निःशुल्क औषधि पनि पैसा तिरेर !
डाडाँपारि (काभ्रे): जिल्लाका विकट गाविसका स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गरिने औषधिको समेत कर्मचारीले पैसा लिएका बेच्ने गरेका छन् ।
साल्मेचाकल गाविसस्थित तालढुंगा स्वास्थ्य चौकीका कर्मचारीले सरकारले निःशुल्क दिएको औषधिको पैसा लिने गरेको पाइएको छ । स्वास्थ्य चौकीले अन्य औषधिसमेत बिक्री वितरण गर्दै आएको स्थानीयको भनाइ छ । स्वास्थ्य चौकीबाट सरकारले तोकेका भन्दा बाहेकका औषधि बेच्न नपाइने कानुनी व्यवस्था छ तर सरकारले निःशुल्क वितरण गर्न दिएको औषधिसमेत चर्को मूल्यमा बेच्दै आएको स्थानीयको आरोप छ ।
१० वर्षदेखि तालढुंगा स्वास्थ्य चौकीले यसरी बिरामी ठग्दै आएको छ । साल्मेचाकल गाविसका कर्ण विकले भने, 'स्वास्थ्य संस्थामा निःशुल्क औषधि छैन भन्छन् तर पैसा तिरेपछि जति पनि पाइन्छ ।' उनले थपे, 'औषधिमा लेखिएको मूल्यभन्दा महंगो तिर्नुपर्छ ।'
ज्वरो र टनसिल भएर उपचारका लागि चार घन्टाको पैदल हिँडेर स्वास्थ्य चौकी पुगेका डाँडागाउँ गाविस ८ का नरबहादुर घलानले पनि निःशुल्क औषधि पाएनन् तर दोब्बर मूल्य तिर्न तयार भएपछि उनले स्वास्थ्य चौकीबाटै औषधि पाएको गुनासो पोखे । निःशुल्क औषधि सकिएको छ भन्दै ज्वरोले थलिका घलानले तालढुंगा स्वास्थ्य चौकीका कर्मचारीले स्वास्थ्य केन्द्रबाटै औषधि बिक्री गरेको बताए ।
उनले स्वास्थ्यकर्मीको कोठाबाट ओफ्लान्टिन १९ रुपैयाँ, प्रोटोजिल ५५ रुपैयाँ र डीएफ एनाफ्लाम ९० रुपैयाँ गरी एक सय ६५ रुपैयाँको औषधिलाई तीन सय रुपैयाँ तिरेको बताए । साथीलाई टनसिल भएर औषधि लिन आएका डाँडागाउँ गाविसका कविन्द्र गोलेले पनि स्वास्थ्य चौकीबाट आफूहरू ठगिने गरेको बताए । 'हामीलाई किन्न बाध्य पारिन्छ । लैजाउँ महंगो, नलैजाउँ बिरामी भएर सास्ती भोग्नुपर्छ', उनले भने ।
'निःशुल्क औषधि सकिएको छ, पैसा तिर्ने भए पर पसल ल्याएका छौं भन्छन्', स्वास्थ्य चौकीका कर्मचारीले दिएको पीडा पोख्दै उनले भने, 'आठ सय रुपैयाँको औषधिलाई १६ सय रुपैयाँ तिरेर लगें । औषधिको मूल्य थाहा पाए पनि दोहोरो जवाफ फर्काउन मिल्दैन ।' उनले थपे, 'यो हाम्रो रहर होइन, बाध्यता हो ।'
स्वास्थ्य चौकीका इन्चार्जको मिलोमतोमा सीमित संख्यामा सरकारले पठाउने औषधि बिरामीलाई दिएर रकमको लोभमा कर्मचारीले स्वास्थ्य चौकीबाटै बिक्री गर्ने गरेको स्थानीयहरूको आरोप छ । लामो समयदेखि इन्चार्ज रहेका रामपुकार यादव भने स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको बताउँछन् । 'आवश्यक मात्रामा औषधि छैन, त्यसैले समस्यामा छौं', उनले थपे, 'भौगोलिक विकटताले जिल्लाबाट औषधि लान नसकेकाले समस्यामा पर्ने गरेको छ ।'
'स्वास्थ्य चौकीको हाताभित्र कुनै औषधि बेचबिखन गर्न र निःशुल्क औषधिको पैसा असुल्न पाइँदैन', जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका निमित कार्यालय प्रमुख राजाराम अधिकारीले भने, 'निःशुल्क औषधि बेचेको कुनै जानकारी र उजुरी आएको छैन । आएमा कानुन बमोजिम कारबाही गर्छौं ।'
'सरकारले स्वास्थ्य संस्थामा निःशुल्क तोकेका ७० प्रकारका औषधिमध्ये कुनै पनि पाइँदैन', सालधारा २ का कर्णबहादुर विक भन्छन्, 'सामान्य ज्वरो र टाउको दुखेको औषधिसमेत निःशुल्क पाइँदैन । पैसा तिरेर लैजानुपर्छ ।' निःशुल्क औषधि पनि किन्नु परेपछि स्थानीय बिरामी आक्रोशित बनेका छन् ।
स्वास्थ्य चौकीमा पाँच गाविसबाट दैनिक ५० देखि एक सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । स्वास्थ्य चौकीका कर्मचारीले डाक्टरको सिफारिसबिना नै विभिन्न औषधि दिने गरेको स्थानीयको गुनासो छ ।