महाअभियोगबारे हतारमा निर्णय हुँदैनः महत
कपिलवस्तुः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा तत्काल निर्णय लिन नहुने बताएका छन् ।
नेपाल तरुण दलले तौलिहवामा आज आयोजना गरेको ६३ औँ स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता महतले महाभियोगका विषयमा आफ्नो पार्टी कुनै निष्कर्षमा पुगी नसकेको भन्दै महाअभियोग छानविन समितिले संसदमा पेस गरेको प्रतिवेदनको आधारमा मात्र पार्टीको आधिकारिक निर्णय बाहिर आउने स्पष्ट पारे ।
व्यवस्थापिका–संसदका सदस्यहरु निर्णायक भएका कारण पनि महाअभियोग सिफारिस समितिले संसदमा महाअभियोगका लागि सिफारिस नगर्दासम्म आफ्नो मत जाहेर गरी हाल्नु ठीक नहुने नेता महतको भनाइ थियो ।
नेता महतले मधेसी मोर्चाको जायज माग सम्बोधनका लागि संविधान संशोधन गर्न ढिलाई गर्न नहुने उल्लेख गरे ।