अर्को असोजमा मेलाम्ची

अर्को असोजमा मेलाम्ची

काठमाडौं: राजधानीवासीले सरकारी दावी पुरा भएमा मेलम्चीको पानी खान अझै एक वर्ष कुर्नुपर्ने भएको छ । कार्यान्वयन भएको १६ वर्ष बितिसक्दा पनि मेलम्चीको २६ किलोमिटर सुरुङ निर्माण कार्य पूरा नहुँदा आयोजना मृगतृष्णाझैं बनेको छ ।

गत वैशाखमै मेलम्ची ल्याउने प्रतिवद्धता गरिए पनि भूकम्प र नाकाबन्दीको कारण देखाउँदै छ महिना थप गरेको भन्दै अबको एक वर्षभित्र मेलाम्ची ल्याउने प्रतिवद्धता सरकारले गरेको हो । खानेपानी तथा सरसफाई मन्त्रालय र मेलाम्ची खानेपानी आयोजनाले मंगलबार सिंहदरबारमा बसेको विकास समितिको बैठकमा आउँदो असोजमा मेलाम्चीको पानी राजधानी ल्याउन सकिने जनाएका हुन् । योजनाअनुरुप काम हुने हो भने आयोजनाले दैनिक १७ करोड लिटर पानी वितरण गर्नेछ ।

आयोजनाको पछिल्लो तथ्यांकअनुसार, सुरुदेखि हालसम्म सुरुङ खन्ने काम ७४.६१ प्रतिशतमात्र काम सकिएको छ । केही सभासद्ले १६ वर्षमा ७५ प्रतिशत काम सकिएको भन्दै २५ प्रतिशत काम एक वर्षभित्र सकिनेमा अन्योल रहेको बताएका थिए । मेलाम्चीको पानीका लागि खनिरहेको सुरुङ निर्माण कार्य पूरा हुन करिब सात किलोमिटरमात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँ विकास समितिस्थित रिवर्मा मुहानदेखि काठमाडौंको सुन्दरीजलसम्म खन्नुपर्ने २७.५८ किलोमिटर सुरुङमध्ये हालसम्म २०.५८ किलोमिटरको काम पूरा भएको हो ।

आयोजनाका कार्यकारीनिर्देशक घनश्याम भट्टराईले चालु आर्थिक वर्षको तीन महिनामै २.५ किलोमिटर सुरुङ निर्माण गरेको जानकारी दिए । विकास समितिको बैठकमा मंगलबार उनले भने, 'सुरुदेखि हालसम्म २०.५८ किलोमिटर सुरुङ खन्ने काम भएको छ अब ७ किलोमिटर निर्माण भएपछि राजधानीमा मेलाम्चीको पानी पुग्नेछ । अहिले प्रतिदिन आठ सयदेखि नौ सय मिटरसम्म खन्ने काम भएको छ । भूकम्प र नाकाबन्दीका कारण ठेक्का सम्झौता छ महिना थपिएकाले असोजभित्र सक्ने लक्ष्य राखेका हौं ।'

१६ वर्षमा ७५ प्रतिशत सकियो, एक वर्षमा २५ प्रतिशत सक्ने आश्वासन

सरकारले हेडवक्र्स र सुरुङ निर्माण कार्यका लागि इटालीको सिएमसी रभेन्ना कम्पनीलाई चालु आर्थिक वर्षकै असोजभित्र सम्पन्न गर्ने गरी २०७० असारमा सम्झौता गरेको थियो । सम्झौताअनुसार, सिएमसीले हेडवक्र्स डाइभर्जन टनेल दुई सय ३५ मिटर, डाइभर्जन वयर एक, इन्टेक एक, डिसिल्टिङ्ग बेसिन एक र २० हजार नौ सय १० मिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।

जसमध्ये दुई सय २४ मिटर हेडवक्र्स डाइभर्जन सुरुङ निर्माण भइसकेको छ । सन् २००७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सन् २००१ मा निर्माण कार्य सुरु भएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न लक्षित समयको एक दशक थप समय बित्न लागेको छ । आयोजना सम्पन्न गर्न पहिलो पटक सन् २०१३ को डिसेम्बर र दोस्रो पटक २०१६ को सेप्टेम्बर तोकिए पनि काम हुन सकेको छैन ।

विकास समितिका सभापति रविन्द्र अधिकारीले मेलाम्ची खानेपानी आयोजना सम्पन्न गर्न पुनः तेस्रो पटक संशोधित मिति तोक्नेतर्फ भन्दा आयोजना निर्माण आगामी असोजभित्रै सम्पन्न गरी जसरी भए पनि पानी वितरण गर्न गराउन खानेपानी तथा सरसफाई मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिए ।

उनले भने, 'मेलम्चीबाट उपलब्ध हुने खानेपानी वितरणका लागि मेलम्ची खानेपानी आयोजना (ख) ले गर्ने पूर्वाधार विकासको काम (विशेष गरी पाइप बिच्छ्याउने) लाई तीब्रता दिन र बिच्छ्याउँदा सडक सञ्चालनमा कठिनाई समेत देखिएकाले सकेसम्म न्यून असर पर्ने गरी काम निर्देशन दिएका छौं ।'

आयोजना प्रमुख भट्टराईले निर्माण व्यवसायीको कमजोर व्यवस्थापन, स्थानीय निर्माण सामग्रीको आपूर्तिमा असहजता र अन्तरनिकाय समन्वय तथा सहयोगको अभावले काममा ढिलाई भइरहेको जानकारी दिए । उनले भने, 'कमजोर भौगोलिक पत्रहरुको कारण सुरुङ खुम्चिने भएकाले समस्या छ । हालै पनि सुन्दरीजलतर्फको करिब आठ मिटर सुरुङ स्क्र्याच भयो । यसले एक महिना समस्या भयो ।'

मन्त्रालयका सचिव डा. सञ्जय शर्माले जटिल भौगर्भिक आयोजना भएको साथै यस्तो र यति लामो सुरुङमार्फत खानेपानी ल्याउने कामको अनुभव नेपाललाई पहिलोपटक भएकाले काममा ढिलाई भएको बताए । उनले भने, 'सुरुङ सात ठाउँबाट खन्ने काम भइरहेको छ । तर पनि प्राविधिक जनशक्ति कम र भएकाको पनि क्षमता कम हुनुले समस्या छ । हेडवक्र्सको काम पनि सुस्त छ ।' उनले यी सबैका बाबजुद पनि आगामी असोजभित्र राजधानीमा मेलाम्चीको पानी ल्याउने तयारी तीब्र रुपमा भइरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.