्री र रजिष्ट्रार श्रीकान्त पौडेलको निर्णयका आधारमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन आदेश दिएको हो ।


आदेशमा खत्री, राई र अर्याललाई कैद र जरिबानाको चेतावनी दिइएको छ । ‘यस अदालतबाट लोकमानसिंह कार्कीको नाउँमा मिति २०७३, ६, ५ मा जारी गरिएको म्याद तामेल गर्ने सन्दर्भमा तामेल्दार शम्भुबहादुर खत्रीले बदनीयत गरी काम तामेल नगरेको र काठमाडौं महानगरपालिका वडा नम्बर १० कार्यालयका अधिकृत सरिता राई र खरिदार भेषराज अर्यालले म्याद तामेल कार्यमा सहयोग नगरी बाधा अवरोध खडा गरेको भनी निजहरुलाई मुलुकी ऐन, अ.बं. १११ नं. बमोजिम रु. १००० जरिबाना र १५ दिन कैद किन गर्न नपर्ने हो ?,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सजाय गर्नु नपर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयं आफै अदालतमा उपस्थित भइलिखित जवाफ पेश गर्नु भनी निजहरुका नाउँमा तत्काल सूचना जारी गर्नु ।’

सर्वोच्चले अदालतबाट जारी भएको म्याद कानुनको रित पुर्याएर समयमै तामेल गर्नु सम्बन्धित तामेलदारको कर्तव्य रहने भन्दै स्मरण गराएको छ ।

यस्तै अदालती म्याद तामेल गर्न सहयोग गर्नु सम्बद्ध निकायका कर्मचारी तथा स्थानिय बासिन्दाकोसमेत कानुनी कर्तव्य हुने भनिएको छ ।

‘प्रचलित संविधान एवम् कानुनले राज्यका सम्बद्ध निकाय वा पदाधिकारीले अदालतको काम कारवाही वा न्यायिक प्रक्रियामा सहयोग गर्नु अनिवार्य हुने गरी निर्देशित गरेको देखिन्छ,’ आदेशमा उल्लेख छ, ‘न्यायिक प्रक्रियामा असहयोग गर्ने, छल्ने वा न्यायिक प्रकृया नै अवरुद्ध गर्ने किसिमका कुनै पनि काम कारबाही वा क्रियाकलाप स्वीकार्य हुन सक्दैनन् ।’

सर्वोच्चले न्यायिक प्रकृयामा पैदा गरिने कुनै पनि प्रकारका अवरोध आपत्तिजनक हुने र कानुन बमोजिम दण्डनीय हुने आदेशमा उल्लेख गरेको छ । सर्वोच्चले कानुनी राज्य निर्माणका लागि कानुन परायणताको संस्कार कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

‘अदालतका आदेशको अवज्ञा गर्ने र न्यायिक प्रक्रियालाई कानुनका रौं चिरा छिर्न खोजी अवरुद्ध गर्ने प्रवृत्तिले कुनै अर्थमा स्थान पाउनु हुँदैन,’ आदेशमा उल्लेख छ, ‘सरल, सहज, प्रभावकारी न्यायिक सेवा प्रदान हुने अवस्था र परिस्थिति निर्माणका लागि न्यायिक प्रकृयाका क्रममा देखा पर्ने गरेका उपरोक्त अनुसारका गलत प्रवृत्तिहरु प्रति यस अदालतले शुन्य सहनशीलता अपनाउन वाञ्छनीय देखिन्छ ।’

कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकास अर्यालले दायर गरेको पुनरावलोकनमा सुनुवाइको सूचना दिन सर्वोच्चमा म्याद जारी भएको थियो ।

कार्कीविरुद्ध अर्यालले दिएको रिट शुरुमा संयुक्त इजलासबाट खारेज भएको थियो । अर्को पुनरावलोकन निवेदनमा तीनजना न्यायाधीश संलग्न विशेष इजलासले पुनरावलोकनका लागि अनुमती दिंदै सुनुवाइमा उपस्थित हुन कार्कीका नाममा म्याद जारी गरेको हो ।

भदौ ३१ गते आदेश भएको थियो । सर्वोच्चबाट खटिएको टोलीले सोमबार साँझ बानेश्वरस्थित कार्कीको घरमा म्याद टाँसेर फर्किएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.