उत्तर कोरियामा हाइड्रोजन भूकम्पको धक्का
‘सर, भूकम्प गएजस्तो छ’, सहयात्री माणिक लामाले कुर्सीबाट उठ्दै भने । हामी यतिबेला चीनको बेइजिङस्थित अन्तर्राष्ट्रिय एयरपोर्ट टर्मिनल नम्बर तीनमा छौँ । प्योङयाङका लागि एयर चाइनाको जहाज उड्ने समयभन्दा अलि छिट्टै आइपुगेकाले बेइजिङ एयरपोर्ट हाम्रा लागि ‘ट्रान्जिट’ स्थलजस्तो भएको छ ।
झन्डै डेढ वर्षसम्म विनासकारी भूकम्पले हल्लाएको मुटु लिएर रहस्यैरहस्य बोकेको एसियाको शक्तिशाली समाजवादी मुलुक उत्तरकोरियाको यात्रामा छौँ। मनभरि उत्तरकोरियाबारे जिज्ञासैजिज्ञासा थिए । माणिक लामालाई ठट्टाको शैलीमा प्वाक्कै भनिदिएँ, ‘कमरेड किम जोङ उनले हाम्रो स्वागतमा अर्को हाइड्रोेजन बम परीक्षण गरेजस्तो छ ।’
बेलुका प्योङयाङस्थित पाँचतारे होटेल कोरियो– २ को एघारौँ तलाको २५ नम्बर कोठाको टेलिभिजन सेट हेर्दा अलजजिरा टीभीले प्रसारण ग¥यो, ‘राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा आज उत्तरकोरियाले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।’ सत्य हो रहेछ दिउँसो बेइजिङ विमानस्थलमा बस्दा डगमगाएको कुर्सी किम जोङ उनकै कारण हल्लिएको रहेछ ।
सधैँ लागिरहन्थ्यो, उत्तरकोरिया पुगेपछि सबैभन्दा पहिला त्यहाँ खान नपाएर थाल थापिरहेका मानिसनजिक जानेछु र थालमा केही रुपैयाँ राखिदिँदै सोध्नेछु, ‘अमेरिकी र जापानी साम्राज्यवादविरुद्ध लडेर स्वतन्त्रता, राष्ट्रियता र समाजवाद त पायौ तर पेट भने भोकै रहेछ...।’
प्योङयाङ विमानस्थलबाट अध्यागमन कार्यालय छिचोल्नासाथ सुटमा सजिएका हाम्रा दोभासे मित्र ओ सु जिनलाई शिरदेखि पाउसम्मै नियालेर हेरेको थिएँ । किनकि उनको ‘गेट अप’ हल्ला गरिएजस्तो गतिछाडा नभएर ‘टिपटप’ थियो । मैले सोचेको थिएँ, उत्तरकोरियाको सिमानामै मरन्च्याँसे अनुहारका फुकिढल जनमुक्ति सेनाका सदस्यहरू हामीतिरै गोली ताकेर बसेका होलान् र माथिको आदेश भन्दै परेवा भुत्ल्याएजस्तो नांगेझार पार्दै कपडा फुकाल्लान् ।
अलि अटेर गर्नेलाई लछारपछार पार्दै सेनाको क्याम्पतिर लग्लान् । त्यसपछि...? तर अहँ, दोभासे ओ सु जिनले सुरुमै भने, ‘तपाईंले हाम्रो भूमि, हाम्रो व्यवस्था, हाम्रा जनता र वास्तविक कोरियालाई आफ्नै आँखाले हेर्नुपर्छ र आफ्नै हृदयले छाम्नुपर्छ...।’
एक दिनअघि कार्यालयमा एकजना मित्रले भनेको सम्झिएँ, ‘सोचेर जानुस् है मित्र उत्तरकोरिया, कमरेड किम जोङ उनले तोपले उडाएर यतै पठाइदेलान्...।’ रहस्यैरहस्य र किंवदन्ती नै किंवदन्तीले भरिएको मुलुकको यात्रा रोमाञ्चक त हुने नै भयो । मानिसहरूले सच्चा हृदयले उठाएका प्रश्न, जिज्ञासा र कतिपयले खराब मनसायका साथ गरेको होहल्ला र तिनीहरूले फिँजाएको होहल्ला बुझ्न र चिर्न पनि ‘नमरी स्वर्ग देखिन्न’ भनेझैँ मरेरै स्वर्ग देख्ने इच्छा थियो मेरो ।
कमरेड ओका कुरा सुनेपछि मलाई हिजो साँझ एयरपोर्ट तियान होटेलमा माणिक लामासँग एउटा प्रश्न राखेपछि बढेको मुटुको चाल सम्झिएर आफैँलाई हल्का लज्जाबोध भयो । सेप्टेम्बर २ तारिकसम्म दक्षिणकोरियाली र अमेरिकी सेनाको संयुक्त सैन्यअभ्यास चलिरहेको थियो उत्तरकोरियाली सिमानामा । यसले उत्तरकोरियालाई हदैसम्म चिढ्याएको थियो । त्यसैले पनि उत्तरले पटकपटक ब्यालेस्टिक परीक्षण गरेर उनीहरूलाई ललकारिरहेको थियो । यो गतिविधि सम्झिएर मलाई के लाग्यो भने दिउँसो माणिकले किनेको सामसुङ मोबाइल र मैले किनेको सामसुङ ट्याब्लेट त दक्षिणकोरियामा बनेका हुन् । यस्तो तनावमा दक्षिणमा अमेरिकाले बनाइदिएका सामसुङका सामान बोकेर उत्तर जानु भनेको उसलाई झनै जिस्क्याउनु हो । त्यसैले यी सामान बोकेर जाँदा प्योङयाङ एयरपोर्टमा हामी रोकिन सक्छौँ । त्यति मात्र होइन...।
मैले प्रश्न उठाएपछि माणिकले आफ्नो पासपोर्ट हेरे । उत्तरको भिसा लागेको भन्दा अघिल्लो पानामा दक्षिणले भिसा ठोकेको थियो । सोझो जनजाति मन, भनिहाले, ‘तपाईंले संवेदनशील कुरा उठाउनुभयो । यी सामान लिएर जाँदा हामीलाई उत्तरमा संकट पर्नसक्छ । कोरिया यात्राबारे पुनर्विचार गरौँ ।’
‘सर, मेरो त तीन लाख खर्च भैसक्यो समाजवाद हेर्ने रहर र लहडमा । चीनको बिग्रिएको समाजवाद हेर्न त्यत्रो पैसा खर्च गर्ने मेरो रुचि छैन । छोराको कलेजको शुल्क तिर्न रोकेर यता आएको हुँ । बरु सामसुङका सामान फालिदिऔँ, कोरिया भने जानैपर्छ...।’
‘जे पर्लापर्ला, किनेको सामान नफालौँ । हृदयमा सजाएको समाजवादले त्यति तल झरेर हाम्राविरुद्ध गलत निर्णय गरेछ भने संसारले थाहा पाउनेछ उसका बारेमा’, उत्तरकोरिया पानीपँधेरोजस्तै भएर पनि मेरो शङ्काले अल्मलिएका माणिकले आड दिए । कोरियाबारे धेरै थाहा पाएर पनि उनले मलाई कयौँ कुरा आफैँले देखेर र भोगेर थाहा पाउनुपर्छ भन्दै रहस्यमा राखेका थिए ।
मलाई त्यतिबेला हिजो साँझको त्यो गतिविधिले कुरीकुरी लगायो, जतिबेला मैले कमरेड ओ सु जिनले हामी नेपालीलाई लिन आएको कार जापानबाट किनिएको हो भन्ने थाहा पाएँ । प्योङयाङको आठ लेनको चिल्लो सडकमा रमणीय प्राकृतिक वातावरणमा हामीलाई पाँचतारे होटेल कोरियोतिर लैजाँदै गरेको गाडी कोरियाले हिजो लडेको मुलुकसँगै किनेको हो भन्ने थाहा पाएपछि मेरो मनका आधाभन्दा बढी आशङ्का कमजोर हुँदै आकाशगंगाझैँ पातालमा झरे ।
...
संसारकै जिज्ञासु पत्रकार र लेखकका लागि सपना र रहस्यको देश बनेको छ उत्तरकोरिया । जहाँ पुगेर उनीहरू रहस्यका पत्रैपत्रभित्र लुकेका जादुहरू खोतलखातल पार्न चाहन्छन् र संसारभर उदांगो पारिदिन चाहन्छन् तर त्यो त्यति सजिलो कहाँ छ र ? सयौँ फलामे साङ्लाहरू मात्र होइन, राष्ट्रवादी–समाजवादी कोरियाली जनता नै यसका विरुद्ध छन् । किनकि तपाईंले गर्ने प्रश्न कुन वर्ग र उद्देश्यप्रति लक्षित छ भन्ने अनुमान उनीहरूले प्रश्न खस्नासाथ थाहा पाइसकेकोजस्तो लाग्छ ।
प्योङयाङ युनिभर्सिटी अफ फरेन स्टडिजमा फरेन लिटरेचर अध्ययन गरिरहेका २५ बर्से ओ सु जिन भन्छन्, ‘संघर्षले मानिसलाई इस्पात बनाउँछ । कोरियाली जनताको इतिहास संघर्षैसंघर्षबाट निर्मित विजयको इतिहास हो । त्यसैले खराब उद्देश्य लिई साम्राज्यवादी स्वार्थपूर्ति गर्ने लक्ष्य राखेर कोही पनि यो रक्तिम भूमिमा पस्छ भने कोरियाका झारपातहरूले पनि उसलाई चिन्नेछन् ।’ हो यस्तै वाक्य मलाई ललितपुरमा रहेको कोरियाली दूतावासका कन्सुलर कमरेड किमले पनि भनेका थिए, ‘कोरियाको राष्ट्रवाद बलियो छ । बाहिर हल्ला गरिएजस्तो कमजोर छैन जनताको हृदय । कोरिया र कोरियाली जनता संघर्षबाट स्थापित भएका हुन् । यसमा राष्ट्रपति किम इल सुङ, जनरल किम जोङ इल र मार्सल किम जोङ उनको नेतृत्व सफल छ ।’
कोरियाली जनता र ती जनताको आशाका केन्द्र राष्ट्रनिर्माताको अनादर गर्ने एक विदेशी लेखकलाई त्यस भूमिबाटै निकालिएको सन्दर्भ जोड्दा ओले त्यसको पुष्टि गरेका थिए । ‘तपाईंहरूको मनमा प्रश्नैप्रश्नको झोला छ कि क्या हो ? ’, ओले भनेका थिए, ‘दीर्घकालीन योजना बनाएर मुलुक समृद्ध बनाउने कार्यक्रमसाथ काम गर्नुपर्छ कमरेड काम । आजको कोरिया संघर्ष, श्रम र इमानले बनेको हो ।’
...
कोरियाली जनता खान नपाएर कुनै समयको सोमालियाजस्तो आँऽऽ मुख बाएर बसिरहेका होलान् भन्ने इच्छा–रहर वा जिज्ञासा पाल्नुभएको छ भने त्यसलाई तपाईं मनबाटै हटाइदिनुस् । चिल्ला सडक, गगनचुम्बी सामूहिक आवास भवन, एक हातभन्दा लामालामा मकैका घोगा र बित्ताभन्दा लामा धानका बालाहरूले तपाईंलाई स्वागत गरिरहेका हुनेछन् बाटादेखि नै । राजधानी सहरमै तपाईंलाई स्वागत गर्ने यी खाद्यान्नले नै कोरियाली जनताविरुद्ध फैलाइएका भोकमरीलगायत हजारौँ भ्रम चिर्न सुरु गरिहाल्छन् ।
तस्बिरमा देखिन्छ– एउटी बाह्र बर्षे बालिका खुट्टाले सन्देश लेखिरहेकी छे, ‘याङ्कीले मेरा दुवै हात काटे पनि म खुट्टाले लेखेर मेरो देशको संघर्ष र विजयको सन्देश प्रवाह गरिरहनेछु ।’ त्यो बालिका कोरिया–अमेरिका युद्धमा आफ्नो देशका पक्षमा रुटर वा सन्देशवाहक थिई होली । त्यसैले अमेरिकी सेनाले उसका दुवै हात गिँडेको हुनुपर्छ ।
...
इतिहास जतन गरेर राखेको छ कोरियाले । उसले आफ्नो मुलुकको सामन्तवाददेखि जापान र अमेरिकी साम्राज्यवादसँग लड्दालड्दा लाखौँ जनता गुमाएको छ । तिनै देशभक्त, स्वतन्त्रताप्रेमी, समाजवादका लालसीहरूको हाडमासु अनि माक्र्सवादको जगमा किम इल सुङ र किम जोङ इलको विचारमा ठडिएको हो कोरियाको सान, इज्जत र यो भव्यता । म कोरियाको बयान गरिरहेको छैन । कन्सुलर किमले पहिल्यै भनिसकेका छन्, ‘विध्वंसकारी पश्चिमाको होइन, आफ्नै चस्माले हेर कोरियालाई । कोरिया आफ्नै खुट्टामा कत्ति आनन्दसँग उभिइरहेछ र मुस्कुराइरहेछ !’ नभन्दै उत्तरकोरियाली जनताको अनुहारमा मैले किमका यी वाक्यहरू अनूदित भइरहेको पाएँ ।
मार्सल किम जोङ उनले हामी पुगेको पाँचौँ दिन अर्थात् सेप्टेम्बर ९ तारिक शुक्रबार फेरि ३० टन विस्फोटक बोकेर धेरै हजारौँ किलोमिटर टाढासम्म लैजानसक्ने हाइड्रोजन बमको सफल परीक्षण गरे र आफ्ना विरोधी पश्चिमाहरूलाई आफूमाथिको नाकाबन्दी अझ कडा पार्न चुनौती दिए । हामीलाई लाग्यो, साम्राज्यवादविरुद्ध बहस गर्न र बाजे किम इल सुङ र बाबु किम जोङ इलका विचारलाई ‘वाद’का रुपमा गरिएको प्रस्तावमाथि बहस गर्न संसारका कयौँ मुलुकबाट आएका पत्रकार, लेखक, प्राध्यापक, डाक्टर, नेताहरूलाई कमरेड किम जोङ उनले फेरि स्वागत गरे । फेरि गयो हाइड्रोजन भूकम्प । ५.३ को मन्दमन्द कम्पनले हामी ७.९ रेक्टर स्केल झेलेर बसेका र दसबर्से युद्धका परिणाम÷दुष्परिणाम सहेर लेथ्ना भई बसेकालाई के प्रभावित पार्न सक्थ्यो ! तैपनि हामी हल्काहल्का हल्लियौँ हाइड्रोजन भूकम्पमा ।
प्योङयाङमा गएको भूकम्पले बरु वासिङ्टन, न्युयोर्क, पेरिस, लन्डन, दिल्ली, टोकियो र सोल कम्पित भएको समाचार फेरि ९ सेप्टेम्बरको बेलुका अलजजिराले नै प्रसारण ग¥यो । राष्ट्रिय टेलिभिजनका पर्दामा देखियो– कोरियाली जनताले फेरि एकपटक आफ्नो नेतृत्वलाई भरोसा दिँदै खुसीयाली मनाए र जयजयकार गरे । भोलिपल्ट सडक किनारमा ससाना नानीहरू कुनै समयमा नेपालमा लाग्ने ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को शैलीमा किम इल सुङ, किम जोङ इल र किम जोङ उन तीनै पुस्ताको जयजयकार गर्दै गीत गाइरहेका देखिए ।
...
वास्तविक आफ्नो खुट्टामा उभिएको कोरिया अर्थात् सबै बुझ्ने भाषाको उत्तरकोरियाका केही विशेषता छन्– मुलुक र व्यवस्थाको रक्षाका प्योङयाङले मुलुकको कुल बजेटको २५ प्रतिशतजति लगानी गरेको अनुमान गर्न सकिन्छ । त्यसैगरी मुलुकको राजधानीलगायत अधिकांश भागमा आफ्नो इतिहासको रक्षाका लागि पनि उत्ति नै बल, बुद्धि र रकम खर्चेको देखिन्छ । सुन्दर भविष्यको कल्पना र यत्न गर्नेहरूले इतिहास र वर्तमानको पनि द्वन्द्ववादी समीक्षा गर्न आवश्यक हुन्छ र त्यसबाट पाठ सिक्नु अत्यावश्यक हुन्छ । लाग्छ, केही सीमा हुँदाहुँदै पनि कोरिया यही गरिरहेको छ ।
...
भ्रमणका क्रममा तस्बिरमा देखिन्छ– एउटी बाह्रबर्षे बालिका खुट्टाले सन्देश लेखिरहेकी छे, ‘याङ्कीले मेरा दुवै हात काटे पनि म खुट्टाले लेखेर मेरो देशको संघर्ष र विजयको सन्देश प्रवाह गरिरहनेछु ।’ सम्भवतः त्यो बालिका कोरिया–अमेरिका युद्धमा आफ्नो देशका पक्षमा रुटर वा सन्देशवाहक थिई होली । त्यसैले अमेरिकी सेनाले उसका दुवै हात गिँडेको हुनुपर्छ ।
कोरियाले दुनियाँलाई देखाएको छ यो दृश्य । उसले जापानी र अमेरिकी सेना कोरियासँग हारिसकेपछि हात उठाएर आत्मसमर्पण गरेका दृश्य पनि संसारलाई देखाइसकेको छ । ऊ हिजो जापान र अमेरिकाले आफ्नो देशमाथि आक्रमण गरेका ज्यादतीका दृश्यहरू संसारका आँखामा पु¥याएर साम्राज्यवाद यस्तो हो भन्ने सन्देश प्रवाह गर्न आतुर छ ७० वर्षदेखि । त्यसैले ‘कास’ नामको कोरियाली समाजवैज्ञनिकहरूको संस्थाले बर्सेनि संसारभरका साम्राज्यवादविरोधी मुलुक, पार्टी, संस्था र व्यक्तिहरूलाई कोरिया बोलाएर आफ्नो संघर्षले भरिएको इतिहास सुनाउन लालायित देखिन्छ । यसै मेसोमा अन्नपूर्ण पोस्ट् दैनिकको पत्रकारसमेत भएर पुगेको छु म कोरिया र यी दृश्यहरू देखिरहेको छु ।
...
अमेरिका चाहँदो हो, आफ्ना पुर्खाले कोरियाली वीरहरू्सामु आत्मसमर्पण गरेका दृश्यहरू भविष्यमा कसैले कहिल्यै देख्न नसक्ने गरी मेटाऊँ, हार स्वीकार गरेका काजजातहरू नष्ट गरूँ र कोरियाले कब्जा गरेका आफ्ना पानीजहाज, हेलिकोप्टर, सैनिक पोसाक र कोरियाली प्रायद्वीपका नक्साहरू हात पारूँ तर कोरिया त दैनिक मानव निर्मित भूकम्प सिर्जना गर्दै झनझन् शक्तिशाली हाइड्रोजन बम पो परीक्षण गरिरहेको छ । यो गतिविधिले अमेरिकी सपनालाई दुःस्वप्त साबित गरिदिएको छ ।
...
सामन्तको घरमा पुर्खाले लिएको ऋणको ब्याजको स्याज तिर्न चाकर्नी बसेकी दुई छोरीकी आमा साहूको पिटाइबाट मर्ने अवस्थामा पुग्छे । आमाको उपचारका लागि रकम जम्मा गर्न र त्यसका लगि फूल टिपेर बजारमा बेच्ने उद्देश्यले जंगल पुगेका दुई किशोरी फूल बेचेर औषधि लिई घर आउँदै गर्दा बाटैमा घाटतिर लगिँदै गरेको आमाको शव भेट्छन् । तिनीहरूलाई कसैले भनिदिन्छ, तिम्री आमाको अकाल मृत्यु सामन्ती शोषणले गर्दा भएको हो । यो व्यवस्थासँग नलडेसम्म अरू कयौँ आमाहरूले यसरी नै अकाल मृत्यु मर्नु पर्नेछ...। त्यसपछि ती युवती फूल बेचेर आएको पैसा लिएरै वर्गसंघर्षमा सामेल हुन्छन् । यसरी घरघरबाट मानिसहरूको जमघट भएपछि कोरियाबाट सामन्तवादको अन्त्य हुन्छ । यो कोरियाको इतिहासमा भएको सत्यकथा हो ।
किम इल सुङकी आमाले घरेलु सामन्तवाद र जापानी साम्राज्यवादविरुद्ध लड्न छोरालाई दुईवटा पेस्तोल उपहार दिएको वीरतापूर्ण र देशभक्तिपूर्ण कथा बोकेको छ म्याङयोङडेले । यो किम इल सुन जन्मेको पहाडी गाउँ हो । भन्न मन लागिहाल्छ, राष्ट्रघात गरेर मुख्यमन्त्री बन्न पाउने लोभमा भारतलाई सिक्किम बेच्ने लेन्डुप दोर्जेका पक्षमा कलम चलाएर जीविकोपार्जन गरिरहेकाहरूलाई, राष्ट्रवाद के हो, त्यो सिक्न उत्तरकोरिया जाऊ ।
...
१२ दिन लामो कोरिया भ्रमणका असंख्य र अमीट स्मृतिहरू छन् । शक्तिशाली कोरियाका दोस्रा व्यक्ति, वर्कर्स पार्टी अफ कोरियाका उपाध्यक्ष किम की नाम वृद्धावस्थामा पनि संसारबाट उपस्थित प्रतिनिधिहरूसामु उपस्थित भएर अन्यायविरुद्ध कोरियाली जनताले आजीवन संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी सम्मेलन आयोजक संस्था कासका अध्यक्ष ः होङ चोल किल, कासका उपाध्यक्ष थाई ह्योङ चोल, नेपाली र कोरियाली साहित्यलाई दुवैतिर स्थापित गर्न प्रयास गर्ने वचनबद्धता व्यक्त गर्ने नेताहरू री कोङ चोल र री सोङ चोल, कोरियन एसोसिएसन अफ सोसियल साइन्टिसकी चिफ एक्जामिनेन्ट रि जोङ ह्वा अनि किम इल सुङ र किम जोङ इलका शव राखिएको कुमसुसान प्यालेस अफ सनमा पु¥याउने, वार म्युजियम घुमाउने र म्याङयोङडेबारे व्याख्या गर्ने कोरियाली जनमुक्ति सेनाका महिला कमान्डरहरूप्रति पनि हार्दिक आभार ।