प्रबुद्ध समूह र विवाद

प्रबुद्ध समूह र विवाद

नेपाल भारत सम्बन्धले आफ्ना सम्भाव्यता हासिल गर्न सकोस् तथा उनीहरूबीचको पारस्परिक निर्भरता सम्मानजनक होस् भन्ने अभिप्रायका साथ दुई मुलुकले प्रबुद्ध समूह गठन गरेका हुन् । विगत चार महिनामा समूहका दुई बैठक भइसकेका छन्, पहिलो काठमाडौंमा र दोस्रो दिल्लीमा । दुई पक्षले अब बुँदागत हिसाबले अगाडि बढ्ने सहमतिसमेत गरिसकेका छन् ।

नेपालमा राजनीतिक अस्थिरता र पटक–पटक सरकार परिर्वतन हुँदा नीतिगत स्पष्टतालाई समेत प्रभावित गरेको छ त्यसले । त्यसैले प्रबुद्ध समूहका छलफल र निष्कर्षले दुईपक्षीय सम्बन्धलाई बृहत् र सम्मानित आयाम देला कि नदेला भन्न कठिन छ । त्यस्तै नेपालको आन्तरिक राजनीतिसमेत नेपालीहरूले चलाइराखेका छैनन् भन्ने आममनोविज्ञान बनेको वर्तमान अवस्थामा घरेलु नीतिकै विस्तारित रूप मानिने विदेश नीति र त्यसबाट निर्देशित नेपाल भारत सम्बन्धलाई कसरी सम्मानित र प्रभावकारी बनाउन सम्भव होला ?

के सरकार साँच्चिकै गम्भीर छ प्रबुद्ध समूहले अपेक्षित दिशा र गतिका साथ अनि त्यही लक्षको लागि काम गरोस् भनेर ? सरकार गम्भीर छ भने उसले समूहलाई पूर्ण सहयोग र समर्थन दिनु आवश्यक छ । तर सरकार गम्भीर छैन भने 'प्रबुद्ध' टोलीलाई कुनै अर्थहीन प्रयोजनमा अल्झाउनुको अर्थ रहँदैन ।

हालै धुलिखेलमा आयोजित एउटा विचार गोष्ठीमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली प्रबुद्ध टोलीप्रति लक्षित केही नकारात्मक टिप्पणी गरेको 'रिपोर्ट' सञ्चारमाध्यममा आएको छ । विडम्बना त के हो भने त्यो टिप्पणी गर्दा भारतीय प्रबुद्ध समूहका एक सदस्य त्यो गोष्ठीमा सहभागी थिए । के परराष्ट्रमन्त्रीले त्यो टिप्पणी कुनै नियोजित प्रयोजनको लागि अथवा प्रबुद्ध समूहको भूमिकालाई अवमूल्यन गर्न या उसप्रति अविश्वास व्यक्त गर्ने हिसाबले गरेका थिए ?

प्रबुद्ध समूहले स्वतन्त्र रूपमा र काम गर्ने क्रममा निश्चय पनि सरकार, विभिन्न दल र विज्ञहरूसँग बीचबीचमा परामर्श गर्ने अपेक्षा गरिन्छ । प्रबुद्ध समूह गठनबारे विगत चार/पाँच वर्षदेखि चर्चा भइरहे पनि केपी ओली सरकारको पालामा त्यसलाई विधिवत् रूपमा गठन गरिएको थियो र दलीय आधारमै अधिकांश सदस्यहरू तोकिए पनि त्यसको नेतृत्व कूटनीतिमा लामो समय बिताई सम्मानजनक स्थान ओगट्न सफल डा. भेषबहादुर थापालाई दिएर सरकारले दुईपक्षीय सम्बन्धलाई आवधिक र फराकिलो आयाम दिन ऊ गम्भीर भएको परिचय दिएको थियो ।

तर यता सरकार परिवर्तनको दुई महिनामै अमर्यादित शैली र अनुपयुक्त ठाउँमा सम्बन्धित मन्त्रीको टिप्पणी आउँदा प्रबुद्ध समूहका लागि सम्मानजनक रूपमा काम गर्ने वातावरण नरहला कि भन्ने शंका बढेको छ ।

वर्तमान सरकार एउटा गठबन्धन सरकार हो । दलीय भागबन्डाका आधारमा मन्त्रीहरू छानिएका छन् । पक्कै पनि मन्त्रीको हैसियत महत्त्वपूर्ण हुन्छ, तर यति महत्त्वपूर्ण विषयमा मन्त्रीको टिप्पणी सञ्चारमाध्यममा आएजसरी अभिव्यक्त भएको हो भने त्यसबारे सरकारको आधिकारिक स्पष्ट धारणा आउनु आवश्यक छ । प्रबुद्ध समूहको लागि काम गर्न अनुकूल वातावरण नभएको या त्यस्तो वातावरण दिन सरकार इच्छुक नरहेको सन्देश जानेछ, सरकारले यसबारे थप र आधिकारिक स्पष्टीकरण दिन ढिलाइ गरेमा ।

खासगरी परराष्ट्र मन्त्रालयको नेतृत्वबाट अपेक्षित संवेदशील र मर्यादित आचरण प्रदर्शन हुन सकेन सार्वजनिक या बौद्धिक गोष्ठीहरूमा भने त्यसले मुलुकको अन्तर्राष्ट्रिय छवि र हैसियतमा समेत नकारात्मक प्रभाव पार्नेछ । यो नमीठो प्रसंगलाई सम्मानजनक, मर्यादित र स्पष्ट मान्यताबाट टुंग्याउनु आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.