राष्ट्रियताको आधारः स्वधर्म र संस्कृतिको संरक्षण
समाजशास्त्री भन्ने गर्छन्- जुन देश र समाजमा स्वधर्म संस्कृतिको आधार खल्बलिन्छ, त्यो देश र समाज त्यसरी नै पतन हुनेछ जसरी जरामा धमिरा लागेको रुख हावाको सानो झोक्काले पनि ढल्छ । दुःखका साथ भन्नुपर्छ- यतिबेला हाम्रो राष्ट्रियताको आधारका रूपमा रहेको स्वधर्म संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेको छ ।
हाम्रो धर्म-संस्कृतिका जरा खल्बल्याउने काम अदृश्य रूपमा लोभलालचमा फसाएर परधर्मीहरूबाट हुँदै आएको भए पनि देखिने गरी हामी नेपाली जो क्षणिक सत्ता धनादिको लोभमा फसेर त्यस्तो कुकर्म गरिरहेका त छैनौं ? सबैले आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ ।
आजभन्दा करिब दुई सय साठी वर्षपहिले काठमाडौं उपत्यका विजयपछि धर्म परिवर्तनमा संलग्न इसाई पादरीका साथ केही नेपालीलाई पृथ्वीनारायण शाहले यी फिरंगी देशका धमिरा हुन् भन्दै तिनलाई डाँडा कटाएका थिए ।
राष्ट्रनिर्माताप्रति श्रद्धा र राष्ट्रियताप्रति समर्पण भाव नभएको कोरा राष्ट्रवाद गोहीको आँसुजस्तो छलकारा हो, वास्तविक होइन भन्ने सबैले बुझ्न जरुरी छ । मुलुक सम्पन्न बन्नको लागि स्वधर्म संस्कृति, सभ्यता र संस्कार सबै क्षेत्रमा त्यसको झलक देखिनुपर्छ ।
त्यसैले भनिन्छ, जहाँ संस्कृति त्यहाँ समृद्धि । हाम्रा असंख्य मठमन्दिर, गढी, पीठ, कोट, गुम्बा, विहार, चैत्य, गुरुद्वार आदिको संरक्षण सुधार र आकर्षण बढाउने हो भने त्यसबाट धार्मिक पर्यटकको संख्या बढ्दै जाँदा राष्ट्र समृद्ध बन्न सक्ने प्रशस्त सम्भावना भेटिन्छन् ।
आज तिनै फिरंगीसँग बाहिरी विरोधभित्र कानेखुसी गर्दै सत्ता स्वार्थमा लिप्त कथित क्रान्तिकारीसहित वाम दक्षिण सबै राजनीतिक शक्ति र शक्तिहरू मिलेर जनप्रतिनिधिद्वारा अनुमोदित भन्दै ३ असोज २०७२ मा जारी नेपालको संविधानको प्रस्तावनामा तिनै राष्ट्रनिर्माता पुर्खाको पौरखलाई तिरस्कार गर्दै राज्यको स्वरूप धर्म निरपेक्ष हुने उद्घोष गरे ।
आफू बाँचुन्जेल मोजमस्तीका साथ राज गरौं, सत्ता छोडेको वा मरेको भोलिपल्ट यो मुलुक जोसुकैको हात परोस् मतलब छैन, जस्तो गरी क्षणिक सत्ता स्वार्थमा डुबेको नेतृत्वले हिजो मुलुक निमार्णको इतिहास र भोलिको सार्वभौमिकता र सुरक्षा दुवैको बेवास्ता गर्दै आँखा चिम्लिएर रजाइँ गर्दैछ ।
जगन्नियन्ता परमेश्वरभन्दा खलातीले जस्तो सास फेर्ने आफ्नो भौतिक शरीर ठूलो ठान्दै पदको शपथ लिँदा ईश्वरको नाम उच्चारण नगर्ने र राष्ट्रिय महत्वको पर्व विजयादशमी (दसैं) को टीका बहिष्कार गर्ने स्वनामधन्य क्रान्तिकारी र तिनका आसेपासेले आफ्नो सनातन धर्म-संस्कृतिको तिरस्कार गर्दै परधर्मको वकालत गर्नु अस्वाभाविक होइन ।
तर आफूलाई सनातन धर्म-संस्कृतिका पक्षधर ठान्ने कतिपय सन्त महन्त पण्डित पुरोहित लामा धर्मगुरुसहित समाजमा विद्वान् बुद्धिजीवी कहलिएका प्राज्ञिक क्षेत्रका केही व्यक्तिहरूसमेत स्वधर्म संस्कृति, भाषा, पोसाक, पात्रो पर्व, जन्म-मृत्यु संस्कार जस्ता धर्म-संस्कृति र संस्कारसँग जोडिएका महत्वपूर्ण पक्षमाथि प्रहार गर्दै स्वधर्म संस्कृतिको निशानि मेट्ने र आफ्नै पहिचान सिध्याउने खेलमा संलग्न देखिनु खेदको विषय हो ।
संसारको यात्रा गर्ने क्रममा जोकोही जहाँकहीं जाँदा पनि सर्वप्रथम यात्रुको राष्ट्रियता, धर्म, भाषा र पेसा सोध्ने गरिन्छ । त्यहाँ जातजाति वा पार्टी पक्षको उल्लेख हुँदैन । सिंगो जातिको परिचय खुल्ने मुख्य चार विषय उल्लेख गरिन्छ । राष्ट्रियता, राष्ट्रिय धर्म, भाषा र पेसा प्रमुख मानिन्छन् । आफ्नो मूल पहिचानका रूपमा रहेको राष्ट्रियता, धर्म र भाषाको मौलिकता र महत्व घटाउने र मेटाउने दुस्प्रयास संसारका कुनै पनि देशका देशभक्त र स्वाभिमानी नागरिकले गर्दैनन् ।
हामी सहजै अनुमान गर्न सक्छौं- पक्कै पनि हाम्रो देशका ख्याति कमाएका जुनसुकै दलका ठूलाठालु, माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नयाँ शक्तिका डा. बाबुराम भट्टराई, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसहितका नेताहरू विदेश भ्रमणमा जाँदा तत्तत् देशका विमानस्थलमा उत्रने बेला यात्रुले भर्ने पर्चा (फर्मेट) भर्दा राष्ट्रियता नेपाली, धर्म हिन्दु (बुद्ध ? ), भाषा नेपाली (अंग्रेजी), पेसा स्वयंसेवा, समाज सेवा वा राजनीति लेख्दा हुन् ।
पक्कै तिनले अहिलेसम्म राष्ट्रियतामा गैरनेपाली र धर्मका महलमा इसाई वा इस्लाम, भाषामा हिन्दी, उर्दू र पेसामा मजदुरी लेखेका छैनन् होला । तर तिनै नेताले आफ्नो देशको संविधानमा हिन्दु राष्ट्र लेख्न रोके ।
राष्ट्रभाषा नेपालीलाई उपेक्षा गर्दै व्याकरण लिपि केही नभएका कतिपय अल्पसंख्यक जातजातिका भाषासरह निम्नकोटीको दर्जामा राखे । अहिले आएर हिन्दी र अंग्रेजीलाई समेत राष्ट्र भाषाको दर्जा दिँदै मुख्य भाषा नेपालीलाई कमजोर पार्ने दाउपेच गर्दैछन् भन्ने सुनिन्छ । त्यस्तो गरिएमा नेपालको राष्ट्रियता र राष्ट्रभाषा दुवैको अस्तित्वमा चुनौती थपिने निश्चित छ ।
संसारका कुनै पनि देशमा राष्ट्र जोड्ने रसायनका रूपमा केही महत्वपूर्ण तत्व रहेका हुन्छन् । जस्तो- धर्म, संस्कृति, भाषा, पोसाक, परम्परा, चाडपर्वका साथै राष्ट्र निर्माणमा आफ्ना पुर्खाको योगदानप्रति गौरव आदि । यता केही वर्षदेखि परिवर्तन, क्रान्तिका वा क्रमभंगका नाममा हाम्रा यी राष्ट्र जोड्ने रसायन एकपछि अर्को गर्दै कमजोर पार्ने, मेट्ने र हटाउने काम हुँदै आएका छन् ।
उदाहरणको रूपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ राष्ट्रिय एकता दिवसलाई बिदाको सूचीबाट हटाउनु, राष्ट्रिय पोसाक दौरा-सुरुवालको औचित्य समाप्त पारिनु, आफ्नो देशका मुद्रा (नोट) मा नेमुनी, राजा जनक, गौतमबुद्ध र पृथ्वीनारायण शाह आदि राष्ट्रिय विभूतिको प्रतिकृति (फोटो) नराखिनु आदि घटनाक्रमले राष्ट्र जोड्ने रसायन एकपछि अर्को गर्दै हटाउने, मेटाउने दुष्प्रयास निरन्तर चलिरहेको पाइन्छ ।
अतीतमा राष्ट्रिय एकताको प्रतीकका रूपमा नेपालको राजसंस्था पनि मानिन्थ्यो । समयक्रममा त्यसका जिम्मेवार पदाधिकारी राष्ट्र जोड्ने रसायनको भूमिकामा रहनुको सट्टा तिनले राष्ट्रभित्र स्थापित आफ्नो शुभचिन्तक मुख्य लोकतान्त्रिक दलविरुद्ध अन्य प्रतिक्रियावादी दल जन्माएर तिनलाई पालनपोषण र प्रोत्साहन दिँदै राष्ट्र जोड्ने रसायन कमजोर पार्दै राष्ट्रिय एकता खल्बल्याउने र द्वन्द्व बढाउने काम गरिरहे ।
आफ्नो मूल पहिचानका रूपमा रहेको राष्ट्रियता, धर्म र भाषाको मौलिकता र महत्व घटाउने र मेटाउने दुस्प्रयास संसारका कुनै पनि देशका देशभक्त र स्वाभिमानी नागरिकले गर्दैनन् ।
उदाहरणको रूपमा २०४८ को जननिर्वाचित सरकारविरुद्ध दरबारले एमाले उचाल्दा कर्मचारीभित्र राजनीति प्रवेश गराएर त्यसले उभद्रो मच्चायो । ५७ दिन संसद् अवरुद्ध पार्यो । त्यति मात्र होइन, कांग्रेस र संसदीय लोकतन्त्रविरुद्ध माओवादी उचालेको यथार्थ वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै मुखबाट दरबार हत्याकाण्ड भएको भोलिपल्टै माओवादीले दसबर्से हिंसात्मक सशस्त्र द्वन्द्व थाल्नुअघि राजा वीरेन्द्रसँग अघोषित साँठगाँठ भएको खुलासा भएको थियो ।
देशभित्रका राजनीतिक पार्टीहरू सधैं सत्ता स्वार्थमा बहकिन्छन् । तिनका तुलनामा राष्ट्रियता र राष्ट्रिय एकताको मामिलामा राजसंस्था वा राजाहरू नै बढी संवेदनशील हुन्छन् भन्ने लोकतन्त्रवादीको बुझाइ थियो ।
तर त्यसविपरीत राजसंस्था वा तत्कालीन राजाहरूले दिल्ली सम्झौतादेखि कालापानी र सिंगो सगरमाथाको सन्दर्भमा देशको राष्ट्रियताको रक्षाभन्दा तत्कालीन आफ्नो गद्दीको सुरक्षालाई प्राथमिकता दिए । राजा त्रिभुवन र महेन्द्रपछिका राजा वीरेन्द्र र ज्ञानेन्द्रको शासनकालमा राष्ट्रियतामा आघात पर्ने विवादास्पद गोप्य समझदारी सम्झौता भएको पाइँदैन ।
पूर्वाग्रह नराखी भन्दा पूर्वराजा ज्ञानेन्द्रले दक्षिणको चाहनाअनुसार भुटानी राजाको दर्जामा बस्न मन्जुर गर्दै परराष्ट्र सुरक्षा र जलस्रोतजस्ता महत्वपूर्ण विषय उतै सुम्पन मन्जुर भएका भए तिनको राजगद्दी जाँदैनथ्यो, अथवा गए पनि अहिलेसम्म पुनस्र्थापित भइसक्थ्यो भन्ने धेरैको बुझाइ छ । २००७ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले भुटान मोडेलको तयारी दस्ताबेजमा सही गर्न इन्कार गरेर राष्ट्रियतामा अडान लिए । सत्ता छोड्न तयार भए । कम्युनिस्टहरू दिल्ली सम्झौता धोका हो भन्दै हिँड्छन् ।
कतै तिनले दिल्लीको चाहनाअनुसार सो सम्झौता नभएको हुँदा त्यो सम्झौताको विरोध गरेका त हैनन् ? समयअनुसार हिजोका शासक एकाधिकारवादी, निरंकुश वा स्वेच्छाचारी सोचका हुँदा हुन् । त्यो तिनको दुर्गुण हो, तर तिनीहरूले कम्तीमा आजका नेताले जस्तो सत्ताको लागि आफ्नो राष्ट्रियता, धर्म-संस्कृति र संस्कार, सभ्यता सबै चीज विदेशीलाई सुम्पन्न तयार त थिएनन् नि ?
अन्त्यमा राष्ट्रियताको दिगो आधार स्वधर्म र संस्कृतिको संरक्षण र सुधार भन्दै गर्दा कदापि राजासहितको हिन्दु अधिराज्यको वकालत गरिँदैन । लोकतान्त्रिक गणतन्त्रात्मक सनातन हिन्दु राष्ट्रका पक्षमा सबैको आत्मबोधको अपेक्षा गरिन्छ ।